
११ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण, डोटी वितरण केन्द्र अन्तर्गत पर्ने दुईवटा गाउँपालिकामा आजबाट पाँच दिनसम्म दैनिक ९ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।
डोटी वितरण केन्द्र अन्तर्गत मौवा सबस्टेशनका कर्मचारी बलाराम पनेरुका अनुसार, पाँच दिनसम्म बिहान ७ देखि १२ र दिउँसो ३ देखि ७ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको हो ।
वितरण केन्द्रले हिजो नै सूचना जारी गरेको थियो । प्राधिकरणका अनुसार, डोटीको आदर्श र सायल गाउँपालिकामा विद्युत् अवरुद्ध हुनेछ । उनका अनुसार मौवा सबस्टेशनदेखि एउटै पोलमा दुईवटा सर्किट बनाउन लागिएकाले विद्युत् अवरुद्ध हुने सूचना जारी गरेर काम भइरहेको छ ।
‘मौवा सबस्टेशनदेखि एउटै पोलमा दुईवटा सर्किट बन्दैछ । यहाँभन्दा पहिला एउटा फिडर मात्रै चालु थियो । आदर्श र सायल दुवै ठाउँमा,’ उनले भने, ‘अहिले दोस्रो फिडरका लागि त्यही पोलमा दोस्रो लाइन लगेर अर्को फिडर बनाउन लागेको हुनाले पाँच दिनका लागि सूचना राखेर काम गर्दैछौं ।’
प्राधिकरणले जारी गरेको सूचनामा दिपायल सिलगढी नगरपालिका–२ चासीमा पनि विद्युत् अवरुद्ध हुने उल्लेख छ ।
तर, पनेरुले भने गलत टाइपिङ हुँदा उक्त विषय समेटिएको भए पनि आदर्श र सायल गाउँपालिकामा मात्रै विद्युत् लाइन काटिएको जानकारी गराए ।
‘विद्युत् आदर्श र साहेल गाउँपालिकामा मात्रै विद्युत् अवरुद्ध हुने हो । सूचनामा लेखिएको त्यो मिस्टेकले भएको हो,’ पनेरुले भने ।
यसअघि अत्यधिक गर्मी र सिँचाइ ग्राहकको लोड बढेको भन्दै चितवनको चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङ हुने तालिका नै सार्वजनिक गरेको थियो ।
चर्को आलोचनापछि उक्त सूचना नै हटाइएको थियो ।
निर्माण कार्यको समय अवधिमा स्थानीय तथा सरोकारवालालाई पूर्वजानकारीका लागि अनुरोध गरिएको प्राधिकरणले जारी सूचनामा उल्लेख छ ।
यस्तो छ सूचना :
प्रतिक्रिया 4