Comments Add Comment

डान्सबार र मसाज सेन्टरबाट हराएका किशोरी कहाँ पुग्छन् ?

भिजिट र कल्चरल भिसामा तस्करी !

Dancer१० जेठ, काठमाडौं । विदेशी पर्यटक र मनोरञ्जन केन्द्रहरुको पनि ‘केन्द्र’ हो ठमेल । जहाँ डान्सबार, मसाज तथा स्पा सेन्टर, दोहोरी साँझ र रेष्टुरेन्ट छन् । तीन मध्ये कतिपयमा यौनजन्य क्रियाकलाप हुने गरेको भन्दै प्रहरीले बेला बेला छापा मार्छ । र, केहीलाई उद्धार गर्छ ।

तर, पछिल्लो समय यस्ता केन्द्रहरु मानव तस्करीको गतलो श्रोत बनेको सरोकावालाहरु बताउँछन् ।

यस्तो छ अवस्था

ठमेलमा मनोरञ्जनात्मक केन्द्रहरुमा काम गर्ने महिलामध्ये ३३ प्रतिशत भन्दा बढी बालिकाहरु नै छन् । माइती नेपालले गरेको एक अध्ययनमा त्यस्ता महिला मध्ये ९३ प्रतिशतमाथि व्यवसायिक यौनशोषण हुने गरेको छ । यौनशोषण भोग्नेमध्ये बालबालिकाको अनुपात एक तिहाइ भन्दा बढी छ ।

तथ्यांकअनुसार ठमेलका सञ्चालनमा रहेका ८० प्रतिशत मसाज सेन्टरमा व्यवसायीक यौन गतिविधि हुन्छ । यहाँ पैसा दिएर किशोरीहरुलाई यौन शोषण गरिन्छ र यसको लाभ सञ्चालकले मात्रै लिन्छन् ।

यस्तै अधिकांश डान्सबारमा नाच्नेदेखि ग्राहकलाई खुसी बनाउने जिम्मा १८ वर्ष मुनिकाले नै पाएका छन् ।

तर, टिप्सका लागि वाइन, ककटेल, चुरोट पिउनुपर्ने र अन्य अपमानजनक काम गर्नुपर्ने भएपछि अधिकांशले यो पेशालाई निरन्तरता दिन चाहँदैनन् । त्यसमाथि विभिन्न किसिमका ग्राकहरुसँगको भेटघाटले उनीहरु अझै धेरै पैसा कमाउने सपना देख्छन् र मानव तस्करको चंगुलमा पर्छन् ।

१८ नकटेका युवतीलाई प्रयोग गरेर विभिन्न अवैधानिक धन्दा गर्नेहरु पछिल्लो समयमा निकै सक्रिय भएको पाइएको छ ।

अधिकांश हराउँछन्

आर्थिक समस्यादेखि रोजगारी खोज्दै आउने र काठमाडौंको रमझम देखेर शहर झरेका किशोरीलाई सबैभन्दा सहजरुपमा प्रवेश पाउने क्षेत्र मनोरञ्जन केन्द्र र मसाज सेन्टरहरु नै हुन् । यस्ता व्यवसायमा प्रवेश पाउन किशोरीहरुसँग कुनै कागजात र योग्यता आवश्यक पर्दैन ।

सञ्चालकले उनीहरुलाई एउटै दायित्व दिएका हुन्छन्, ग्राहकहरुलाई रिझाउने र धेरै खर्च गराउने । किशोरीहरुलाई न मासिक तलव तोकिएको हुन्छ, न कुनै नियुक्ति दिइन्छ । काममा आएको दिन ज्याला पाउँछन् ।

पीडित श्रमिक महिलाको हितका लागि काम गरिरहेको संस्था ‘विश्वास नेपाल’की बालकुमारी आलेका अनुसार टिप्सका भरमा काम गर्नुपर्ने बाध्यताले किशोरीहरु यो पेशामा धेरै दिन टिक्नै सक्दैनन् ।

त्यसमाथि मनोरन्जन क्षेत्रमा काम गरेको भनेपछि बदनाम हुने डरदेखि शोषणमा पर्ने डरले अधिकांश यो पेशामा नटिक्ने उनले बताइन् । ‘६ महिनादेखि २ वर्षसम्म यो पेशामा रहेका महिला एकाएक हराउँछन्,’ आले भन्छिन्, ‘भूकम्पअघि ठमेलका मनोरञ्जन केन्द्रमा काम गर्ने अधिकांश किशोरीहरु अहिले सम्पर्कमा छैनन् । अधिकांश गाउँबाट नयाँ ल्याइएको छ । पुराना कता गए थाहा छैन ।’

व्यवसाय सञ्चालकहरुले भने पुराना कामदार विदेशमा काम गर्न गए भन्ने जवाफ दिन्छन् । एक अध्ययनले यस्ता पेशा छाडेर विदेशमा कामका लागि जानेको संख्या मासिक १५ सयको हाराहारीमा रहेको देखाएको छ । त्यतिकै संख्यामा गाउँबाट किशोरीहरुलाई काठमाडौंमा यस्तै कामका लागि ल्याइने गरिएको छ ।

कहाँ जान्छन् त ?

रक्षा नेपालकी मेनुका थापा यसरी हराउने अधिकांश महिला भिजिट वा कल्चरल भिसामा विदेश उड्ने गरेको बताउँछिन् । १६ वर्ष नपुगेका किशोरीले कसरी नागरिकता र पासपोर्ट बनाउँछन् भन्नेबारे कसैसँग जानकारी छैन । उनीहरु अधिकांशलाई वैदेशिक राजगारीको नाममा भारतबाट उडाइने गरेको थापाको भनाइ छ ।

अहिले खाडी मुलुकसहित अफि्रका र युरोपका डान्सबारमा नेपाली महिला पुग्ने गरेको तथ्यहरु भेटिन थालेको छ । उनीहरुलाई मानव तस्करले फर्जी कागजपत्र बनाएर उडाउने गरेका छन् । भिजिट भिसामा उड्नका लागि तस्करहरुले नै रकमको व्यवस्था गर्ने गरेको अनुमान गरिएको छ ।

यसरी उडेका अधिकांश किशोरीहरु कहाँ, कुन अवस्थामा छन् ‘दैव जानुन्’ । भिजिट र कल्चरल भिसा लगेर विदेशमा पनि डान्सबार र मसाज सेन्टरमा लगेर बेचिएको सरोकारवालाहरुको दावी छ ।

संसदको महिला बालबालिका तथा समाजकल्याण समितिकी सभापति रञ्जुकुमारी झाले यसरी हुने व्यवयसायिक बाल यौनशोषण र बाल तस्करी नियन्त्रणका लागि सरकारले अनुगमन बलियो बनाउनुपर्ने बताउँछिन् ।

केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराज गिरीले अब डान्सबार, रेष्टुरेन्ट, मसाज सेन्टर लगायतका क्षेत्रमा काम गर्ने बालश्रमिकको उद्धार र यसमा संलग्नलाई कारवाही गर्न सुरु गर्ने बताए । यसै विषयमा समितिले सांसदहरुसँग छलफल पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment