Comments Add Comment

डोटीमा कोरोना : युवाहरूमा धेरै संक्रमण, हेलचेक्र्याइँले विस्तार बढी

१ जेठ, डोटी । कोरोना महामारीको असर मुलुकको सुदूरपश्चिमी जिल्ला डोटीमा समेत डरलाग्दो रूपमा बढेको छ । दोस्रो लहरको कोरोना परीक्षणको वैशाख महिनाको तथ्यांकलाई विश्लेषण गर्दा कुल परीक्षण संख्याको ३९ प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय, डोटीले जानकारी दिएको छ ।

शुक्रबार गरिएको परीक्षणबाट डोटी जिल्लामा ६७ नयाँ संक्रमित थपिएका छन् । पीसीआर विधिबाट ९६ जनाको परीक्षण गर्दा ६४ अर्थात् झण्डै ६६ प्रतिशतमा संक्रमण देखिएको छ । यस्तै, पाँच जनाको एण्टिजेन परीक्षण गर्दा तीन अर्थात् झण्डै ६० प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय, डोटीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । योसँगै डोटी जिल्लामा हालसम्म कुल संक्रमितको संख्या दुई हजार सात सय पुगेको छ ।

डोटीमा कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमण दर ह्वात्तै बढेको तथ्यांकहरूले देखाएका छ । डोटीमा २०७७ साल जेठ १९ गते पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतबाट फर्केर क्वारेन्टिनमा बसिरहेका शिखर नगरपालिका३ का २२ वर्षीय एक युवामा कोरोना संक्रमण पुष्टि भएको थियो । क्वारेन्टिनमा बसिरहेको बेला उनमा सामान्य स्वास्थ्य समस्या देखिएपछि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसयता कोरोनाको पहिलो लहरमा २०७७ साल चैत्र महिनासम्म डोटी जिल्लामा एक हजार चार सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीको तथ्यांकमा उल्लेख छ । सो अवधिमा पीसीआर विधिबाट १३ हजार एक सय ६० जनाको परीक्षण गरिएकोमा एक हजार चार सय एक जना अर्थात् १०.६४ प्रतिशतमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यस्तै, सो अवधिमा एन्टिजेन विधिबाट एक हजार दुई सय ४८ जनाको परीक्षण गरिएकोमा २० जना (१.६० प्रतिशत) मा संक्रमण देखिएको थियो । स्वास्थ्य कार्यालयका अनुसार गतवर्ष जेठदेखि चैत्र मसान्तसम्म पीसीआर र एन्टिजिन विधिबाट गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको दर ९.८६ प्रतिशत रहेको थियो ।

जिल्लामा कोरोनाको दोस्रो लहरमा पहिलो संक्रमण गत वैशाख ५ गते देखिएको थियो । त्यसयता शुक्रबारसम्म अर्थात् २५ दिनको अवधिमा पीसीआर विधिबाट एक हजार १७ मा परीक्षण गर्दा चार सय ७८ मा र एण्टिजेन विधिबाट चार सय ७० मा परीक्षण गर्दा एक सय आठ गरी पाँच सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या वैशाखमा परीक्षण गरिएका एक हजार चार सय ८७ को ३९.४० प्रतिशत हुन आउँछ।

मृत्युदर पनि ह्वात्तै बढ्यो

कोरोना महामारीको दोस्रो लहरमा संक्रमण दरसँगै मृत्यु हुनेको संख्यामा पनि वृद्धि भएको छ । वैशाख ५ गते यता जिल्लाका ६ जना संक्रमितको मृत्यु भइसकेको छ । यस तथ्याङ्क अनुसार दोश्रो लहर अन्तर्गत मृत्युदर एक प्रतिशतभन्दा बढी छ । त्यस्तै, भारतबाट आएका शिखर नगरपालिकाका दुई, आदर्श गाउँपालिकाका एक र दिपायल सिलगढी नगरपालिकाका एक जनाको वैशाखमै मृत्यु भएको थियो । तर, उनीहरूको कोरोना संक्रमण परीक्षण भने गरिएको थिएन ।

भारतबाट फर्केका दीपायल सिलगढी नगरपालिका१ का एक युवाले आफ्नो दाजुको कोरोना संक्रमणका कारण भारतमै मृत्यु भएको भन्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिए । उनले भने भारतमा सँगै बस्ने दाजुको कोरोना संक्रमणका कारण निधन भएपछि ती युवा घर फर्केको सुनियो, तर उनको कोरोना परीक्षण गरिएको रहेन छ ।

डोटीमा कोरोनाको पहिलो लहरमा गत वर्षभरि एक हजार चार सय २१ जनामा संक्रमण पुष्टि भएको थियो भने कोरोनाबाट एक जनाको मात्रै मृत्यु भएको थियो । कोरोनाको पहिलो लहरमा डोटीमा संक्रमितको आधारमा मृत्यु दर ०=०७ प्रतिशत मात्रै रहेको थियो । गतवर्ष डोटीको केआई सिंह गाउँपालिका वडा नम्बर ४ का एक पुरुषको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

कोरोना संक्रमण तथा मृत्युदरमा वृद्धि आएसँगै डोटीमा सन्त्रास फैलिएको छ । अस्पतालहरू कोरोना संक्रमितले भरिएका छन् । तर, अस्पतालमा अक्सिजनको अभाव छ । अस्पतालमा न अक्सिजन छ, न राम्रो उपचार छ डोटी जिल्ला अस्पतालको आइसोलेशन वार्डमा उपचारमा रहेका एक संक्रमितले भने डाक्टर साबहरूले त सहयोग गरिरहनुभएको छ, तर अक्सिजनै नभएपछि उहाँहरूले पो के गर्न सक्नुहुन्छ ?

उनले थपे सँगै उपचार गराइरहेका एक साथीको निधन खबरले मपनि मर्छु कि भन्ने चिन्ता लागिरहेको छ ।

संक्रमित बढ्दैछन्, सावधानी छैन

कोरोना संक्रमणको दोस्रो लहरमा डोटीका दिनहुँ नयाँ संक्रमित थपिने क्रम जारी छ । तर, पहिलो लहरको तुलनामा दोस्रो लहरमा कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारी र निजी पहलमा समेत खासै सावधानी अपनाउन नसकेको स्थानीय बासिन्दाहरूको अनुभव छ ।

दिनदिनै कोरोना संक्रमितहरूको संख्या थपिँदै गएको छ, तर कसैले पनि सावधानी अपनाएको देखिँदैन । दिपायल सिलगढी नगरपालिका५ का पूर्ण पार्की भन्छन् अधिकांश मानिस कोरोना भनेको यस्तै हो भन्छन्, केही वास्ता गर्दैनन् ।

उनी यस्तो मानसिकता र व्यवहारले गर्दा कोरोना संक्रमणको जोखिम झन् बढेको बताउँछन् । उनी थप्छन् पहिले त जनता आफैँ सजग हुनु पर्‍यो । सरकारले गरेको लकडाउन अटेरी गर्नेहरूलाई प्रशासनले तत्काल कारबाही गर्नुपर्‍यो ।

डोटीकै आदर्श गाउँपालिका२ का शेरबहादुर साउँद पनि गाउँमा कोरोना महमारीप्रति खासै चिन्ता नदेखिएको बताउँछन् । भारतका विभिन्न स्थानबाट घर फर्केकाहरू गाउँमा खुला रूपमा घुमिरहेका छन् । संक्रमितहरू पनि परिवारसँगै बसेका छन् उनी भन्छन् यसले गर्दा संक्रमितको संख्या दिनहुँ थपिँदै गएको छ । उनी कोरोना परीक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या पनि अझ बढ्न सक्ने अनुमान गर्छन् ।

केआईसिंह गाउँपालिका७ का लोकबहादुर बलायर पनि कोरोना संक्रमितहरू परिवारका सदस्यसँगै खेतबारीमा काम गरिरहेको बताउँछन् । उनी गाउँघरमा कोरोना महामारीप्रति सजगता नअपनाइएका कारण जोखिम झन् बढेको बताउँछन् ।

डोटीकै शिखर नगरपालिका११ का एक युवक भन्छन् गाउँघरमा कसलाई कोरोना संक्रमण छ ?, कसलाई छैन थाह छैन ? गाउँमै भएका र भारतबाट फर्केकाहरू संगै बसेर तास खेल्ने, रक्सी खाने गर्छन् । गाउँघरमा होम आईसोलेसन नाम मात्रको छ । गाउँका प्रायः घरहरूको वनोट नै त्यस्तै छ, के को होम आईसोलेसन हुने ?

युवाहरूमा बढी संक्रमण

कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा डोटीमा युवाहरूमा बढी संक्रमण दर देखिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । तथ्याङ्क अनुसार २० देखि २९ वर्ष उमेर समूहका युवाहरुमा संक्रमण बढी देखिएको छ ।

वैशाखमा पुष्टि भएका पाँच सय ८६ संक्रमितमध्ये ४९ महिला र एक सय ७३ पुरुष गरी दुई सय २२ जना अर्थात् झण्डै ३८ प्रतिशत २०२९ वर्ष उमेर समूहका छन् । यस्तै ३०३९ वर्ष उमेर समूहका २७ महिला र एक सय २७ पुरुष गरी एक सय ५४ अर्थात् २६ प्रतिशत रहेका छन् । ६० वर्षभन्दा माथिका १५ महिला र २८ पुरुषगरी ४३ अर्थात् सात प्रतिशत रहेका छन् ।

यस्तै १० जना नौ वर्ष मुनिका बालबालिकाहरु पनि संक्रमित भएका छन् । जसमा दुई बालिका र आठ बालक छन् । कुल संक्रमित संख्याको १.७० प्रतिशत बालबालिकाहरु रहेका छन् । १०१९ वर्ष उमेर समूहका १२ बालिका र ३१ बालक गरी कुल ४३ संक्रमित रहेका छन् । यो वैशाखमा पुष्टि भएका कुल संक्रमित संख्याको करिब सात प्रतिशत हो । ४०४९ वर्ष उमेर समूहका १३ महिला र ५४ पुरुषगरी ६७ अर्थात् करिब १० प्रतिशत र ५०५९ वर्ष उमेर समूहका १५ महिला र ३२ पुरुषगरी ४७ अर्थात् आठ प्रतिशत संक्रमित छन् ।

रोजगारीको सिलसिलामा भारतका विभिन्न शहर, स्थानमा जाने गरेका युवाहरू भारतमा कोराना महामारी डरलाग्दो रूपमा फैलिएपछि घर फर्केको र समयमै उचित व्यवस्थापन नभएका कारण कोराना संक्रमण दरमा वृद्धि भइरहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । स्वास्थ्य कार्यालय सूचना अधिकारी महेश बोहराको भनाइमा रोजगारीका लागि भारत गएका युवाहरु फर्केका कारण संक्रमण दर बढी देखिएको हो । उनले भने रोजगारीका लागि भारत वा नेपालकै पनि अन्य स्थानमा जानेहरू बढीजसो युवा नै रहेका छन् । उनीहरूमध्ये धेरैजना श्रीमान् श्रीमतीसँगै बाहिर जाने, सँगै बस्ने भएका कारण महिलाहरूमा पनि बढी संक्रमण देखिएको हुन सक्छ ।

उनी विभिन्न कामको सिलसिलामा देशका विभिन्न स्थानमा वा भारतका विभिन्न शहरमा गएकाहरू अहिले घर फर्केको र उनीहरूबाट नै अन्य उमेर समूहका व्यक्तिहरूलाई पनि कोरोना संक्रमण फैलिएको हुन सक्ने बताउँछन् ।

किन ह्वात्तै फैलियो कोरोना ?

डोटीको केआईसिंह गाउँपालिकाको वायल स्वास्थ्य चौकीमा कार्यरत मेडिकल अधिकृत डाक्टर अहमद साकिर रेन गाउँघरमा बढी लापरबाहीका कारण अहिले कोरोना संक्रमणको समस्या निकै बढेको बताउँछन् । कोरोना संक्रमणबारे जानकारी भएकाहरू पनि सावधानी अपनाउँदैनन् डा अहमद भन्छन् कतिपयले त लक्षण देखिँदा समेत आईसोलेसनमा बस्नुपर्ने हो कि < भन्ने डरले परीक्षण समेत गराउन मान्दैनन् । डा अहमद अझैं पनि धेरैजसो व्यक्तिमा आफूलाई कोरोना संक्रमण पुष्टि भयो भने समाजमा अपहेलित हुनु पर्छ भन्ने गलत बुझाइ रहेको बताउँछन् ।

डोटी जिल्ला अस्पतालका कोरोना फोकल व्यक्ति डाक्टर राजेन्द्र फुलाराको अनुभव पनि यस्तै छ । कोरोना संक्रमणसंग मिल्ने लक्षण देखिएका व्यक्तिहरूलाई पीसीआर परीक्षण गर्न भन्यो भने गाली गरेको जस्तो ठान्छन् फुलाराले भने कोही पनि आत्मानुशासनमा बस्न नसकेकै कारण यो समस्या झन् चर्किएको हो ।

उनको बुझाइमा मेलापात वा अन्य धार्मिक, सामाजिक चाडपर्वमा भौतिक दुरी काम नगर्ने, मास्क प्रयोग नगरिकनै भिडभाड गर्ने, अन्य आवश्यक सावधानी अपनाउन हेलचेक्र्याइँ गर्ने मानसिकताका कारण अहिले कोरोना महामारी तीब्र रुपमा फैलिएको हो । उनले थपे त्यसैमा राजनीतिक दलहरूले ठूल्ठूला आमसभा गर्दै आए, तर कसैले पनि कोरोना संक्रमणप्रति सावधानी अपनाउने प्रयास नै गरेनन् ।

डोटीकै बडीकेदार गाउँपालिकाले सञ्चालनमा ल्याएको कोभिड अस्थायी अस्पतालका मेडिकल अधिकृत डाक्टर सुरज श्रेष्ठको भनाइमा तुलनात्मक रूपमा शिक्षित र जानकारहरूबाटै कोरोना संक्रमणप्रति अटेरी हुने गरेको छ । उनले भने मास्क लगाऊ भन्दापनि मान्दैनन् । भिडभाड नगर भन्दा पनि मान्दैनन् । सँगै बस्न खोज्छन् । लक्षण देखिएपछि जाँच गराउनुहोस् भन्दा मान्दैनन्, होम आइसोलेसनमा अनुशासित भएर बस्दैनन् । श्रेष्ठ कोरोना संक्रमणको प्रभावकारी रोकथामका लागि लकडाउनको कडाईका साथ पालना गर्ने गराउनेतर्फ प्रशासन क्रियाशील हुनुपर्ने बताउँछन् ।

सरोकारवालाहरू भन्छन्परीक्षणको दायरा बढाऊ

डोटीमा एक महिनादेखि कोरोना भाइरस संक्रमण दरमा निरन्तर वृद्धि भइरहेको छ । गाउँघर, बजार जहाँसुकै कोरोनाप्रति मानिसमा असावधानी बढेको छ । कोरोना परीक्षण दरमा सुधार आउन सकेको छैन । सरोकारवालाहरू कोरोनाको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि अरु प्रयास कार्यसँगै कोरोना परीक्षणको दायरा व्यापक बनाउनुपर्ने बताउँछन् ।

आदर्श गाउँपालिका२ का शेरबहादुर साउँद समुदायमा कोरोनाको परीक्षणको दायरा व्यापक बनाउनुपर्ने बताउँछन् । उनी भन्छन् भारत वा देशका अरू जिल्लाबाट घर फर्केकाहरू र गाउँमा भएका सबै एकअर्कासँग घुलमिल हुने गरेका छन् । यसले गर्दा समुदायमा कोरोना संक्रमणको जोखिम उच्च बन्दै गएको छ । त्यसैले बढीभन्दा बढी परीक्षण गर्नु जरुरी भइसकेको छ । उनी भारत वा अन्य स्थानबाट घर फर्केका तथा फर्किनेहरूलाई अनिवार्य रुपमा परीक्षणको दायरामा ल्याउनुपर्ने सुझाव दिन्छन् ।

जोरायल गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक गोविन्दबहादुर बिष्ट पनि कोरोना समुदायमा फैलिसकिएको बताउँछन् । अब हामीले भारतबाट फर्केकाहरूलाई मात्रै शंकाको दृष्टिले हेर्नु हुँदैन स्वास्थ्य शाखा संयोजक बिष्ट भन्छन् ट्राभल हिस्ट्री नभएकाहरू र गाउँपालिकाकै कर्मचारीहरूलाई समेत कोरोनाको संक्रमण देखिएको छ । त्यसैले कोरोना परीक्षणको दायरा बढाउनु जरुरी भइसकेको छ ।

डा‍. अहमद पनि कोरोना संक्रमण नियन्त्रणका लागि परीक्षणको दायरा वढाउनु पर्नेमा जोड दिन्छन् । उनले भने रोग प्रतिरोधात्मक क्षमता राम्रो भएको व्यक्ति संक्रमित भए पनि कुनै लक्षण देखिदैन । तर, उसले अरुलाई सार्न सक्छ । त्यसैले कन्ट्याक्ट टेसिङ्ग गरेर सबैलाई परीक्षणको दायरामा ल्याउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment