Comments Add Comment
कथा :

हिटलरकी प्रेमिका !

नेपाल टेलिभिजनको भव्य र अत्याधुनिक स्टुडियो । चारैतिर झलमल्ल बत्ती बलिरहेका । भित्तामा ‘मिथेन लिड’ सेट । छेउमा केही क्यामेरा, ती पनि ताररहित, गुच्चाजत्रा । वाटरकलर लाइटहरू । कुनै अदृश्य ठाउँबाट स्वतः उज्यालो आए जस्तो । सबै कुरा अडियो रिमोटबाट चल्ने । अन्तर्वार्ताको प्रत्यक्ष प्रसारण गर्ने तयारी ।

शुरुमा काठमाडौंका केही सेटमा सीमित नेपाल टेलिभिजन अहिले ब्रह्माण्डभरि फैलिएको छ । मानिस, देवता, राक्षस, भूतप्रेत, प्राणी सबैले टेलिभिजन हेर्न सक्छन् । नेपाल टेलिभिजनले मंगल ग्रहको सिग्नल डिस्ट्रिव्युटर कम्पनी ‘वियोल्ड दि ग्राभिटी’सँग सम्झौता गरेर आफ्नो कार्यक्षेत्र विस्तार गरेपछि अहिले नेपाल टेलिभिजनको पहुँच पूरै ब्रह्माण्डभरि पुगेको छ ।

यो बापत नेपालले आफ्ना वन जंगलबाट प्रति वर्ष एक लाख मेट्रिक टन अक्सिजन मंगल ग्रहमा पठाउनुपर्छ । यसवापत मंगल ग्रहले स्पेस निःशुल्क प्रदान गर्छ । ‘एनटिभी वल्र्ड’ अंग्रेजी भाषामा प्रसारण हुन्छ र नेपाल टेलिभिजन नेपालीमा । अक्सिजन मंगल ग्रहले अत्याधुनिक ‘स्टारनेट’ बाट आफैं लैजान्छ । नेपालले अनुमति बटममा क्लिक गरेर मात्रा जाँच गरे पुग्छ ।

स्टारनेट ब्रह्माण्डभरिमा जुनसुकै ताराको प्रकाशबाट चल्ने अत्याधुनिक नेटवर्क हो । जसले जुनसुकै वेव सामग्री ब्रह्माण्डको जुनसुकै भागमा पुर्‍याउन सक्छ । यसको गति पनि प्रकाशकै सरह छ र यो निःशुल्क छ । यसरी आफ्नो पहुँच ब्रह्माण्डभरि फैलिएको हुनाले सबैलाई आकर्षिक गर्ने एक महत्वाकांक्षी कार्यक्रम शुरु गरिएको छ– ‘द नेक्स्ट म्यान’ अर्थात् अर्को मान्छे ।

जहाँ संसारबाट दिवंगत भएर अर्को लोकमा गएका विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरूको बारेमा अन्तर्वार्ता गरिन्छ । तर केवल उनीहरूको बारेमा, न कि उनीहरूसँग । अन्तर्वार्ता उनीहरूका अत्यन्त निकटको मान्छेसँग गरिन्छ । जस्तै परिवारका सदस्य, साथी, आफन्त, प्रेमी आदि । तर कुराकानीको विषय तिनै चर्चित व्यक्ति हुने गर्छन् । भाषा विशुद्ध नेपाली रहन्छ । तर जुन देश या पिण्डमा प्रसारण हुन्छ, त्यहींको भाषामा स्वतः अनुवाद हुने गर्छ । एक अत्याधुनिक मेशिन र स्टारनेटले त्यो गर्छ ।

त्यसैले चिन्ता छैन । कार्यक्रम पछिल्लो समय स्वर्गलोकमा बढी चर्चित छ । त्यसैले हालै त्यहीं रहेको अब्राहम लिङ्कनका ससुरा रोवर्ट स्मिथको ‘बैंक अफ युनिभर्स’ ले कार्यक्रम प्रायोजन गरेको छ ।

इभा टिठलाग्दी देखिन्छिन् । पातला ओठबाट फुस्किएको मन्द मुस्कानमा पनि के–के नमिले जस्तो । बनावटी जस्तो । राता–राता गाला पनि कृत्रिम लाग्ने । अल्पकालमै विषसेवन गरेर मृत्युवरण गर्नुपर्दाको पीडा हो या मन परेको र माया गरेको मान्छेसँग उज्यालो र खुल्ला ठाउँमा कहिल्यै भेट्न नपाएको गुनासो हो आँखा, ओठ, अनुहार सबैतिर एक अमूक असन्तुष्टि

अब कार्यक्रम शुरू हुने समय भएको छ । म कार्यक्रम प्रस्तोता अर्थात् अन्तर्वार्ताकारको रूपमा तम्तयार छु । मेरो सामु अन्तर्वार्ता दिन केही उल्लास र केही उत्सुक मुद्रामा बसेकी छिन् ३३ वर्षकी इभा ब्राइन । जो संसार हल्लाउने जर्मनीका तानाशाह एडोल्फ हिटलरकी प्रेमिका तथा श्रीमती हुन् । जसले जीवनभरि एकै व्यक्तिलाई मात्र प्रेम गरिन् । जम्मा १७ वर्षकी हुँदा जर्मनीको मुन्छेन शहरमा हिटलरलाई भेटेदेखि नै प्रेम गर्न थालेकी इभाले बाँकी जीवनभरि लुकिछिपी हिटलरलाई प्रेम गरिरहिन् ।

जब दोस्रो विश्वयुद्ध चरम बिन्दुमा पुग्यो, तब हिटलर कुनै पनि हालतमा बाँच्न नसक्ने भएपछि सन् १९४५ अप्रिल २९ का दिन उनले भूमिगत अवस्थामै बिहे गरे । त्यसको ठीक ४० घण्टापछि दुवैले आत्महत्या गरे । बन्दुक र बारुदको त्यो विशाल सुरुङभित्र उनले साइनाइड पिइन् र त्यसको दुई मिनेटपछि हिटलरले आफैंले पेस्तोलले कन्चटमा हानेर आत्महत्या गरे । त्यतिखेर हिटलर ५६ वर्षका थिए, इभा ब्राइन जम्मा ३३ वर्षकी ।

तिनै प्रेम, सहनशीलता र त्यागकी प्रतिमूर्ति आज टेलिभिजनको स्टुडियोमा छिन् । हिटलरको बारेमा अन्तर्वार्ता दिंदैछिन् ।

हल्का कर्ली कपाल, गोरो छाला, नीला आँखा, ठिक्क अग्ली, भ्याङ्ले कुर्ता लगाएकी इभा टिठलाग्दी देखिन्छिन् । पातला ओठबाट फुस्किएको मन्द मुस्कानमा पनि केके नमिले जस्तो । बनावटी जस्तो । राता–राता गाला पनि कृत्रिम लाग्ने । अल्पकालमै विष सेवन गरेर मृत्युवरण गर्नुपर्दाको पीडा हो या मन परेको र माया गरेको मान्छेसँग उज्यालो र खुल्ला ठाउँमा कहिल्यै भेट्न नपाएको गुनासो हो आँखा, ओठ, अनुहार सबैतिर एक अमूक असन्तुष्टि ।

धन्न अन्तर्वार्ता दिन आउन मानेकी छिन् । त्यो पनि एउटा शर्तमा, उनको सेतो कुकुरलाई सँगै ल्याउन पाउने शर्त । जसलाई अहिले उनको सहयोगी शायद कुनै मन्त्रालयको क्यान्टिनमा दूध पिलाउँदैछ । अन्तर्वार्ताभरि स्टुडियोमा ल्याउन मिल्दैन ।

****

कार्यक्रमको लोगो बजेसँगै कुराकानी शुरू हुन्छ । सामान्य औपचारिक स्वागतपछि म पहिलो प्रश्न राख्छु–

‘हिजोआज हिटलरको दैनिकी के छ ?’

इभा सहज उत्तर दिन्छिन्– ‘उनी प्रायः पुस्तकहरू पढ्छन् र दार्शनिकहरूसँग भेट्ने गर्छन् । बढीजसो जीवन–दर्शन र अध्यात्मका पुस्तक पढ्छन् । कहिलेकाहीं दिक्क लाग्यो भने पाइथागोरस, अरस्तु, थोरो, सुकरातहरूसँग दर्शनका कुरा गर्छन् । माओत्सेतुङ र लक्ष्मीप्रसादसँग उनको गहिरो मित्रता छ । तीनजना मिलेर खुब चुरोट उडाउँछन् । एडोल्फ आजकल निकै शान्त भएका छन् । यसकारण गौतम बुद्धसँग पनि उनको मित्रता छ । तर बुद्धसँग उनको एउटा गुनासो छ…’

‘के गुनासो ?’

‘उनको विचारमा बुद्धले जति पनि शान्तिका सन्देश बाँडे, ती सबै युग र सबै मानवका लागि ठीक छन् । तर संसारलाई शान्ति र प्रेम बाँड्ने बुद्धले आफ्नी श्रीमती र छोरामाथि अन्याय गरे । त्यसरी चटक्कै छोडेर उनीहरूलाई पीडा दिए । उनीहरूको यही विषयमा विवाद परिरहन्छ ।’

‘अनि त्यो बेलामा बुद्धले भन्दैनन् कि– तिम्रा कारण १५ करोड मान्छे मरे । त्योचाहिं के थियो त ?’

‘हिटलरले त स्वीकार गरिसके नि म अपराधी, ज्यानमारा हुँ भनेर । तर बुद्धले त्यो धोका हो भनेर स्वीकार गर्दैनन् नि !’

म अन्तर्वार्तालाई विषयान्तर हुनबाट बचाउँदै भन्छु, ‘ठीक छ, त्यही त्यागको कारण त बुद्धका श्रीमती र छोरा पनि आजसम्म श्रद्धेय छन् । यसो गरौं, अलिकति विगत कोट्याउँ । जब तिमी हिटलरको प्रेममा चुर्लुम्म डुबेकी थियौ, तब तिम्रो उनीसँग भेट हुँदा तिमीले कहिल्यै आग्रह गरिनौ कि अब यो नरसंहार छोड भनेर ।’

‘खासमा म उनको राजनीति र शक्ति प्रदर्शनसँग वेमतलबी थिएँ । जस्तो, सामान्य मानिस भएको भए म प्रेममा निरन्तर रहने थिइनँ पनि होला । म त बस उनी आउने समय कुर्थें । उनी आउँथे, रात बिताउँथे । कहिलेकाहीं पर्खालभित्रै हामी घुम्ने पनि गथ्र्यौं । अनि उनी जान्थे । त्यसपछि म पुनः उनको बाटो हेर्न थाल्थें । कहिले तीनचार दिनमै आउँथे कहिले महीनौंपछि । त्यही पर्खाइ र त्यसमा अल्झिएका यादहरू नै मेरो प्रेमका सारथि भए । सधैं सँगै भएको भए महत्व कम पो हुनेथियो कि ! त्यसैले म खुशी थिएँ ।

जहाँसम्म उनको युद्ध र नरसंहारको कुरा छ, एउटा कुरा भनौं ? उनी शाकाहारी हुन् । धेरै मानिस यो सुनेर अचम्ममा पर्छन् । तर आहार फरक कुरा हो र मानिसको मन भित्र उब्जिएको महत्वाकांक्षाले तय गरेको बाटो फरक कुरा हो । युद्ध र प्रहार समयको परिणति हो । मसँगका प्रायः भेटमा उनी त्यत्रा मान्छे मारेकोमा र विध्वंस मच्चाएकोमा धर्धरी रुने गर्थे । पश्चात्ताप गर्ने गर्थे । म आफ्नो छातीमा टाँसेर घण्टौंसम्म उनलाई रुन दिन्थें । ताकि उनको मन हलुका होस् । यो संसारमा म मात्र एक त्यस्तो भग्यमानी मानिस हुँ, जसले एडोल्फ हिटलरको आँसु देखेकी छु र आफ्नै हातले त्यो आँसु पुछ्न पाएकी छु ।’

‘यो सबैको अर्थ के तिम्रो विचारमा हिटलर सही थिए ?’

‘मेरो आशय त्यो हैन । उनी विल्कुल गलत थिए । तर गलत मान्छेको जीवनका पनि केही अन्तरपीडाहरू हुन्छन् । जसको बारेमा संसारले कहिल्यै खोज्दैन । उनका पनि केही आफ्नै पीडा थिए । जस्तै शुरुका संघर्षका दिनमा गरिएका केही अपमान, जसको मापन यो संसारले कहिल्यै गर्दैन ।’

‘कैयौंले अनुमान गर्छन् कि हिटलर समलिङ्गी थिए । खास के हो ?’

‘कसले भनेको ? यो झूट हो । उनी एक पूर्ण पुरुष हुन् । हामीले कैयौं सुखद रातहरू उनी पूर्ण पुरुष र म पूर्ण महिला भएर बिताएका छौं । त्यो उनलाई बदनाम गर्न फिंजाइएको हल्ला मात्र हो ।’

‘इभा, जतिखेर तिमीहरूले बिहे गर्‍यौ र पछि आत्महत्या गर्‍यौ त्यो समय तिमीलाई हिटलरले बोलाएर तिमी त्यो बंकरमा गएकी थियौ कि आफैं गएकी थियौ ?’

‘म आफ्नै मन्जुरीले गएकी थिएँ । हिटलर त म नआओस् भन्ने चाहन्थे । किनकि उनी म अझै बाँचोस् भन्ने चाहन्थे । त्यतिबेला मलाई थाहा भैसकेको थियो कि रूसी सेनाहरूले उनको इलाका घेरिसकेका छन् । एडोल्फको समूह एकदम कमजोर बनिसकेको छ । अब केही दिनमै रूसी सेना उनी लुकिरहेको बंकरमा छिर्नेछ, उनलाई मार्नेछ । अब उनी यो संसारमा केही दिनका पाहुना मात्रै हुन् ।

त्यसपछि मलाई दौड्दै उनीसामु पुग्न मन लाग्यो, किनकि म त प्रेम गर्ने मान्छे । जब आफ्नो प्रिय मान्छे जीवनको अन्तिम घडीमा सहाराविहीन भएर निरीह बनिरहेको छ, तब त्यो बेलामा पनि साथ दिन सकिनँ भने मैले १६ वर्षसम्म प्रेम गरेको के अर्थ भयो र ? त्यसपछि जानीजानी मृत्युवरण गर्न त्यहाँ गएकी थिएँ । त्यहाँ जान नदिन मलाई जर्मन सेना र नाजी पार्टीका कार्यकर्ताले निकै प्रयास गरेका थिए । तर म जिद्दी गरेर त्यहाँ गएँ र उनलाई भेटें । त्यसपछि मात्रै हो हाम्रो प्रेम सार्वजनिक भएको । बंकरभित्रका हामी सबैलाई थाहा थियो कि अब हामी तीन–चार दिन भित्रै मारिन्छौं । त्यसपछि हिटलरले शहरका एक चर्चित पादरीलाई बोलाउन पठाए । आँखा छोपेर उनलाई त्यहाँ ल्याइयो । जब पादरीलाई विधिपूर्वक हाम्रो बिहे गर्न अह्राइयो तब शुरुमा त उनी छक्क परे । पछि गरिदिए ।

बिहे भएपछि म इभा व्राइन हिटलर भएँ । म चाहन्थें, रूसी सेनाबाट मारिनु अघिका केही घण्टा आफ्नो पतिसँग प्रेमिल क्षणहरू बिताऊँ । जुन हरेक नारीको चाहना हुन्छ । तर बिहेलगत्तै उनीचाहिं आफ्नो नजिकको पात्र गोयबल्स र अरूसँग लामा राजनीतिक गफ गर्न थाले । म कोठामा एक्लै भएँ ।  निकै थोरै समय मात्र मैले उनीसँग बिताउन पाएँ । जब भोलि बिहानै हामी रूसी सेनाबाट मारिंदैछौं भन्ने हामीले थाहा पायौं तब अघिल्लो रात गोलीगठ्ठा राख्ने कोठामा गएर आत्महत्या गर्‍यौं। त्यसको केही घण्टामै गोयबल्सले पनि आत्महत्या गरे ।

‘अनि अरू…’ मैले उत्साहित हुँदै सोधें । उनी निरन्तर बोलिरहिन् ।

राम्रो चाहिं के भयो भने हाम्रो शव रहेको बङ्करलाई हाम्रा सहयोगीले बमले ध्वस्त पारे । ताकि हाम्रो शव दुनियाँका लागि रमिता बन्नु परेन । चोक चोकमा हाम्रो निर्जीव शरीर प्रदर्शन हुन पाएन । यस अर्थमा म आफूलाई भाग्यमानी ठान्छु कि मेरो प्रेम, सुख र खुशीमा हराएर रेष्टुराँ, बगैंचा जस्ता ठाउँमा हैन त्रास, युद्ध, पीडायुक्त ठाउँमा फक्रियो । जीवनको अन्तिम क्षणमा हामी दुवैले प्रेमको महत्व र अस्तित्व स्वीकार्‍यौं । अहिले अर्को लोकमा पनि त्यसैको कारण हामी स्वीकार्य भएका छौं । नत्र एडोल्फलाई त्यहाँ पनि गाह्रो थियो ।

इभाको एकोहोरो उत्तरले म पनि भावुक भएछु । केहीबेर प्रश्नकर्ता हुन बिर्सेर श्रोता भएछु । सम्हालिंदै सोध्छु–

‘त्यहाँ गएपछि हिटलर कसरी एकाएक शान्त र शालीन बने ? यो त अचम्मको कुरा भएन र ?’

‘एकाएक शान्त भएका कहाँ हुन् र ? केही समय त उता पनि त्यही पारा निकाले । पृथ्वीमा रहँदा पूरा गर्न नपाएको सपना यहाँ पूरा गर्छु भन्न थाले । जसरी सिंगै पृथ्वी एकै बनाएर शासन गर्ने सपना थियो, त्यसैगरी अब पूरै ब्रह्माण्डको शासन म एक्लै गर्छु भनेर चिच्याउन थाले । तर केही समयको परामर्श र आग्रहपछि उनी क्रमशः शान्त हुँदै गए ।

शेक्सपियरको नाटक ‘मिडसमर नाइट्स’ बाट उनी थप प्रभावित भए र संसारलाई जित्न बल हैन बुद्धि र संयमता चाहिदो रै’छ भनेर ‘कन्भिन्स्ड’ भए । त्यसमा नाटककार सोफोक्लिज, शेक्सपियर, दार्शनिकहरू अरिस्टोटल, शोपेनहावर, साहित्यकारहरू, ड्राइडेन, खय्याम, एण्डरसन, कोलिङ, गोर्कीहरूले धेरै मद्दत गरे ।

एउटा रमाइलो कुरा भनौं ? माथि गएपछि एडोल्फले चित्रकार भ्यान गगको एउटा कान नदेखेर छक्क पर्दै सोधे, ‘तिम्रो एउटा कान खै ? जब भ्यान गगले एउटा कान आफ्नी प्रेमिकाको लक्ष्य पूरा गर्न काटेर दिएको कुरा बताए, तब एडोल्फ केही भावुक बने । एकचोटि मलाई पुलुक्क हेरे । अनि आकाशतिर फर्केर टोलाए ।

मलाई लाग्छ, त्यसपछि उनले मलाई बढी माया गर्न थाले । हिजोआज पनि भ्यान गग र उनको भेट हुँदा उनीहरू मायाप्रेमकै कुरा बढी गर्छन् । रोमियो जुलियट नाटकमा शेक्सपियरले दुवैलाई मारेको कुरा सुनेर एडोल्फलाई साह्रै नमज्जा लाग्यो रे ! किन मारेको भनेर शेक्सपियरसँग एकदिन विवाद गर्दै थिए ।’

म अझै पनि त्यसैमा अल्झिन्छु, ‘त्यस्तो अराजक मान्छे त्यसरी, एक्कासी कसरी प्रेमिल र शालीन बन्न सक्छ ? यो त नाटकजस्तै भएन र ?’

‘सरसर्ती हेर्दा त्यस्तै लाग्छ । तर सक्दो रहेछ । उनी पृथ्वीमा रहँदा जब बदलाको भावले आक्रामक बन्दै गए, तब मानिसहरूले उनलाई त्यसरी बदल्नुको साटो दबाएर दुःख पाएर तह लगाउन खोजे । तर त्यहाँ उनलाई कसैले दबाएन, दुःख दिएन । गाली गरेन, थिचेन पनि । खाली मुस्कान सहितको प्रेमले सम्झाए । समय लागे पनि जीत त्यही प्रेमको भयो ।

इभाको हातमा रहेको घडीमा अलार्म बज्छ । उनी एक्सक्युजमी भन्दै त्यसमा हेर्छिन् । अनि भन्छिन्, ‘सरी है एकैछिन एडोल्फसँग कुरा गर्नुपर्ने भयो ।’ मेरो स्वीकृतिपछि उतै कुरा गर्न थाल्छिन् ।

‘अँ, अन्तर्वार्ता हेर्दैछौ ? ए… सुन त, त्यो तिम्रो प्रेसर डोज सकिएछ । फ्लोरेन्स नाइटिङ्गेललाई भनेर एक हजार दिनको डोज स्टारनेटबाट पठाउन लगाऊ र ‘हार्ट विट’ मा क्लिक गरेर ओके गर । (जोडले हाँस्छिन्) डण्ट वोरी… त्यस्तो हुँदैन… म आउँछु…बाई ।’

इभा हाँस्दै मतिर हेर्छिन् र भन्छिन्, ‘जीवनकालमा विरलै हाँस्ने एडोल्फ आजकल रसिक पनि भएका छन् ।’

‘किन र ? जोक गरे ?’

‘अँ । त्यो अन्तर्वार्ता लिने केटो ह्यान्डसम रै’छ, कतै मक्ख परेर उतै बसौली नि भन्छन् । कस्तो मात्तेको ।’

म पनि फिस्स हाँसिदिन्छु । अनि एउटा ओपन इण्डेड र ‘एम्बिसस’ प्रश्न सोध्छु, ‘इभा, तिमीलाई लाग्दैन कि एडोल्फ हिटलर यो संसारमा नजन्मिएको भए राम्रो हुन्थ्यो कि ! त्यत्रा मान्छेको मृत्यु र त्यस्तो विध्वंस त हुने थिएन ।’

‘घरीघरी लाग्छ । तर फेरि सोच्छु, संसारमा जन्मिने हरेक मानिसको जन्म एक उत्सव हो । जन्मँदै कोही क्रूर र हिंस्रक भएर जन्मँदैन । तर पछि समय बित्दै जाँदा व्यक्ति क्रूर र हिंस्रक बन्छ, त्योचाहिं गलत हो । के थाहा ? उनी नजन्मेको भए अर्को कुनै हिटलर जन्मने थियो कि ? फेरि समय अनुसार शैली र प्रकृति फरक भएको न हो । विश्वयुद्ध जस्तै नरसंहारका शृङ्खला त अरू पनि आइरहेका छन् नि ! जस्तै अहिलेको कोरोनाभाइरस । यदि यो तिमीहरूले शंका गरेजस्तै मानव निर्मित रै’छ भने यो निर्माण गर्ने व्यक्ति अर्को हिटलर हैन र ?’

कुराकानी अलिक बढी नै गम्भीर र गहन भएको जस्तो लागेर म वातावरण सहज र मोहक बनाउन खोज्छु, ‘तिमी त जम्मा ३३ वर्षकी, यति सुन्दर छ्यौ । हिटलर त ५६ वर्षका पाका छन् । कहिलेकाहीं कुनै सुन्दर युवक देख्दा मन परेर त्यतातिर ध्यान जाँदैन ? अघि हिटलर पनि त्यसमा डराउँदै ठट्टा गर्दै थिए । कहिलेकाहीं त्यस्तो पनि भएको छ ?’

इभा हाँस्छिन् र भन्छिन्– ‘मैले अघि नै उनलाई पनि भने त मेरो लागि संसारको सबैभन्दा प्रिय र हेन्डसम मान्छे एडोल्फ हिटलर नै हुन् । किनकि म उनलाई मनले प्रेम गर्छु । बाहिरी आवरणलाई प्रेम गर्ने भए त म ज्यूँदै छँदा नै अरू कैयौं राम्रा र उमेरदार केटाहरूसँग मस्ती गर्न सक्थें नि ! जर्मनीमा हेन्डसम केटाको खाँचो थियो र ?’

म ओप्रा विन्फ्रेको शैलीमा, ढिपी गर्छु– ‘अरू चाहिं कहिल्यै कोही राम्रो लागेको छैन त ?’

‘राम्रा लागेका छन् । तर म प्रेम एडोल्फलाई मात्रै गर्छु ।’

‘त्यसो भए भन न त राम्रो लागेको चाहिं को छ ?’

भन्नै पर्छ भने सुन– ‘केही अगाडि मात्रै आत्महत्या गरेर माथि आएका भारतका कलाकार सुशान्त सिं चाहिं खुब राम्रा लागे । उनको जस्तो त्यो तलपट्टिको हल्का नमिलेको दाँत मलाई असाध्यै मन पर्छ ।’

समय सकिन आँटेको छ । त्यसैले म कुराकानीको बिट मार्न खोज्छु । अन्त्यमा एउटा प्रश्न सोध्छु– ‘अब हिटलरको अन्तिम इच्छा र योजना के छ ?’

‘स्टेफन हकिङ्स माथि आएदेखि उनको अन्तिम लक्ष्य बदलिएको छ । हकिङ्सले उनलाई यो पृथ्वी केही हजार वर्षपछि ध्वस्त हुँदैछ भन्ने कुरामा प्रशस्तै आधारसहित पूर्ण रूपमा विश्वस्त पारेका छन् । त्यसैले एडोल्फको चाहना छ, यो पृथ्वी एकपल्ट साँच्चिकै ध्वस्त बनोस् । उनको बुझाइ छ, जब पुनः नयाँ सृष्टि शुरु हुन्छ अनि मात्रै यहाँ जरैदेखि प्रेम, विश्वास, निष्ठा, सम्मान जस्ता कुराको सूत्रपात हुन्छ । त्यसपछि हत्या, हिंसा, स्वार्थ, छल, कपट जस्ता कुरा थाहै हुने छैनन् । अनि मान्छेले त्यसको स्वाद नै थाहा पाउने छैन । हरेक मान्छेले अर्को मान्छेलाई आफ्नै अङ्गसरी प्रेम गर्नेछन् । त्यसपछि पृथ्वी स्वर्ग भन्दा पनि सुन्दर बन्नेछ । यसको आकार–प्रकार नै फरक हुनेछ । ब्रह्माण्डभरिका, अझ स्वर्गसम्मका प्राणी र देवता पृथ्वीमा आउन लालायित हुनेछन् ।

हो, त्यसबेला त्यो शान्ति र प्रेमको संरक्षण गर्न सद्भावना दूत बनेर गौतम बुद्ध, मदर टेरेसा, फ्लोरेन्स नाइटिङ्गेल, जिसस क्राइस्ट, साईबाबा, हेनरी ड्युनासँगै हिटलर पनि आउनेछन् । र, मानवको हित र कल्याणमा जीवन समर्पित गरी पाप पखाल्ने कोशिश गर्नेछन् । जति ठूलो युद्धमा पनि कालान्तरमा जित प्रेमकै हुन्छ । प्रेम विना संसारलाई जितेको भ्रममा रहे पनि मान्छे आफूसँग सधैं हारिरहेको हुन्छ । यदि कुनै दिन प्रेमको अन्त्य भएछ भने त्यही दिन सिङ्गै ब्रह्माण्ड शून्यमा विलाउनेछ ।’

इभा ब्राइनलाई धन्यवाद दिंदै म कार्यक्रम अन्त्य गर्छु । ठीक त्यसबेला मेरो अगाडि ‘स्पेस स्क्रिन’ मा एउटा मेसेज फुत्त आउँछ । टेलिभिजनका आविष्कारक फिलो फ्रेन्सवर्थले लेखेका हुन्छन्–

‘गुड जब मिस्टर समिर ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment