Comments Add Comment

म्याद थप्दाथप्दै कुलेखानी तेस्रोमा २ अर्ब बढी खर्च

ठेकेदारले माग्यो १ अर्ब क्षतिपूर्ति, ३१ करोड स्वीकृत

kulekhani-final२२ जेठ, काठमाडौं । मकवानपुरको भैंसेमा निर्माणाधीन १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजना निर्माण ठेक्काको अवधि फेरि थपिएको छ । चौथोपटक म्याद थप्दासम्म आयोजनाको निर्माण नसकिएपछि आयोजनाको लागत दोब्बर हुने पक्का भएको भएको छ ।

आयोजना सन् २०११ डिसेम्बरसम्म सकिनेगरी सन् २००८ अपि्रलमा सुरु भएको थियो ।  ठेक्काको तोकिएको समय गुज्रेको पाँच वर्ष बितिसक्दा पनि काम सकिएको छैन ।

सुरुको लागत दुई अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएकोमा विविध कारणले आयोजनाको म्याद लम्बिँदा आयोजनाको लागत वृद्धि भएर चार अर्ब २२ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ ।

आयोजना सम्पन्न हुँदासम्म अब थप १३ करोड लाग्ने अनुमान  छ । यसबाट आयोजनाको लागत चार अर्ब ३५ करोड रुपैयाँ पुग्नेछ ।

अहिले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले पछिल्लोपटक आगामी पुस १५ गतेसम्म सक्ने गरी ठक्का अवधि लम्ब्याएको हो ।

आयोजनाको सिभिलतर्फको निर्माण ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोसँगको तेस्रोपटक थप भएको म्याद ०७३ बैशाख ६ गते सकिएको थियो ।

यसअघिको म्यादभित्र काम नसकिएपछि चौथोपटक म्याद थप गर्नका लागि सञ्चालक समितिलाई पत्राचार गरिएको आयोजनाले जनाएको छ ।

मुख्य काम नै बाँकी

आयोजनाले हालसम्म ९५ प्रतिशत सिभिल निर्माणको काम सकिएको दाबी गरेको छ । पावर हाउस निर्माण भइरहेको छ भने टनेल फिनिसिङ, ड्याम गेट निर्माण, पेन स्टक पाइपमा कंक्रिटिङ, स्वीच र्‍यार्ड फाउन्डेशन निर्माण लगायतका काम बाँकी रहेको आयोजना प्रमुख सुवास मिश्रले जानकारी दिए । उनका अनुसार ४ दशमलव ३ किलोमिटरको सुरुङ बनिसकेको छ ।

‘थप भएको म्यादभित्र सबै काम सक्ने लक्ष्य छ’, आयोजना प्रमुख मिश्रले भने । उनले सरकारले आर्थिक वर्ष ०७३/०७४ को बजेटमा पनि आयोजनालाई यसै वर्ष सम्पन्न गर्ने योजना ल्याएकाले काम गर्न सहज हुने बताए ।

आयोजनाको काम अन्तिम चरणमा रहेकोले प्राधिकरण सञ्चालक समितिले सबै निर्णय सरल रुपमा गर्ने मिश्रको विश्वास छ । उनले उच्चस्तरीय अनुगमन समिति गठन गरी अनुगमन गनुपर्ने पनि बताए ।

‘निर्णय प्रक्रिया तीव्र नभए एक वर्षभित्र आधारभूत रुपमा लोडसेडिङ हटाउने लक्ष्य पूरा गर्न गाह्रो पर्छ’ उनले भने-‘यसअघि म्याद थप नहुँदा आयोजनालाई निर्माण कम्पनीले गरेको कामको भुक्तानी दिन समस्या परेको थियो । अब सहज भएको छ ।’

ठेकेदारले माग्यो १ अर्ब क्षतिपूर्ति

ठेकेदार कम्पनी सिनो हाइड्रोले आयोजना अवधि लम्बिएपछि बन्द, हड्ताल, मूल्यवृद्धिलगायतको कारण देखाउँदै क्षतिपूर्ति वापत करिब एक अर्ब रुपैयाँ दाबी गरेको छ ।

तर, अहिलेसम्म कम्पनीलाई क्षतिपूर्ति दिनेबारे निर्णय भएको छैन । सिनो हाइड्रोले गरेको क्षतिपूर्ति दाबीको विषय विवाद निरुपण समितिमा पुगेको आयोजनाले जनाएको छ ।

समितिले सिनो हाइड्रोको दाबीमध्ये ३१ करोड रुपैयाँ भुक्तानी दिन उचित ठहर्‍याए पनि प्राधिकरणले हालसम्म भुक्तानी गरेको छैन । प्राधिकरणले क्षतिपूर्तिको विषयलाई मध्यस्थकर्ता -आर्बिटेशन) सम्म पुर्‍याएको जानकारी दिएको छ ।

सिनो हाइड्रोले ३१ करोड रुपैयाँ भुक्तानी दिन आयोजनालाई दबाव दिइरहेको छ । यस विषयमा प्राधिकरण सञ्चालक समितिले बेलैमा निर्णय नगर काम रोकिन सक्ने आयोजनाको भनाइ छ ।

जोड्ने सामान चीनमै !

इलेक्ट्रोमेकानिकल काम पनि अत्यन्तै ढिलो गतिमा भइरहेको आयोजनाले जनाएको छ । निर्माण ठेक्का पाएको चीनको झी झियाङ जेन लुन इलेक्ट्रोमेकानिक कम्पनी लिमिटेडले आफ्नो मुख्य प्राविधिकलाई नखटाउँदा समस्या भएको आयोजना प्रमुख मिश्रले बताए ।

तीनवटा टावर ठड्याउनेसहित टर्वाइन जेनेरेटर, कन्ट्रोल उपकरण, सञ्चार उपकरण, स्वीच र्‍यार्ड जोड्ने लगायत थुप्रै काम बाँकी नै छ । त्यसका लागि आवश्यक ३० प्रतिशत उपकरण अझै चीनमै रहेको आयोजनाले जनाएको छ ।

इलेक्ट्रोमेकानिकल कामका लागि ल्याइएको रोटर मेशिन सन् २०१४ डिसेम्बरमा ल्याइएको थियो । तर, आयोजनास्थल नजिकैको पुलमा गाडी पल्टिएर मेसिन बिगि्रएपछि फेरि चीनबाटै ल्याउनुपर्ने भएको छ ।

सकिन बाँकी कामका लागि अझै उच्चस्तरीय पहल र दबाव आवश्यक रहेको आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment