Comments Add Comment

भौतिक पुर्वाधार नभएर पर्यटकीय स्थलहरु ओझेलमा

jyamrumkot-myagdi
९ जेठ, बेनी (म्याग्दी) । दिन प्रतिदिन आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा वृद्घि हुँदै गइरहेको म्याग्दी जिल्लामा भौतिक पुर्वाधार विकासको अभावमा पर्यटकीय गन्तव्यहरुको उचित पहिचान हुन सकेको छैन् । सरकारी निकायबाट पनि पर्याप्त ध्यान दिने हो भने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्घि हुने बलियो सम्भावना रहेको छ ।

जिल्लाका ज्यामरुककोट, ताकमकोट, पछै, खयरवाराहीलगायतका ऐतिहासिक, पुरातात्विक र जैविक महत्वले पूर्ण र प्राकृतिक सुन्दरताले भरिपुर्ण ठाउँहरुमा ग्रामीण पर्यटनको बलियो सम्भावना रहेको पाइएको छ । ती स्थानमा दुई वर्षअघिको तुलनामा अहिले पर्यटकको आगमनमा ४५ प्रतिशतले आन्तरिक पर्यटकको वृद्धि भएको जिल्ला विकास समितिको तथ्याङ्कमा उल्लेख छ ।

सरकारी र गैरसरकारी निकायले ती स्थानलाई ग्रामीण पर्यटनका लागि उपयुक्त स्थान भने पनि ग्रामीण पर्यटन क्षेत्रमा भने त्यति ध्यान नदिएको स्थानीयवासीको गुनासो रहेको छ ।

ज्यामरुककोट र ताकमकोट जिल्लाकै महत्वपूर्ण ऐतिहासिक स्थल मानिन्छन् । ज्यामरुककोटमा ५०० वर्ष पुरानो राजकुवा रहेको छ । त्यसैगरी खडुगभवानी कोत रहेको डाँडोबाट पश्चिम नेपालका अधिकांश जिल्ला देखिनुका साथै धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«ेलगायतका १६ वटाभन्दा बढी हिमालको दृश्यावलोकन गर्न सकिन्छ । गएको असार १ गतेदेखि फागुन मसान्तसम्म यहाँ करिब पाँच हजारभन्दा बढी आन्तरिक पर्यटक पुगेका ज्यामरुककोट पर्यटन विकास समितिले जनाएको छ ।

हिन्दूहरूको प्रमुख धार्मिकस्थल मानिने मुक्तिनाथ जाने भारतीय पर्यटक र पैदलमार्ग हुँदै मुस्ताङ भ्रमणमा जाने तेस्रो मुलुकका पर्यटकका लागि प्रवेशद्वार मानिने म्याग्दीको सदरमुकाम बेनी बजारदेखि करिब चार किमीको दूरीमा रहेको ज्यामरुककोट पर्यापर्यटन र धार्मिक पर्यटनका लागि पनि उपयुक्त स्थान रहेको ज्यामरुककोटका स्थानीयवासी कृष्णबहादुर कार्कीले बताए । भौतिक पूर्वाधार, यातायात र स्तरीय होटेल तथा लजको व्यवस्था हुने हो भने यहाँ वार्षिक ३० हजार पर्यटक भित्र्याउन सकिने कार्कीको भनाइ रहेको छ ।

त्यसैगरी पश्चिम म्याग्दीको ताकमकोट र नेपालमै छन्त्याल जातिहरुको उद्गमस्थल मानिने गुर्जा गाउँ, गुर्जा हिमाल, चुरेन हिमाल, धौलागिरि पहिलो, दोस्रो र तेस्रो हिमाल, सुनखानी रहेको भनेर दाबी गरेको सुनधारा, दुर्लभ हिममानवको वासस्थान रहेको धौलागिरि हिमालको फेदीमा अवस्थित सहस्रधारा यस्ता ठाउँ हुन् जसको नाम देश विदेशमा समेत फैलिएको छ ।

तर पूर्वाधार र सरकारी योजनाको अभावमा ती ठाउँ ‘बत्तीमुनिको अँध्यारो’ जस्तै बनेका जिल्ला विकास समिति म्याग्दीका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यले बताए । जिल्लामा पर्यटकलाई आकर्षित गर्ने मनोरम थलो भएर पनि सम्बन्धित निकायले खासै ध्यान दिन नसकेपछि ओझेलमा परेको पर्यटन व्यवसायीको गुनासोे छ ।

त्यस क्षेत्रको प्रचार प्रसार गर्न र पर्यटकलाई आकर्षित गर्न पटक पटक पर्यटन सूचना केन्द्रको माग गर्दा पनि पर्यटन मन्त्रालयले चासो नदिएको आरोप लगाउँदै धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले भने– “सूचना केन्द्रको व्यवस्था भएमा ग्रामीण पर्यटन र पर्यापर्यटनको राम्रो विकास हुने थियो ।”

“जिल्लामा घोडेपानी, पुनहिल, अन्धगल्छी, रुप्से झरनामात्रै होइन धौलागिरि हिमाल, कालीगण्डकी, मुदी, ताकम, ज्यामरुककोटजस्ता मनोरम स्थानका साथै ¥याफ्टिङका लागि कालीगण्डकी र म्याग्दी नदी उत्कृष्ट थलोका कारण पोखराभन्दा कम छैनन्” – बानियाँले थपे ।

सामाजिक कार्यकर्ता महावीर पुनले म्याग्दीलाई सूचना प्रविधिको राजधानी बनाउन विभिन्न योजना अघि सारेको भए पनि सरकारले भने त्यति चासो नदेखाउँदा यहाँका प्रशस्त पर्यटकीय ठाउँ उपयोगविहीन अवस्थामा पुगेकाे बताए ।

पर्यटकलाई आकर्षित गर्ने स्थान जिल्लामा प्रशस्त छन् । नेपालकै एकमात्र जगन्नाथ मन्दिर, उडाइनो झरना हालसम्म ओझेलमै रहेको छ । जिल्लामा रहेका तातोपानी कुण्डका बारेमा धेरैलाई जानकारी छैन ।

त्यसैगरी मुक्तिनाथ प्रवेशद्वारको नजिकै गलेश्वरको छेउमै पर्ने जलेश्वर कुण्ड, राम्चेमा अवस्थित पुन मगरहरुको कुलदेवताको मन्दिर करवाकेली, खोप्रा लेक, गलेश्वरपारिको राम मन्दिर, भगवती गाविसको भगवतीस्थान पनि कम महत्वका छैनन् । जिल्ला विकास समितिले २०५७ सालदेखि पर्यटन प्रवद्र्घनका लागि नीतिभित्र समावेश गरी बजेट छुट्याउँदै आएको छ । तर ज्यामरुककोट र ताकमकोटका लागि स्थानीयस्तरमा समिति गठन गर्नेबाहेक केही काम हुन सकेको छैन ।

पर्यटनका लागि कुहु गाविसको टोड्के पनि नयाँ स्थानका रुपमा देखापरेको छ । हाल कुहुसम्म यातायात सेवा सञ्चालन हुँदै आएको छ ।

धौलागिरि र नीलगिरिको हाराहारीमा पर्ने मनोरम टोड्के दृश्यावलोकन गर्न बाह्य र आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दुु बन्दै छ ।

विदेशी पर्यटक त्यहाँको शान्त वातावरण, मगर संस्कृति र मनोरम दृश्यावलोकनका लागि आकर्षित हुने गर्छन् । तर भौगोलिक विकटता र ठूलो बजेटको खाँचोका कारण ती गन्तव्यहरुको सदुपयोग हुन सकेको छैन ।

पश्चिमी भेगमा तातोपानी, मुदी, वरनाथ, जगन्नाथ, भुमेथानलगायत दर्जनौँ दर्शनीय, धार्मिक तथा ऐतिहासिक स्थलहरू छन् ।

वरञ्जा गाविसको झाँक्रीपानी पर्यटनका लागि अर्को आकर्षणको केन्द्रबिन्दु हो । गाउँको सिरान र घना जङ्गलको छेउमा रहेको सो क्षेत्रमा दुुर्लभ वन्यजन्तुका साथै दुर्लभ वनस्पति र जडीबुटीको भण्डार रहेको छ । समुद्री सतहबाट तीन हजार १५१ मिटरको उचाइमा रहेको सो स्थानमा, पाँचआँैले, पदमचाल, सेतो चन्दनलगायत ३२ प्रजातिका जडीबुुटी फेला परेको छ ।

मृग, हरिण, कस्तुुरी, कालिजजस्ता वन्यजन्तुसमेत पाइने सो क्षेत्रमा पूर्वाधार विस्तार, यातायात र सञ्चारको पहिलो आवश्यकता रहेको स्थानीय बुद्धिजीवी कृष्णप्रसाद सापकोटाको भनाइ छ ।

यी विभित्र सम्भावनालाई दृष्टिगत गरी सरकारी, गैरसरकारी, निजीलगायत सबै क्षेत्रबाट यथेष्ट प्रयास हुुनसकेमा पर्यटन क्षेत्रका लागि यस जिल्लाको भविष्य सुुनौलो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment