Comments Add Comment

पर्साको जगरनाथपुरमा एन्टिजेन परीक्षण गर्न समेत समस्या

फाइल तस्वीर

१ जेठ, वीरगञ्ज । कोरोना संक्रमणबाट पर्साको जगरनाथपुरमा ९५ वर्षीया वृद्धाको मृत्यु भएको छ । वडा नम्बर ५ मसिहानी बस्ने वृद्धाको शुक्रबार अपरान्ह ४ बजे होम आइसोलेसनमै रहेको बेला मृत्यु भएको हो ।

उनको बिहीबार गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनले गाउँकै स्वास्थ्यकर्मीले दिएको टाइफाइडको औषधि सेवन गरिरहेकी थिइन् ।

गएको जाडो महिनामा स्वास्थ्य अवस्था निकै कमजोर बनेपनि परिवारको स्याहारसुसारपछि उनी हिंडडुल गर्न सक्ने भएकी थिइन् । १५ दिन अघिदेखि भने उनलाई ज्वरो आइरहेको थियो । गाउँगाउँमा ज्वरोका बिरामी रहेको र १० दिनमा १० जनाको मृत्यु भइसकेको गाउँपालिकाको स्वास्थ्य शाखाले गुनासो गरेपछि मंगलबार जिल्लाबाट समेत स्वास्थ्यकर्मीको टोली गाउँ पुगेको थियो । सोही दिन ११ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । टोलीले संकलन गरेको २५ वटा स्वाब नमुनाको बिहीबार पीसीआर परीक्षण हुँदा थप १७ जनामा संक्रमण पुष्टि भएको थियो ।

वृद्धाका ५५ वर्षीय छोरा पनि कोरोना संक्रमित भई होम आइसोलेसनमा छन् । ‘९० वर्ष पुगिसक्नुभएको थियो, ज्वरो आएपछि गाउँमै जचाएर औषधि खुवाइरहेका थियौं,’ छोराले भने ‘कोरोना संक्रमण पुष्टि भएको जानकारी आउँदा आमाको मृत्यु भइसकेको थियो ।’

गाउँमा घरघरमा ज्वरोको बिरामी देखिएको भन्दै उनले समुदायस्तरमै आवश्यक परीक्षणको व्यवस्था मिलाउनुपर्ने बताए । गाउँपालिकाले उनलाई आवश्यक औषधि पठाइदिएको छ । आमाको काजकिरिया गरिरहेका उनी आफ्नो शरीर एकदमै गलेको बताए । ‘औषधि खाएपछि ज्वरो त निको भएको छ । तर शरीरमा तागत छैन,’ उनले भने, ‘गाउँपालिकाले औषधि त पठाएको छ, कसरी तागत बढ्छ थाहा छैन ।’

जगरनाथपुर गाउँपालिकाकाकै ८४ वर्षीया वृद्ध संक्रमितको पनि मृत्यु भएको छ । जगरनाथपुर– ६ सन्ठीका वृद्धको नारायणी अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाले रुघाखोकी, ज्वरो आएका तथा अन्य स्वास्थ्य समस्या भएका ४८४ जनालाई शुक्रबार औषधि वितरण गरेको छ । तर गाउँमा कोरोना संक्रमण परीक्षण गरी संक्रमितलाई छुट्याउनु आवश्यक छ ।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साह गाउँमा एन्टिजेन परीक्षण मात्रै भएपनि गर्नु आवश्यक देखिएको तर कतैबाट सहयोग नपाएको बताउँछन् ।

‘समुदायस्तरमा परीक्षणका लागि गाउँपालिका कार्यालय, स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालयलाई हार गुहार गरिसकें,’ उनले भने, ‘कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका मानिसहरु गाउँभरि छन्, तर परीक्षणका लागि आवश्यक एन्टिजेन किटको बन्दोबस्त कतैबाट भइरहेको छैन ।’

स्वास्थ्य कार्यालयको जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुर जगरनाथपुरमा परीक्षणको दायरा बढाउन पहल भइरहेको बताउँछन् । ‘स्वाब संकलनका लागि ५० थान भीटीएम पठाउँदैछौं, पालिकासँगको समन्वयमा  स्वाब संकलन र कन्ट्याक्ट ट्रेसिङको काम गर्छौ,’ उनले भने, ‘नारायाणी अस्पतालमा पीसीआर परीक्षणका लागि कुरा भइसकेको छ ।’

उनले संक्रमितलाई आइसोलेसनमा राख्ने र उपचार गर्ने कुरामा पालिका र स्थानीय जनप्रतिनिधि जिम्मेवार नदेखिएको बताए ।

‘संक्रमण देखिएपछि संक्रमितलाई छुट्टै होम आइसोलेसन वा सामुदायिक आइसोलेसनमा राख्नुपर्ने हुन्छ । तर गाउँपालिकाले शहरमा २५ बेडको आइसोलेसन बनाएको भनी प्रचार गरिरहेको छ,’ उनले भने, ‘ज्वरो आउने बित्तिकै कोरोना भनिदिन्छन्, शहरमा लगेर राखिदिन्छन्, उपचारको क्रममा मृत्यु भयो भने शव समेत सेनालाई बुझाइदिन्छन् भन्ने भ्रम छ । गाउँबाट मानिसहरु आइसोलेसन बस्न र उपचार गर्न शहर आउन मानिरहेका छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुरेश बिडारी

ट्रेन्डिङ

Advertisment