Comments Add Comment

कसैले हप्काउँदैमा प्रधानमन्त्री पद छाड्दिँनः ओली (भिडियोसहित)

KP Oli

२० जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले तत्काल ‘प्रधानमन्त्री पद छाड’ भनेर हप्काउँदैमा नहट्ने बताएका छ्न् ।

बिहीबारदेखि राजधानीमा सुरू भएको दुईदिने नागरिक संवाद कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिले मलाई प्रधानमन्त्री पद छाड्नुपर्यो भनेर हप्काउने र तर्साउने काम गरिँदैछ, यो मलाई स्वीकार्य छैन, हप्काई र तर्साइबाट तर्सिने मेरो स्वभाव होइन ।’

उनले केहीले भद्र सहमतिको साक्षी बस्न खोजेको त केहीले काँध फेर्ने कुरा गरेर जनतामा भ्रम छर्ने र सरकारप्रति अविश्वास बढाउन खोजेको आरोप लगाए ।

आफूले प्रधानमन्त्री पद छाड्दा देश र जनताको भलो हुन्छ, समस्या एकाएक सबै हल हुन्छ भने आफूलाई कुर्सीमोह नभएको उनले बताए । ०७४ मंसिरमा चुनाव नगर्दासम्म यो सरकार रहने भन्दै उनले  भने, ‘म जन्मँदा प्रधानमन्त्री नै भएर नजन्मेको होइन र मर्दा पनि प्रधानमन्त्री पद लिएर जाने होइन, देश र जनताको सेवा गरेका कारण प्रधानमन्त्री भएको हु ।’ उनले भने, ‘देश बनाउने समय पाएको छु, जतिदिन प्रम हुन्छु २४ सै घन्टा देश विकासमा लाग्छु ।’

उहिले बाहुनलाई रिस उठ्यो भने तपाईलाई सराप दिउँ, कुस मन्तरेर हानिदिउँ भन्ने गरेको भन्दै प्रधानमन्त्री ओलीले अहिले सरकार ढाल्ने प्रयास त्यही मात्र भएको बताएका छन् ।

काँध फेर्ने कुरा नगर

प्रधानमन्त्री ओलीले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग सत्ता हस्तान्तरणसम्बन्धी कुनै सहमति नभएको दाबी गरे । उनले प्रश्न गरे, ‘सत्ता हस्तान्तरणसम्बन्धी तीनबुँदे सहमति कहाँ भयो ? लौन मलाई देखाइदिनुस् । मैले त माओवादीसँग नौबुँदे सहमति मात्र गरेको हुँ । काँध फर्ने कुरा नगर्नुहोस्, केपी ओलीको काँध थाकेको छैन ।’

सडकमा तमासा नदेखाऊ

नयाँ संविधानप्रति असन्तुष्टि राख्दै आन्दोलनरत दलहरूप्रति इङ्कगत गर्दै प्रधानमन्त्री ओलीले सडकमा तमासा नदेखाउन आग्रह गरे । केही असन्तुष्टि भए वार्तामा आउन आग्रह गर्दै उनले भने, ‘तराईको आन्दोलन सेलाइसकेको छ, मैले ताती सकेको भाँडोलाई विस्तारै सेलाउने काम गरेँ, भारतीय गतिरोध पनि अन्त्य भएको छ ।’

विगतका सरकार तरकारी बारीका बुख्याचा

प्रधानमन्त्री ओलीले विगतका सरकारलाई तरकारी बारीको बुख्याँचाको सङ्ज्ञा दिँदै सामाजिक लोक कल्याणकारीमा लगानी गर्न डराएको आरोप लगाए । ‘बूढाबूढीका योगदानका कारण देश अहिलेको अवस्थामा आइपुगेको हो, त्यसैले उनीहरुलाई दिइने भत्ता बढाइदिएको हुँ’ उनले भने ।

बजेटलार्इ लिएर सरकारको आलोचना भएकोतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले विनियोजन शब्दको अर्थ छर्नु हुन्छ, आफूले विनियोजन नभनी छर्नु भनेको तर्क गरे । पैसा पोको पारेर कहाँ विकास हुन्छ ? शिक्षा, स्वास्थ्य, ग्रामीण पूर्वाधार, यातायात जस्ता क्षेत्रमा छरे पो विकास हुन्छ, यही विकासका लागि पैसा छरेको हो,’ उनले भने ।

भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment