Comments Add Comment
कोरोनाबाट आक्रान्त सुदूरपश्चिम :

१६ दिनमै १२ हजार ९५८ संक्रमित थपिए, २४५ जनाको मृत्यु

सुदूरपश्चिमको प्रमुख शहर धनगढी

१ जेठ, धनगढी । वैशाख दोस्रो सातासम्म सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका संक्रमितको संख्या १५ हजार ४७५ थियो । प्रदेश स्वास्थ्य निर्देशनालयले वैशाख १५ गते सार्वजनिक गरेको तथ्यांकमा संक्रमित त्यति हुँदा ७२ जनाको मृत्यु भएको छ ।

जसमा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना पुष्टि भएका ६६ र एन्टिजेन परीक्षण गरिएका ६ जनाको मृत्यु भएको उल्लेख छ । यो पहिलो संक्रमित व्यक्ति फेला परेको गत वर्षको चैत १४ गतेदेखि हालसम्मको तथ्यांक हो । छिमेकी मुलुक भारतमा दोस्रो लहरको कोरोना भाइरस फैलिएसँगै गत चैत १२ देखि १४ गतेसम्म भारतबाटै फर्किएका तीन जनामा नयाँ भेरियन्ट पत्ता लागेको थियो । त्यसयता प्रदेशमा दोस्रो लहरको कोरोना भाइरसको संक्रमण फैलिन थालेको थियो ।

अहिले सुदूरपश्चिम प्रदेशमा दैनिक संक्रमण वृद्धि हुँदै गएको छ । विगत १५ दिनमा सुदूरपश्चिममा अघिल्लो एक वर्षकै तुलनामा संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार वैशाख १५ गतेसम्म १५ हजार ४७५ जना संक्रमित रहेकोमा शुक्रबार त्यो संख्या बढेर २८ हजार ४४३ पुगेको छ । यो तथ्यांकलाई हेर्दा बितेको १६ दिनमा सुदूरपश्चिममा १२ हजार ९५८ जना संक्रमित थपिएका छन् । प्रदेशमा सबैभन्दा धेरै एकैदिन वैशाख २६ गते १ हजार ६७ जनामा संक्रमण पुष्टि भएको थियो ।

वैशाख १६ देखि ३१ गतेसम्म कुन दिन कति संक्रमित थपिए ?

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कैलाली, कञ्चनपुरसहित प्रदेशका सबै जिल्लामा अहिले निषेधाज्ञा लागू गरिएको छ । कैलाली र कञ्चनपुरमा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएकोमा अन्य जिल्लामा स्थानीय प्रशासनले त्यसपछि क्रमशः निषेधाज्ञा लगाएका थिए । तर निषेधाज्ञाकै बेला यहाँ संक्रमण तीव्र बनेको छ ।

स्वास्थ्य निर्देशनालयकाअनुसार वैशाख १६ गते ९ वटै जिल्लामा २४६ जनामा संक्रमण पुष्टि भएको थियो । वैशाख १७ गते १९१ जना, वैशाख १८ गते ४३३ जना, वैशाख १९ गते ४७४ जना, वैशाख २० गते ३४३ जना, वैशाख २१ गते ६९९ जना, वैशाख २२ गते ३८५ जना, वैशाख २३ गते ७८५ जना तथा वैशाख २४ गते ७५७ जना कोरोना संक्रमित थपिएका छन् ।

कैलाली र कञ्चनपुरमा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएकोमा अन्य जिल्लामा स्थानीय प्रशासनले त्यसपछि क्रमशः निषेधाज्ञा लगाएका थिए । तर निषेधाज्ञाकै बेला यहाँ संक्रमण तीव्र बनेको छ ।

यस्तै, वैशाख २५ गते ७५६ जना, वैशाख २६ गते सबैभन्दा धेरै १ हजार ६७ जना, वैशाख २७ गते ६८९ जना, वैशाख २८ गते ८१८ जना, वैशाख २९ गते ८५७ जना, वैशाख ३० गते ८१० जना र वैशाख ३१ गते ९६४ जनामा संक्रमण पुष्टि भएको छ ।

१६ दिनमै मृत्युदर साढे तीन गुणाले बढ्यो, औसतमा दैनिक १५ जनाले ज्यान गुमाउँछन्

संक्रमित थपिंदै गएको सुदूरपश्चिममा मृत्युदर पनि ह्वात्तै बढेको छ । गत वर्षको चैत १४ देखि वैशाख १५ गतेसम्म कोरोना भाइरसको संक्रमणबाट ७२ जनाको मृत्यु भएकोमा बितेको १६ दिनमै मृत्युदर त्यसको साढे ३ गुणाले वृद्धि भएको छ । शुक्रबारसम्म प्रदेशभर कोरोना भाइरसको संक्रमणबाट ३१७ जनाको मृत्यु भएको छ । जसमा पछिल्लो १६ दिनमा मात्र २४५ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैभन्दा धेरै गत वैशाख २८ गते ३१ जना संक्रमितको मृत्यु भएको थियो । यो तथ्यांकलाई हेर्दा सुदूरपश्चिममा दैनिक औसतमा कम्तीमा पनि १५ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइरहेका छन् ।

वैशाख १६ गते १२ जना, वैशाख १७ गते ४ जना, वैशाख १८ गते १० जना, वैशाख १९ गते १२ जना, वैशाख २० गते १४ जना, वैशाख २१ गते ८ जना, वैशाख २२ गते ११ जना, वैशाख २३ गते १७ जना, वैशाख २४ गते १३ जना, वैशाख २५ गते १५ जना संक्रमितको मृत्यु भएको तथ्यांक स्वास्थ्य निर्देशनालयको रहेको छ । यस्तै वैशाख २६ गते १८ जना, वैशाख २७ गते १७ जना, वैशाख २९ गते १४ जना, वैशाख ३० गते १७ जना र वैशाख ३१ गते ३० जनाको मृत्यु भएको छ ।

निषेधाज्ञाका लागू गरिएका बेला किन फैलिंदैछ तीव्र रुपमा संक्रमण ?

स्थानीय प्रशासनहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लागू गरिएका बेला संक्रमण तीव्र गतिमा फैलिनुमा सीमा नाका प्रमुख कारक भएको चिकित्सकहरुले बताएका छन् । सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख समेत रहेका फ्याम्ली फिजिसियन डा. जगदीश जोशी सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिनुको प्रमुख कारण अव्यवस्थित सीमा नाका नै भएको बताउँछन् ।

‘पहिलो चरणको बेला पनि हामीले भारतसँग जोडिएका सीमा नाकाको राम्रोसँग व्यवस्थापन गर्न सकेनौं,’ जोशीले अनलाइनखबरसँग भने, ‘अहिले दोस्रो चरणमा पनि पुरानै गल्ती दोहोरिएपछि संक्रमण नियन्त्रण बाहिर जान पुग्यो ।’ उनले भारतबाट फर्किनेहरुलाई होल्डिङ सेन्टरमा राख्दै अनिवार्य स्वास्थ्य परीक्षण गरी संक्रमितलाई छुट्याएर सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर आइसोलेसन र क्वारेन्टाइनमा व्यवस्थापन गर्नुपर्ने दायित्वबाट सम्बन्धित निकाय चुक्दा यस्तो अवस्था सिर्जना भएको सुनाए ।

पछिल्लो पटक भारतमा युके भेरियन्ट, ब्राजिलियन भेरियन्ट लगायतका विभिन्न प्रकारका भाइरसहरु देखिएकाले सुदूरपश्चिममा पनि सोही खालको संक्रमण धेरै फैलिसकेको उनी बताउँछन् । ‘अहिले भारतबाट भित्रिएको भाइरस निकै शक्तिशाली छ । त्यहाँ विभिन्न प्रजातिका भाइरस देखा परेका छन्,’ जोशीले भने, ‘भाइरस आफंैमा शक्तिशाली भएकाले फैलावट पनि तीव्र बनेको छ ।’

अक्सिजन अभाव र अन्तिम अवस्थामा अस्पताल ल्याउँदा मृत्युदर बढ्यो

कोरोना भाइरसबाट संक्रमित भएर ज्यान गुमाउनेको संख्यामा बृद्धि हुनुमा मुख्य दुईवटा समस्या रहेको डा. जोशी सुनाउँछन् । सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्ड इन्चार्ज समेत रहेको जोशीले कोरोनाले सबैभन्दा धेरै फोक्सोमा आक्रमण गर्ने गरेको भन्दै अहिले मानिस अन्तिम अवस्थामा मात्र अस्पताल आउँदा मृत्युदर ह्वात्तै बढेको बताए ।

‘संक्रमण पत्ता लागेपछि सुरुको अवस्थामा संक्रमित चिकित्सकको निगरानीमा भए जटिल अवस्था आउँदैन,’ डा. जोशीले भने, ‘तर अहिले मानिस निमोनियाले अवस्था जटिल भइसकेपछि मात्र अस्पताल आउने क्रम बढेको छ । यस्तो बेला अक्सिजनको समेत अभाव छ । त्यसैले मृत्युदर बढ्दै गएको छ ।’ उनले होम आइसोलेसनमा बसेका संक्रमितहरुका बारेमा कुनै पनि निकायले चासो नराख्दा समस्या झनै बढेको बताए । अहिलेको अवस्थामा स्वास्थ्य संकटकाल घोषणा गरेर संक्रमितको उपचार गर्नुको विकल्प नभएको समेत उनको भनाइ छ ।

भारतबाट फर्किएकाहरुबारे स्थानीय तह बेखबर

चिकित्सकहरुले भारतबाट स्वदेश फर्किएकाहरुको उचित व्यवस्थापन गर्न नसकेकै कारण कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको बताइरहँदा यहाँका स्थानीय तह भने आफ्ना नागरिकबारे बेखबर देखिएका छन् । प्रदेशमै सबैभन्दा धेरै कोरोना संक्रमित रहेको कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले कोरोना संक्रमितहरुलाई कनरीमा स्थापना गरिएको आइसोलेसनमा व्यवस्थापन गरिंदै आएको भएपनि अन्यको व्यवस्थापन अनिवार्य नभएको दाबी गरे ।

‘हामीले कनरीमा करिब डेढ सय जना अटाउने क्षमताको आइसोलेसन स्थापना गरेका छौं,’ चन्दले अनलाइनखबरसँग भने, ‘त्यहाँ संक्रमितलाई राख्दै आएका छौं । तर भारतबाट फर्किने अन्यलाई आइसोलेसन वा क्वारेन्टिनमा राख्ने कुरा अहिले अनिवार्य गरिएको छैन ।’

तर जिल्ला प्रशासन कार्यालय कैलालीले भने आइसोलेसन र क्वारेन्टिन स्थापना गरेर भारतबाट फर्किनेहरुको उचित व्यवस्थापन गर्ने काम स्थानीय तहहरुकै भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment