+

आईपीएलको प्लेअफअघि घर फर्कन सक्छन् दक्षिण अफ्रिकी खेलाडी

२०८२ वैशाख  ३१ गते ७:३६ २०८२ वैशाख ३१ गते ७:३६
आईपीएलको प्लेअफअघि घर फर्कन सक्छन् दक्षिण अफ्रिकी खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण अफ्रिका क्रिकेट बोर्डले आफ्ना खेलाडीहरूलाई मे २६ मा भारतबाट फिर्ता आउन आग्रह गरेको छ र यस निर्णयलाई उच्च तहमा छलफल भइरहेको छ।
  • आईपीएल र वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनलका लागि छनोट भएका खेलाडीहरूलाई फिर्ता गर्ने योजना बनाइएको भए पनि खेलकुद तालिका र प्लेअफको कारण केही अन्योलता देखिएको छ।
  • बोर्डले फाइनल खेल्ने खेलाडीहरूलाई मे ३१ मा इंग्ल्याण्डको अरुन्डेलमा भेला हुन निर्देशन दिएको छ र आईपीएलको पुनः सुरु मिति मे १७ देखि तय गरिएको छ।

३१ वैशाख, काठमाडौं । दक्षिण अफ्रिका क्रिकेट बोर्डले आफ्ना खेलाडीहरूलाई मे २६ मा भारतबाट फिर्ता आउन आग्रह गरेको छ ।

यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) ‍मा २० जना दक्षिण अफ्रिकी खेलाडी सहभागी छन्। तीमध्ये आठ जना खेलाडीहरू इंग्ल्याण्डको लर्ड्समा जुन ११ देखि सुरु हुने वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनलको लागि टोलीमा छनोट भएका छन्।

दक्षिण अफ्रिकी टोलीका मुख्य प्रशिक्षक शुक्री कोनराडले मे १३ मा पत्रकार सम्मेलनमा भने, ‘हामीले आईपीएल र बीसीसीआईसँग प्रारम्भिक सहमति गर्दा मे २५ मा आईपीएल फाइनल सकिएपछि खेलाडीहरूलाई मे २६ मा घर फर्काउने योजना बनाइएको थियो। अहिले पनि हाम्रो पक्षबाट त्यो निर्णय यथावत् छ। त्यसबारे उच्च तहमा छलफल भइरहेको छ तर हाम्रो चाहना अनुसार खेलाडीहरू मे २६ मै फर्कुन् भन्नेमा हामी अडिग छौं।’

टेस्ट च्याम्पियनसिप फाइनलका लागि दक्षिण अफ्रिकाबाट छनोट भएका खेलाडीहरूमा कोर्बिन बोस (मुम्बई इन्डियन्स), वियान मुल्डर (सनराइजर्स हैदराबाद), मार्को यान्सेन (पञ्जाब किंग्स), एइडेन मार्करम (लखनउ सुपरजायन्ट्स), लुंगी एन्गिडी (रोयल च्यालेन्जर्स बेंगलुरु), कगिसो रबाडा (गुजरात टाइटन्स), रायन रिकेलटन (मुम्बई इन्डियन्स) र ट्रिस्टन स्टब्स (दिल्ली क्यापिटल्स) रहेका छन्।

हाल सनराइजर्स हैदराबाद (SRH) प्लेअफबाट बाहिर भइसकेकोले वियान मुल्डर मे २६ मै फर्कन सक्ने देखिन्छ। त्यस्तै, लखनउको पनि प्लेअफ पुग्ने सम्भावना न्यून रहेको हुँदा उनका खेलाडीहरू पनि निर्धारित मितिमा फिर्ता हुन सक्ने सम्भावना छ। यद्यपी लखनउको अन्तिम खेल मे २७ मा आरसीबीसँग हुने तय छ।

दक्षिण अफ्रिकाका क्रिकेट निर्देशक इनोच नक्वेले पनि उक्त विषयमा टिप्पणी गर्दै भनेका छन्, ‘बीसीसीआईसँग हाम्रो वार्ता अझै जारी छ।’

बोर्डले फाइनल खेल्ने खेलाडीहरूलाई मे ३१ मा इंग्ल्याण्डको अरुन्डेलमा भेला हुन भनेको छ। जुन ३ देखि ६ सम्म उनीहरूले जिम्बाब्वेसँग अभ्यास खेल खेल्ने छन् र त्यसपछि जुन ७ मा लन्डन जाने तालिका छ।

यसबीच, आईपीएल एक साताको लागि रोकिएको कारण लिग चरणको खेल मे २७ मा मात्रै समाप्त हुने भएको छ। नयाँ तालिका अनुसार प्लेअफ मे २९ देखि सुरु हुनेछ। यसले दक्षिण अफ्रिकी खेलाडीहरूको फिर्ती मितिमा केही अन्योलता सिर्जना गरे पनि बोर्डले आफ्नो निर्णयमा अडान लिएको छ।

टेस्ट टोलीमा नपरेका अन्य दक्षिण अफ्रिकी खेलाडीहरू पनि आईपीएलमा खेलिरहेका छन्। तीमध्ये डेवाल्ड ब्रेविस (चेन्नई सुपर किंग्स), फाफ डु प्लेसिस र डोनोभान फेरेरा (दिल्ली क्यापिटल्स), जेराल्ड कोएट्जी (गुजरात टाइटन्स), क्विन्टन डि कक र एनरिक नोर्त्जे (कोलकाता नाइट राइडर्स), डेभिड मिलर र म्याथ्यु ब्रीट्जके (लखनउ सुपर जायन्ट्स), नान्द्रे बर्गर, क्वेना माफाका र लुआन-ड्रे प्रिटोरियस (राजस्थान रोयल्स) र हेनरिच क्लासेन (सनराइजर्स हैदराबाद) रहेका छन्।

एक साताको स्थगनपछि आईपीएल मे १७ देखि पुन: सुरु हुँदैछ।

-क्रिकबजबाट

आईपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय