
News Summary
Generated by OK AI. Editorially reviewed.- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीको हुम्लामा उत्पादन भएको चिनो चामल खरिद गरी प्रतिकिलो २ सय ६० रुपैयाँमा बिक्री गर्दै आएको छ ।
- अहिले उपत्यकामा चिनो चामलको माग बढ्दै गएको छ । तर, उत्पादन कम हुने हुँदा माग अनुसार आपूर्ति गर्न भने कठिन छ ।
- कर्णालीमा झन्डै १९ हजार १ सय ४४ हेक्टरमा मात्र रैथाने बाली उत्पादन हुन्छ । त्यसमा पनि चिनो २ सय हेक्टरमा मात्र खेती हुन्छ । उक्त क्षेत्रफलमा वार्षिक २ सय ४० टन चिनो उत्पादन हुने गर्छ ।
३१ वैशाख, काठमाडौं । संघीय राजधानी काठमाडौं बुद्धनगरकी मनकुमारी कार्की तीन वर्षदेखि सुगर (मधुमेह) रोगले पीडित छिन् । सुगर लागेपछि उनले आफूलाई मन पर्ने खानेकुरा पेट भरेर खान पाएकी छैनन् ।
अहिले कुन खानेकुरा खाँदा सुगर लेभल बढ्दैन, सोही खानेकुरा मात्रै खाने गरेको उनले सुनाइन् । स्वास्थ्यलाई फाइदा हुने र आफ्नो रोगलाई पनि असर नपर्ने भएपछि कार्की अहिले ‘चिनो’ चामलको भात खाने गरेकी छिन् ।
‘डाक्टरले चामलको भातभन्दा चिनो चामलको भात खान सुझाव दिएपछि मैले दुई वर्षदेखि यही खाइरहेकी छु,’ उनले सुनाइन्, ‘महँगो पर्ने भए पनि स्वास्थ्य ठिक हुन्छ भनेपछि चिनो खाइरहेकी छु । मेरो सुगर लेभललाई ठिक ठाउँमा राख्न मद्दत गरिरहेको छ ।’
अहिले किराना पसलमा पनि किन्न पाइने भएपछि नजिकैको स्टोरबाट लैजाने गरेको र चिनो चामल १ किलोको ४ सय रुपैयाँसम्म तिर्ने गरेको उनले सुनाइन् ।
कार्कीले चिनोको भातभन्दा पनि खिर मिठो हुने सुनाइन् । ‘मलाई अहिले जसरी पकाए पनि मिठै लाग्छ, स्वास्थ्यका लागि पनि राम्रो हुन्छ भन्ने भएकाले हो कि ! महिनामा मैले ५–७ किलो खपत गर्छु,’ उनले सुनाइन् ।
अनामनगर बस्ने रमिला श्रेष्ठले भने धेरै पटक बजार जाँदा र साथीभाइले बेलाबेला ‘चिनो चामलको भात गजब मिठो हुँदो रहेछ, स्वास्थ्यलाई पनि फाइदा हुने रहेछ’ भनेको सुनेपछि घरसँगैको एउटा मार्टमा चिनो चामल खरिद गर्न आएको बताइन् ।
‘धेरै जनाले चिनो चामलको भात साह्रै मिठो हुन्छ भनेपछि एक पटक खाइहेरौं न त कस्तो रहेछ भनेर किन्न आएकी,’ श्रेष्ठले भनिन्, ‘आज चाख्नका लागिमात्र १ किलो किनेँ । घरका मान्छेलाई पनि मन पर्यो भने भोलि थप किन्न आउँछु ।’
उनले एक किलो चिनो ३ सय ५० रुपैयाँमा किनिन् । अन्य चामलको दाँजोमा महँगो भए पनि स्वास्थ्यलाई फाइदा पनि गर्छ भन्ने भएपछि महँगै भए पनि किनेको उनले बताइन् ।
‘स्वास्थ्यलाई फाइदा गर्छ भने त महँगो भए पनि खानुपर्छ,’ उनले भनिन्, ‘फेरि दुर्गम कर्णालीमा फल्ने चिज रहेछ, त्यसपछि त झन् किन्न मन लाग्यो ।’
कर्णालीको लोपोन्मुख खाद्यबाली चिनो
कर्णालीका विभिन्न जिल्लामा फल्ने लोपोन्मुख खाद्यबाली चिनो अहिले ब्रान्डिङ र प्याकेजिङ गरेर महँगो मूल्यमा बिक्री भइरहेको छ ।

पहिला अनिकालमा छाक टार्ने खाद्यबालीका रूपमा परिचित चिनो चामल अहिले भने धेरैजसोको भान्सामा पाक्न थालेको छ ।
केही समय पहिले चिनोको भात मन नपराउनेले ‘औषधि हुन्छ’ भन्ने थाहा पाएपछि खोजीखोजी पनि खान थालेका छन् ।
बुद्धनगरमा देवी किराना स्टोर सञ्चालन गर्दै आएका देवी पाण्डे पछिल्लो समय चिनो चामलको माग अत्यधिक बढ्दै गएको बताउँछन् ।
आफ्नो पसलमा चिनो चामलको उपभोक्ता संख्या बढ्दै गएपछि उनले कर्णालीबाट नै चिनो संकलन गर्ने संकलनकर्ताबाट मगाएर बेच्न थालेको सुनाए ।
‘अहिले चिनो चामलले स्वास्थ्यलाई फाइदा गर्छ रे भन्दै किन आउने उपभोक्ताको संख्या बढ्दो छ,’ उनले अनलाइनखबरसँग भने, ‘उपभोक्ताको माग मध्यनजर गरेर मैले मगाउने गरेको छु । महिनामा १५–२० किलो बिक्री हुन्छ । मैले बेच्ने चिनो चामलको मूल्य किलोको ३ सय ७५ रुपैयाँ छ ।’
उनका अनुसार अहिले धेरैजसो सुगर र उच्च रक्तचापका बिरामी चिनो चामलको खोजीमा आउँछन् ।
सरकार पनि बेचिरहेको छ चिनो
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा कर्णाली प्रदेशका रैथाने बाली संरक्षण गर्ने घोषणा गरेको थियो ।
सरकारको सोही नीति अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीमा उत्पादन भएको चिनो चामल खरिद गरी बेच्दै आएको छ ।
खाद्य कम्पनीले हुम्लाको चिनो चामल प्रतिकिलो २ सय ६० रुपैयाँमा बिक्री गर्दै आएको छ ।
माग अनुसार चिनो आपूर्ति गर्न कठिन : व्यवसायी
ललितपुर एकान्तकुनामा कर्णालीका उद्यमीहरूको पहलमा सञ्चालन भएको ‘कर्नाली मार्ट’ ले कर्णालीमा उत्पादन भएको अर्गानिक खाद्यवस्तु आफ्नै लेबलिङ र ब्रान्डिङमा बिक्री गर्दै आएको छ ।
कर्नाली मार्टमा पनि चिनो चामल बिक्री गरिँदै आएको मार्ट सञ्चालक दीपक बुढा बताउँछन् । उनका अनुसार अहिले उपत्यकामा चिनो चामलको माग बढ्दै गएको छ । तर, उत्पादन कम हुने हुँदा माग अनुसार आपूर्ति गर्न भने कठिन छ ।
कर्णाली मार्टमा चिनो चामल १ किलोको मूल्य ३ सय ५० रुपैयाँ तोकिएको छ ।
‘कर्णालीका किसानहरूले उत्पादन गरेको चिनो चामल हामीले ब्रान्डिङ गरेर बिक्री गरिरहेका छौं, हाम्रो अभियान कर्णालीको मौलिक स्वादलाई उपभोक्ताको घरघरमा पुर्याउने हो,’ मार्ट सञ्चालक बुढाले अनलाइनखबरसँग भने, ‘अहिले पनि चिनो चामलको दैनिक माग २० देखि ३० किलोसम्म रहेको छ । तर, उत्पादन कम हुने हुँदा हामीले माग अनुसारको व्यवस्था गर्न सकेका छैनौं ।’
अहिले प्रत्येक पसल र मार्टमा ‘कर्णालीको अर्गानिक खाद्यवस्तु’ भन्दै लेबलिङ र ब्रान्डिङ गरेर बेच्न राखिएको देख्न सकिन्छ । अर्गार्निक र रैथाने भन्दै ब्रान्डिङ गरिएका खाद्यवस्तु साँच्चै अर्गानिक छन् त भन्ने प्रश्न पनि बेलाबेला उठिरहन्छ ।
काठमाडौंमै मागेजति पाउने गरी कर्णालीमा उत्पादन भएको चिनो चामल, सिमीजस्ता खाद्यान्न कर्णालीकै हो त ? भन्ने प्रश्न पनि छ । यी रैथाने उत्पादनको तथ्यांक हेर्दा कर्णालीको खाद्यवस्तु यति ठूलो बजारमा खोजे जति पाउने गरी उत्पादन भएको मान्न नसकिने सम्बद्ध व्यवसायी बताउँछन् ।
कहाँ उत्पादन हुन्छ चिनो चामल ?
नेपालको उच्च पहाडी क्षेत्रमा चिनो बालीको खेती हुँदै आएको पाइन्छ । विशेषगरी कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा खाद्यान्न बालीका रूपमा चिनो खेती गरिँदै आएको छ ।
कर्णाली क्षेत्रका जिल्लाबाहेक, ओखलढुंगा, धादिङ, बाजुरा र बझाङमा पनि चिनो खेती गरिने रैथाने बाली विज्ञहरू बताउँछन् । तर, खेती गर्ने हो भने पहाडी भेगका सबै भू–भागमा उत्पादन हुने उनीहरूको भनाइ छ । रुखो जमिनमा पनि खेती गर्न सकिने यो बाली लगाएको करिब ९० देखि १ सय दिनको छोटो समयमा नै उत्पादन लिन सकिन्छ ।
नेपालमा खेती गरिने चिनोका विभिन्न जातमा कप्ताडे, हाडे, कालो, दूधे, रातो चिनो आदि छन् । नेपालमा चिनोको सरदर उत्पादन प्रतिहेक्टर ८ सय १८ किलो रहेको अध्ययनहरूले देखाएका छन् ।
कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार कर्णालीमा झन्डै १९ हजार १ सय ४४ हेक्टरमा मात्र रैथाने बाली उत्पादन हुन्छ ।
त्यसमा पनि चिनो २ सय हेक्टरमा मात्र खेती हुन्छ । उक्त क्षेत्रफलमा वार्षिक २ सय ४० टन चिनो उत्पादन भएको तथ्यांकमा उल्लेख छ ।
चिनो बाली प्रवर्द्धन गर्दैछौं : कृषि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ महानन्द जोशी उच्च हिमाली र पहाडका सबै भेगमा चिनोबाली खेती गर्न सकिने बताउँछन् ।

उनका अनुसार सरकारले रैथाने बाली प्रवर्द्धन कार्यक्रम मार्फत कोदो, फापर, चिनो लगायत बालीलाई प्रवर्द्धन गर्न खोजिरहेको छ । यसमा संघ, प्रदेश र स्थानीय तह सबैले राम्रो भूमिका खेलेका छन् ।
‘पछिल्लो समय विभिन्न रोगब्याधी तथा पोषणको महत्त्वका कारण रैथाने बालीको माग बढेको छ,’ मन्त्रालयका सूचना अधिकारी समेत रहेका जोशीले भने, ‘चिनोमा पौष्टिक तत्व उच्च हुने हुँदा यसको महत्त्व बुझेर अहिले सबैले खान थालेका छन् । र, यसको माग पनि बढेको देखिन्छ ।’
सूचना अधिकारी जोशी पछिल्लो ५–६ वर्षदेखि कृषि विभाग अन्तर्गतको बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रले रैथाने बाली प्रवर्द्धन कार्यक्रम भनेर स्थानीय तह र प्रदेशमा ससर्त कार्यक्रम पठाउने गरेको बताउँछन् ।
उनका अनुसार बर्सेनि औसत ८० देखि १ सय वटा स्थानीय तहमा रैथाने बाली फ्रवर्द्धन कार्यक्रमका लागि सरकारले ससर्त वित्तीय हस्तान्तरण कार्यत्रम पठाउँछ । यसमा एक स्थानीय तहले १० लाखका दरले रकम पाउँछन् । तर, अहिले भने उक्त रकम घट्दै आएको उनको भनाइ छ ।
‘आर्थिक वर्ष २०७७/७८ मा रैथाने बाली संरक्षणका लागि १ सय ५ वटा स्थानीय तह र २०७८/७९ मा १ सय वटा स्थानीय तहमा कार्यक्रम पठाइएको थियो,’ उनी भन्छन्, ‘अहिले बजारमा चिनो, कोदो, फापर लगायतको माग बढेको, उत्पादनमा सहजीकरण भएको त्यही समयको मोमेन्टमले हो ।’
सरकारले रैथाने बालीलाई अनुदान दिन थालेपछि किसानको खेतीप्रति आकर्षण बढ्दै गएको र उत्पादन पनि बढेको उनी बताउँछन् ।
‘रैथाने खाद्यन्नलाई अहिले सुपरफुडका रूपमा लिइएको छ, यस विषयमा मान्छेमा जागरुकता भएपछि उत्पादन बढेको छ,’ उनी भन्छन्, ‘उत्पादन बढेको भए पनि अझै माग भने धान्न सकिरहेको अवस्था छैन ।’
विगतदेखि रैथाने बाली प्रवर्द्धनलाई प्राथमिकतामा राखेको कृषि मन्त्रालयले जनाएको छ । बर्सेनि ८० देखि १ सय स्थानीय पालिकामा अनुदान कार्यक्रम पठाउँदै आएको र आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तावमा पनि ८८ वटा स्थानीय तहलाई समेटिएको सूचना अधिकारी जोशी बताउँछन् ।
प्रतिक्रिया 4