
News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षक भोजराज भट्टराईले आफूसँग घुस माग्ने शाखा अधिकृत धनेश्वर प्रसाईंकै पक्षमा बयान दिएका छन्।
- भट्टराईले विशेष अदालतमा आफ्नो बयान परिवर्तन गरी प्रसाईं घुस नलिएको बताएका छन्।
- अदालतबाट दोषी ठहर भएमा शिक्षक भट्टराईमाथि कैद र जरिवाना त हुनेछ नै, जिन्दगीभर पढाएर पाएको पेन्सन समेत खोसिन सक्नेछ ।
३० वैशाख, काठमाडौं । दुई पटकसम्म घुससहित रंगेहात पक्राउ परेको एउटा कर्मचारीको मनोबल कतिसम्म गिर्छ होला ? ‘अब जोगिन सकिँदैन’ भनेर हरेस खाइसकेको हुनुपर्ने हो । तर शिक्षक किताबखानाबाट ३ लाख घुससहित पक्राउ परेका शाखा अधिकृत धनेश्वर प्रसाईं यो मामिलामा जब्बर भेटिए ।
४ महिनाअघि दोस्रो पटक घुससहित पक्राउ परेका प्रसाईंले आफूलाई घुस बुझाउन बाध्य भएका शिक्षकलाई नै प्रलोभनमा पारे र बयान उल्ट्याउन लगाएर भ्रष्टाचार मुद्दामा नै फसाइदिए ।
सहजै हुने काममा अल्मल्याएपछि दिग्दार बनेका संखुवासभाका शिक्षक भोजराज भट्टराईले अख्तियारमा उजुरी दिएर शाखा अधिकृत प्रसाईं लगायत तीन जनालाई घुससहित पक्राउ गराएका थिए । अख्तियारले साक्षी बनाएर विशेष अदालतमा पुगेका तिनै शिक्षक भट्टराई प्रलोभनमा परेर उल्टो बकपत्र गरे ।
उल्टो बकपत्र गरेको आरोपमा शिक्षक भट्टराईविरुद्ध समेत अख्तियारले मुद्दा चलायो । पेन्सन पकाएर घर बसेका शिक्षक भट्टराई आरोपितहरूलाई जोगाउँदा उल्टै भ्रष्टाचार मुद्दामा फसेका छन् । आरोप प्रमाणित भए उनको पेन्सनपट्टा समेत खोसिन्छ ।
पेन्सनपट्टा बनाउँदाको सास्ती
संखुवासभाका शिक्षक भोजराज भट्टराई आफ्नो पेन्सनपट्टा बनाउन पुस, २०८१ मा शिक्षक किताबखाना, ताहाचल पुगे । मागेको कागजात बुझाएपछि काम बन्नुपर्नेमा शाखा अधिकृत धनेश्वर प्रसाईंले कहिले के कागजात पुगेन, कहिले के मिलेन भनेर हैरानी दिइरहेका थिए ।
शिक्षक भट्टराईका अनुसार, उनी प्रधानाध्यापकबाट अवकाश भएपछि व्यवस्थापन समितिले उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा हाल्यो, मुद्दा चलुन्जेल उनले पेन्सनपट्टा बनाएका थिएनन् ।
अदालतबाट दोषी ठहर भएमा शिक्षक भट्टराईमाथि कैद र जरिवाना त हुनेछ नै, जिन्दगीभर पढाएर पाएको पेन्सन समेत खोसिन सक्नेछ ।
शिक्षक भट्टराईले त्यो मुद्दा जिते । त्यतिबेला देशभर कोरोना संक्रमण उत्कर्षमा थियो, उनले पट्टा बनाउन हतार गरेनन् । अहिले मात्रै उनी पेन्सनपट्टा बनाउन काठमाडौं आएका थिए ।
शिक्षक भट्टराईले गत पुसमा अनलाइनखबरसँग भनेका थिए, ‘किन ढिलो पेन्सनपट्टा बनाउन खोजेको भन्दै अल्मल्याइरहे । कहिले यो त कहिले अर्को कागजात पुगेन भनेर दुःख दिए । अनि अख्तियारमा उजुरी दिएको थिएँ ।’
शाखा अधिकृत प्रसाईंसँग मिलेमतो गरेका बिचौलिया सुदर्शन न्यौपानेले पैसा दिएमा आफूले काम मिलाइदिने भनी शिक्षक भट्टराईलाई आश्वासन दिएका थिए ।
अख्तियारले बिचौलिया भनेर आरोपपत्रमा नाम उल्लेख गरेका सुदर्शन न्यौपाने ताहाचलस्थित शिक्षक किताबखानामा दिनभर घुमफिर गरिरहने व्यक्ति थिए । उनकी पत्नी भवानी अधिकारी त्यही किताबखानामै कार्यालय सहयोगी थिइन् ।
घुस माग्ने क्रममा शिक्षक किताबखानामा पहिले क्यान्टिन सञ्चालन गरिरहेका सुदर्शन न्यौपाने र किताबखानामै कार्यालय सहयोगीको रूपमा कार्यरत भवानी अधिकारीले ‘डिल’ गरिरहेका थिए । भिडियो फुटेज र केही अडियो अख्तियारमा पेस भएको थियो ।
३ लाख रुपैयाँ घुस खाएको आरोपमा शाखा अधिकृत प्रसाईं, बिचौलियाको भूमिका खेलेका सुदर्शन न्यौपाने र कार्यालय सहयोगी रहेकी भवानी अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा चलेको थियो ।
प्रलोभनमा परेपछि…
भ्रष्टाचारसम्बन्धी कानुनमा घुस लिने र दिने दुवैलाई सजाय हुने व्यवस्था छ । तर आफूलाई सरकारी कर्मचारी वा पदाधिकारीले घुस मागेको भनी उजुरी दिने व्यक्तिलाई अख्तियारले पैसा बुझाउन अनुमति दिन्छ ।
अनि, उसलाई सरकारी साक्षीको रूपमा प्रस्तुत गर्छ, तर मुद्दा दायर गर्दैन ।
मुद्दामा सहुलियत पाएवापत उसले विशेष अदालतमा अख्तियारको साक्षीको रूपमा बकपत्र गर्दा आफूले घुस बुझाएको र आरोपितहरूले घुस मागेको विवरण खुलाउनुपर्छ ।
त्यही प्रक्रियाअनुसार संखुवासभाका शिक्षक भोजराज भट्टराई विशेष अदालतमा उपस्थित भए ।
अख्तियारमा गरेको बयानअनुसार उनले विशेष अदालतमा ‘आफूसँग सुदर्शन न्यौपाने र भवानी अधिकारीले घुस मागेका थिए र मैले उनीहरूलाई रकम बुझाएको हुँ’ भनी बकपत्र (अदालतमा गएर साक्षीको रूपमा आफ्नो भनाइ राख्ने काम) गर्नुपर्ने थियो ।
अख्तियार स्रोतका अनुसार, दुई पटक रंगेहात पक्राउ परिसकेका शाखा अधिकृत धनेश्वर प्रसाईंले यो बीचमा पनि चलखेल गर्ने उपाय देखे ।
ती शिक्षक भोजराज भट्टराईले विशेष अदालतमा गएर बिचौलिया सुदर्शन न्यौपाने र कार्यालय सहयोगी भवानी अधिकारीले मसँग घुस मागेका थिएनन्’ भनेर बयान गरेमा मुद्दा कमजोर हुन्थ्यो । बिचौलिया प्रयोग गरेर घुस लिएका अधिकृत प्रसाईं त झनै जोगिने सम्भावना रहन्थ्यो ।
‘आफूले दुःख दिएका शिक्षक भोजराज भट्टराईलाई हारगुहार गरेर शाखा अधिकृत प्रसाईंले प्रभावित पारेको देखियो । पेन्सनपट्टा बनाइसकेका ती शिक्षक बहकाउमा परे,’ अख्तियार स्रोतले भन्यो, ‘उनले विशेष अदालतमा गएर मसँग कविता अधिकारीले घुस मागेकी नै थिइनन् भनी बकपत्र गरे ।’
बिचौलियाको भूमिकामा रहेका सुदर्शन न्यौपाने र उनकी पत्नी एवं कार्यालय सहयोगी भवानी अधिकारीले घुस मागेर हैरान पारेको भनी शिक्षक भोजराज भट्टराईले अख्तियारमा उजुरी दिएका थिए । शाखा अधिकृत प्रसाईंसहित ३ जना घुससहित पक्राउ परेपछि शिक्षक भट्टराईले अख्तियारमा गई ‘उनीहरूले आफूसँग घुस मागेको’ भनी बयान पनि गरेका थिए ।
तर, विशेष अदालतमा पुग्दा उनी बदलिए । शिक्षक भट्टराईले विशेष अदालतमा आफूसँग कसैले घुस नमागेको भनी बोली फेरे । उनले बकपत्रमा भनेका छन्, ‘(कार्यालय सहायक) भवानी अधिकारीले मसँग काम गरिदिन्छु वा गराइदिन्छु भनी कुनै रकम माग गरेको देखिँदैन । कार्यालय सहयोगी पदमा रहेर कुनै कागजातमा हस्ताक्षर गर्ने वा श्रेष्ता प्रमाणित गर्ने अधिकारसमेत नभएको कारणले निजलाई सफाइ दिँदा मेरो मञ्जुर छ ।’
सुदर्शन न्यौपानेको तारतम्यमा शिक्षक भट्टराईसँग फोनमा घुस माग्ने काममा कार्यालय सहयोगी भावनी अधिकारी संलग्न रहेको अख्तियारको आरोप थियो । तर विशेष अदालतमा उल्टो बकपत्र गरेपछि मुद्दा स्वतः कमजोर हुने भयो । त्यहीँबाट आफूले दोस्रो पटक सफाइ पाउने आश देखेका शाखा अधिकृत प्रसाईंले ती शिक्षकलाई प्रभावित पारेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
गत फागुनमा अदालतमा उल्टो बकपत्र गरेको खबर अख्तियारले थाहा पायो । अख्तियारले विशेष अदालतबाट बकपत्रको प्रमाणित प्रति नै मगायो । अनि उल्टो बकपत्र गर्ने तिनै शिक्षक भोजराज भट्टराईसँग बयान लियो ।
उनले अख्तियारमा ‘भवानीको अधिकारीको हकमा मैले बकपत्र गर्दा भुलवश कानुनी भाषा वा शब्दहरू चयन नभई छुट भएको’ भनी बयान दिए । अख्तियारले उनको बयानमा चित्त बुझाएन । ‘प्रतिकूल बकपत्र गरेको’ आरोपमा शिक्षक भट्टराईलाई पनि फन्दामा पार्यो । शिक्षक किताबखानाका कर्मचारीहरूलाई घुस खुवाएको आरोपमा अख्तियारले उनीविरुद्ध १९ चैत, २०८१ मा विशेष अदालतमा मुद्दा दायर गर्यो ।
पेन्सनपट्टा बनाउन खोज्दा किताबखानाका कर्मचारीहरूले घुस मागेपछि आक्रोशित शिक्षक भट्टराईले अख्तियारमा उजुरी गरे । रंगेहात पक्राउ परेका कर्मचारीहरूविरुद्ध मुद्दा दायर गर्न भूमिका खेलेका शिक्षक भट्टराई विशेष अदालतमा उल्टो बकपत्र गरेकाले उल्टै भ्रष्टाचारको फन्दामा परे ।
अदालतबाट दोषी ठहर भएमा उनीमाथि कैद र जरिवाना त हुनेछ नै, जिन्दगीभर पढाएर पाएको पेन्सन समेत खोसिन सक्नेछ । पेन्सनका लागि अख्तियारलाई खबर गरेर घुस बुझाएका उनी प्रतिकूल बकपत्र (बयान फेरेका)का कारण पेन्सनै खोसिने जोखिममा परेका छन् ।
प्रतिक्रिया 4