Comments Add Comment

काठमाडौंका चार ठाउँबाट केवलकार चलाउन सकिने

दुई फ्रान्सेली कम्पनीले बुझाए सम्भाव्यता प्रतिवेदन

cablecar in kathmandu२४ जेठ, काठमाडौं । काठमाडौंमा सीटी अर्बान केवलकारको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको छ । फ्रान्सका दुईवटा कन्सल्ट्यान्ट कम्पनीले सिटी अर्बन केवलकारको विस्तृत सम्भाव्यता अध्ययन गरेका हुन् ।

फ्रान्सेली एमडीपी र सिष्ट्रा कम्पनीले सोमबार केवलकारको सम्भाव्यता अध्ययन प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाएका छन् ।

कहाँ-कहाँ चल्न सक्छ केबुलकार ?

काठमाडौंमा केवलकार सञ्चालनका लागि चारवटा लाइनहरुको पहिचान गरिएको छ । लगनखेल-जमल, टंकेश्वर-गोंगबु, कलंकी-रत्नपार्क र बौद्धनाथ-बिष्णुमति गरी चारवटा लाइनमा केवलकार सञ्चालन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।
Kathmandu-Cable-Car-4
चारवटा लाइनमध्ये बौद्धनाथ-विष्णुमति (ताहचल)लाई लक्षित गरेर विस्तृत सम्भाव्यता अध्ययन गरिएको हो ।

एउटा केवलकार लाइनको डीपीआर अरु लाइनसँग पनि मिल्ने हुँदा कन्सल्ट्यान्टहरुले बौद्धनाथ-विष्णुमतिलाई आधार बनाएर प्रतिवेदन तयार पारेको नेपालस्थित फ्रान्सेली राजदूतावासका चार्ज डि मिसन दीपेशकुमार बिडारीले अनलाइनखबरलार्इ बताए ।

प्रतिवेदनअनुसार बौद्धनाथदेखि विष्णुमतिसम्म केवलकारको दुरी ७ किलोमिटर हुनेछ । जहाँ केवलकारका ७ वटा स्टेशन हुनेछन् । झण्डै १/१ किलोमिटर दुरीमा बौद्धनाथ, चावहिल, भण्डारखाल, डिल्लीबजार, रत्नपार्क, डरबार स्क्वायर र विष्णुपति (ताहाचल)मा स्टेशनहरु हुनेछन् ।

बौद्धनाथ-विष्णुमतिसम्मको केवलकार लाइनमा २५० वटा डब्बाहरु हुनेछन् । एउटा डब्बामा १२ जना अटाउने बताइएको छ । हरेक १५/१५ सेकेण्डमा स्टेशनमा आउने डब्बाले एक दिनमा करिव ७० हजार यात्रु बोक्ने फ्रान्स नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्याम मोहन श्रेष्ठले बताए ।

Kathmandu-Cable-Car-3
काठमाडौं अर्बन केवलकार परियोजनाको डीपीआरका लागि फ्रान्सेली कन्सल्ट्यान्ट कम्पनीसँग भौतिक मन्त्रालयले सन् २०१५ फेबुअरीमा सम्झौता गरेको थियो । एक वर्षभन्दा बढी समय लगाएर कन्सल्ट्यान्ट कम्पनीले प्रतिवेदन बुझाएका हुन् ।
 
कति खर्च लाग्छ ?
यो परियोजना निर्माण गर्नका लागि १०/१२ अर्ब रुपैयाँ लगानी हुने अध्यक्ष श्रेष्ठले बताए । नेपाली लगानीकर्ता, फ्रान्सेली लगानीकर्ता, एशियाली विकास बैंक, वल्र्ड बैंक, आइएफसी, लगायतलाई सहभागी बनाएर पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा केवलकार निर्माण गर्ने उनको भनाइ छ ।

लगानी जुटाएर एक डेढ वर्षभित्रमै केवलकार निर्माण सुरु गरिने अध्यक्ष श्रेष्ठको भनाइ छ । धेरै पहिलादेखि बहसमा आएको अर्बन केवलकार परियोजनाले सार्थक रुप लिन लागेको उनी बताउँछन् ।
्र्र
Kathmandu-Cable-Car-2
प्रतिवेदनमा केवलकार चरणबद्ध रुपमा निर्माण गर्दै जाने उल्लेख छ । बौद्धनाथ-विष्णुमति लाइनलाई पनि तीनवटा चरणमा विभाजन गरिएको छ । एउटा चरणको काम सकेपछि अरुमा काम अगाडि बढाउने योजना रहेको अध्यक्ष श्रेष्ठले सुनाए ।

काठमाडौंलाई हुने फाइदा
अर्बन केवलकारले यात्रुको ५० देखि ६० प्रतिशत समय बचत गरिदिने प्रतिवेदनमा उल्लेख छ । निजी सवारी सञ्चालन खर्चसमेत केवलकारले घटाइदिने छ । यस्तै, ३० देखि ४० प्रतिशत ट्राफिक जाम घटाउने दाबी गरिएको छ । केवलकारले सडक सुरक्षा, ध्वानी प्रदुषण, हावा प्रदुषण कम गर्नुका साथै वातावरण प्रदुषण हुनबाट जोगाउने बताइएको छ ।

केवलकारले काठमाडौंको ट्राफिक घटाउने मात्र नभई पर्यटन विकासमा समेत सघाउ पुर्‍याउने विश्वास गरिएको छ । केवलकारबाट काठमाडौं शहरको अवलोकन गर्दै हिँड्न पाइन्छ ।

विश्वभर सिटी अर्बन केवलकार लोकप्रिय बनेको छ । खासगरी साँघुरो सडक भएका सहरमा यस्तो केवलकार सबैभन्दा उत्तम मानिन्छ । काठमाडौंमा मोनोरेल, अण्डरग्राउन्ड मेट्रोरेल, फ्लाई ओभर बनाउन कठिनाइ रहेको हुँदा केवलकार उपयुक्त विकल्प हुने फ्रान्सेली दूतावासका बिडारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment