
१ जेठ, विराटनगर । कोरोना महामारीले आक्रान्त बनाएको भारतको नयाँ दिल्लीका अस्पतालहरुमा अक्सिजन सप्लाईमा समस्या आउँदा बिरामीले ज्यान गुमाए । महाराष्ट्रको एक अस्पतालमा अक्सिजन ट्याङ्कर आधा घण्टा लिक हुँदा २२ संक्रमितको मृत्यु भयो । विराटनगरमा पनि दिल्लीको घटना दोहोरिन सक्ने चिकित्सकले चेतावनी दिएका छन् ।
‘सरकारले बढी बेड थप भन्छ, पब्लिकको पनि प्रेसर छ, हिजो दिल्लीमा अक्सिजन सप्लाईमा डिस्टर्भ भएका समाचारहरु सुन्यौं,’ नोबेल मेडिकल कलेजका अस्पताल निर्देशक डा. राजेश नेपाल भन्छन्, ‘इलास्टिक जसरी नै सेवालाई तन्काउँदा दिल्लीको दृश्य दोहोरिने जोखिम छ ।’
८ सय बेडको नोबेल मेडिकल कलेजले दुई २२ बेडमा संक्रमितलाई राखेको छ । अहिले राखिएको संख्या अस्पतालको क्षमताभन्दा धेरै भएको उनले बताए । उनका अनुसार गम्भीर अवस्थाका संक्रमित बढेसँगै अक्सिजनको खपत पनि बढेको छ ।
‘हामीसँग ८ सय बेड भएपनि ती सबै बेडलाई पुग्ने अक्सिजन जोहो गरिएको थिएन । ६ सय बिरामी भर्ना हुँदा पनि मुस्किलले ४० जनाभन्दा बढीलाई अक्सिजन चाहिंदैन थियो,’ उनले भने, ‘तर अहिले दुई सय बिरामी भर्ना हुँदा १९८ जनालाई अक्सिजन चाहिन्छ । त्यो पनि सामान्य अवस्थाको भन्दा चार गुणा बढी ।’
अक्सिजनको माग बढ्दा धान्न मुस्किल परेको उनले बताए । ‘हाम्रो सिस्टमबाट १५० जनालाई निरन्तर अक्सिजन दिन सक्छौं । तर दुई सय वटा ठूला सिलिण्डर किनेर हाम्रो सिस्टमलाई बुष्ट गरेर उपचार गरिरहेका छौं,’ उनले भने, ‘हामीलाई डर कहाँ छ भने क्षमताभन्दा बढीको क्यापासिटीमा लगातार चलाउनुपर्छ । मेसिनरी कुरा बिग्रन सक्छ । त्यस्तो केही दुर्घटना भयो भने जोखिम हुन्छ, किनकि हामीसँग ब्याकअप छैन ।’
भएको स्रोतलाई अधिकतम प्रयोग गर्दा बढी रिस्क भएको बताउँदै उनले भने, ‘यो अवस्था नोबेलको मात्र होइन देशभरिका अस्पतालहरुको हो ।’
संक्रमितले बेड र उपचार नपाउने अवस्था आएको बताउँदै उनले प्रदेश सरकार मातहत एक सय बेडका अस्पतालमा उपचार सेवा सुरु गर्नुपर्ने बताए । अन्य प्रदेशको तुलनामा प्रदेश १ सँग स्रोत भएका कारण सबैलाई प्रयोग गर्नुपर्ने उनले बताए ।
चालु अवस्थामा रहेका अस्पतालको जोखिम कम गर्न हरेक अस्पतालहरुलाई ८० प्रतिशत क्षमतामा सञ्चालन गर्न लगाए सिस्टम ‘क्र्यास’ हुने जोखिमबाट जोगिने उनले बताए ।
अक्सिजन सिलिडर घरमा नराख्नू
कोरोना संक्रमितका लागि भन्दै अक्सिजन सिलिण्डर घरमा होल्ड गर्नेको संख्या बढ्दो छ । तर घरमा अक्सिजन सिलिण्डर होल्ड गर्दा बिरामीको ज्यान जोगिने ग्यारेन्टी नहुने डा. नेपाल बताउँछन् । ‘के कारणले अक्सिजन लेभल कम भयो भन्ने नबुझी अक्सिजन प्रयोग गर्दा असर गर्नसक्छ,’ उनले भने, ‘अक्सिजन घरमा होल्ड गर्ने होइन, समस्या भयो भने अस्पताल आइहाल्नुपर्छ, सिलिण्डर होल्ड गर्दा बिरामीले पाउँदैनन् ।’
डा. कार्की भन्छन्– स्वास्थकर्मीको मोरल बुष्टअप गर्नुपर्छ
विराट मेडिकल कलेजले २५० बेडको कोरोना अस्पताल सञ्चालन गरिरहेको छ । अस्पताल सञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्की फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनुपर्ने बताउँछन् ।

‘महामारीमा अहोरात्र खटिने डाक्टर, नर्सहरु र फ्रन्टलाइनमा काम गर्ने प्रत्येक मानिसलाई सम्मानको दृष्टिले हेरिदिनुहोस्,’ उनी भन्छन्, ‘स्वास्थ्यकर्मीहरुलाई वरिपरि देख्नुहुन्छ भने नमस्कार, धन्यवाद छ भन्दिनुहोस् । तपाईंको त्यो भनाइले उनीहरुको मोरल बुष्टअप हुन्छ ।’
परिवारबाट टाढा रहेर संक्रमितको सेवामा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन उनले आग्रह गरे । ‘यो मानव सभ्यता जोगाउने युद्ध हो । यो युद्धको सैनिक स्वास्थ्यकर्मी हो,’ उनले भने, ‘तपाईंको बुबा–आमा छोराछोरी सिकिस्त बिरामी छन् भने तपाईं जान डराउनुहुन्छ । इलाज गर्ने, साथमा हुने स्वास्थ्यकर्मी हुन् ।’
जन्म र मृत्यु ईश्वरको हातमा हुने बताउँदै उनले सेवामा खटिएका स्वास्थ्यकर्मीप्रति उच्च सम्मान व्यक्त गर्न आग्रह गरे ।
प्रतिक्रिया 4