२६ जेठ, डोटी । दुई बर्ष पहिलेसम्म बारीमा सिस्नु उम्रदा लौराले चुटेर फाल्ने डोटी घण्टेश्वर गाविस-१ की इन्द्रा ओली अचेल त्यही सिस्नुको संरक्षणमा जुटेकी छिन् । किनकी उनले सिस्नुको बुहआयामिक उपयोगलाई बुझेकी छन् ।
बाहुनको जातले सिस्नु खानु हुन्न भन्ने संस्कारमा हुर्केकी सरस्वतीनगर गाविस-६ की कमला जोशीलाई पनि अहिले सिस्नु टिप्नु भ्याई नभ्याई छ ।
घण्टेश्वरकी लालुमाया राई पनि सिस्नुलाई जीवनयापनको आधार बनाउँदै छिन् । त्यसैले उनी डोको र चिम्टा बोकेर सिस्नु टिप्न निस्कन्छिन् ।
ईन्द्रा, कमला र लालुमाया मात्रै होइन डोटीको सरस्वतीनगर र घण्टेश्वर गाविसका अधिकांस महिलाहरु अहिले राम्रो कमाई हुने भएपछि महिलाहरु सिस्नुतर्फ आकर्षित भएका छन् ।
‘काट्दाखेरी पनि जीउमा छोइयो भने दुई दिनसम्म पोल्ने, काट्न पनि डर लाग्ने,’ ईन्द्रा भन्छिन् ‘लामो लौरो ल्याएर टाढैबाट चुट्ने गर्थें तर अहिले त यही सिस्नु संरक्षण गर्दैछु । सिस्नु यति धेरै उपयोगी होला भन्ने सोचेकी पनि थिइनँ ।’
करीव तीन वर्ष पहिले घरेलु तथा साना उद्योग विकास कार्यालय दिपायलले महिलाहरुलाई सिस्नुको महत्व र यसको उपयोगबारे जानकारी दिन तालिम नै सञ्चालन गरेको थियो । त्यहाँ तालिम लिएका महिलाहरु सिस्नु उत्पादन र प्रसोधनलाई व्यावसायीक रुपमा लैजान थालेका छिन् ।
‘उहिले त बाहुनको जातले सिस्नु छुनु पनि हुन्न भन्थे,’ कमला भन्छिन् ‘यो सिस्नुबाट त राम्रो आम्दानी हुँदो रहेछ ।’ उनी सिस्नु टिपेर बिक्री गर्ने महिलाहरुमध्ये अग्रपंक्तीमै छिन् । उनी दिनहुँ करिब १५ किलो सिस्नु टिप्छिन् ।
४० रूपैयाँमा किनेर ५ सयमा बिक्री
आलो सिस्नु प्रतिकिलो चालीस रुपैयाँमा किनबेच हुन्छ । आलो सिस्नुलाई सुकाएर बनाइएको धुलो प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री हुन्छ । स्थानीय महिलाले सिस्नु प्रशोधन उद्योग नै सञ्चालन गरेर राम्रो कमाइ गरिरहेका छन् । तर, सिस्नुको महत्वबारे अझै पनि धेरैलाई जानकारी नभएका कारण बजार अभाव रहेको स्थानीय बताउँछन् ।
फवार्ड नेपाल र ग्रामीण विकास केन्द्रको साझेदारीमा बनमा आधारित बहुसरोकारवाला बन कार्यक्रम अन्तरगत डोटी जिल्लामै पहिलोपटक सरस्वतीनगर, घण्टेश्वर र डौड गरी तीन गाविसमा सिस्नु प्रशोधन उद्योग स्थापना भएका छन् ।
डौड गाबिसमा त्यति उपलव्धीमुलक नभए पनि घण्टेश्वर र सरस्वतीनगरमा राम्रोसँग सञ्चालन भइरहेको परियोजनाका जिल्ला संयोजक शंकर थापाले बताए ।
समस्या बजारको
परियोजना पाँच वर्षका लागि सञ्चालन गर्ने भनेर आएको भएपनि दाता संस्थाहरुले १८ महिनामै छोडेर जाँदा थप प्रभावकारी बनाउन नसकिएको थापाको भनाई छ । सन् २०२२ सम्म चल्ने भनिएको कार्यक्रम नेपालबाटै बाहिरिएको छ ।
ग्रामीण भेगमा साना उद्योगले सानै परिमाणमा भएपनि आम्दानी सुरु गरेका महिलाहरु बहु सरोकारवाला कार्यक्रम देशबाटै बाहिरिएपछि दुःखी भएका छन् ।
नमूना सिस्नु प्रशोधन उद्योगकी सञ्चालक जमुना बोहरा भन्छिन्, ‘कामको सुरुवात राम्रै भएको छ, तर यसलाई निरन्तरता दिन सक्ने र दीगोपना हाम्रा लागि चुनौती छ । कार्यक्रम न बाहिरिएको भए धेरै राम्रो गर्न सकिन्थ्यो ।’ बोहरा सबैभन्दा बढी समस्या बजारको देख्छिन् ।
कतिपयले डोटीमा प्रशोधित सिस्नुको धुलो राजधानी काठमाडौंसम्म पुर्याउँछन् । शहरका महंगा रेष्टुरेन्टमा सिस्नुको परिकार महंगो हुन्छ । परियोजनाका जिल्ला संयोजक शंकर थापाका अनुसार डोटीमा उत्पादित सिस्नुको धुलो काठमाडौंको सौगात गृहका प्रवन्धक चन्द्र नेपालीले खरिद गर्दै आएका छन् ।
परियोजनाले तीन गाबिसमा सिस्नु प्रशोधन उद्योग सञ्चालनमा ल्याए जस्तै रानागाउँ र छतिवन गाविसमा दुना टपरी उद्योग सञ्चालनमा ल्याएको छ । पाँच वर्षको उद्देश्य बनाई आएको परियोजना बिचमै बहिर्गमन हुँदा स्थानीय भने चिन्तित भएका छन् ।