
News Summary
Generated by OK AI. Editorially reviewed.- सविन ज्ञवालीलाई अष्ट्रेलियाको न्यू साउथ वेल्स सरकारले उदीयमान फिल्मकर्मीको रुपमा चयन गरेको छ।
- उनले यस पुरस्कारसँगै ३५ हजार अस्ट्रेलियाली डलर प्राप्त गरेका छन् र यसले उनलाई फिल्म क्षेत्रमा थप सक्रियता र अवसरहरू प्रदान गरेको छ।
- ज्ञवाली नेपाली र विदेशी भाषाका फिल्महरूमा काम गरिरहेका छन् र उनले नेपाली फिल्म ‘दोख’ का निर्माता समेत हुन्।
सिड्नी । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सरकारले नेपाली फिल्म निर्माता सविन ज्ञवालीलाई उदीयमान फिल्मकर्मीको रुपमा चयन गरेको छ ।
त्यहाँको स्क्रिन बोर्डको वेबसाइटअनुसार सन् २०२५ को ‘इमर्जिङ प्रड्युसर प्लेसमेन्ट प्रोग्राम’मा सविनसहित दुई अस्ट्रेलियाली फिल्ममेकरहरू अलेक्जेन्डर पेटरस र फ्रान्सिस्का व्रेथवेट उदीयमान फिल्मकर्मी घोषित भएका छन् ।
उपाधिसँगै ज्ञवालीले ३५ हजार अस्ट्रेलियाली डलर प्राप्त गरेका छन् । सिड्नीजस्तो प्रमुख सहर रहेको न्यू साउथ वेल्स राज्यमा बसोबास गर्दै आएका युवा फिल्ममेकरलाई स्क्रिन बोर्डले वर्षेनी पुरस्कृत गर्ने गर्छ ।
सम्बन्धित मेकरले फिल्म क्षेत्रमा पुर्याएको योगदानको मूल्यांकन गरेर यो पुरस्कार प्रदान गरिन्छ । ‘यो सम्मानले मलाई काममा सक्रियतापूर्वक लाग्न ऊर्जा दिएको छ’ ज्ञवालीले अनलाइनखबरसँग भने ।
डेढ दशकदेखी सिड्नीमा बस्दै आएका ज्ञवाली नेपाली र विदेशी भाषाका फिल्ममा सक्रिय छन् । उनी नेपाली फिल्म ‘दोख’का निर्माता हुन भने अष्ट्रेलियामा नै छायांकन गरिएका नेपाली फिल्म ऋतु, द ब्रेकअप, विनर, लप्पनछप्पन २ को लाइन प्रोड्युसर पनि हुन ।
यसबाहेक उनले अष्ट्रेलियामा छायांकन भएका चिनियाँ, अंग्रेजी र भारतीय फिल्ममा पनि काम गरेका छन् । अ लाईन रिटर्न्स र राइज लगायतका अस्ट्रेलियाली फिल्ममा पनि काम गरेका छन् ।
यो उपाधी हात पारेसँगै ज्ञवालीले राज्य अन्तर्गत रहेको स्क्रिन बोर्डसँग आबद्ध रहेर फिल्म निर्माण, वितरण, प्रदर्शन र निर्देशन विधामा काम गर्ने अवसर पाएका छन् ।
प्रतिक्रिया 4