Comments Add Comment

मन्त्रिपरिषद बैठकः उपराष्ट्रपति पुनको चीन भ्रमण स्वीकृत

जनआन्दोलनका घाइते उप्रेतीलाई साढे १६ लाख

Pm-office२६ जेठ, काठमाडौं । सरकारले उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को चीन भ्रमण स्वीकृत गरेको छ । पुनले यही जेठ २८ गतेदेखि असार २ गतेसम्म चीनको औपचारिक भ्रमण गर्दैछन् ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले उपराष्ट्रपति पुनको चीन भ्रमण स्वीकृत गरेको बैठकपछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिए ।

चीनको युन्नान प्रान्तीय जनकंग्रेस स्थायी समितिको निमन्त्रणमा पुन चीन भ्रमणमा जान लागेका हुन् । जुन १२ देखि १७ सम्म युन्नान प्रान्तको कुन्मिङ शहरमा आयोजना हुने चौथो चीन-दक्षिण एशिया प्रदर्शनी तथा वस्तु व्यापार मेला तथा २४ औं चीन-कुन्मिङ आयात निर्यात व्यापार मेलामा उपराष्ट्रपति पुन सहभागी हुनेछन् ।

उनले १२ जुनमा आयोजना हुने चौथो चीन दक्षिण एशिया व्यापार मेला उदघाटन समारोह र सोही दिन हुने ११ औं चीन-दक्षिण एशिया बिजनेश फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

चीनमा रहँदा पुनले चिनियाँ उपराष्ट्रपति, चीन सरकारका उच्च पदाधिकारीहरु, युन्नान प्रान्तका सरकारी प्रतिनिधिहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

जनआन्दोलनकी घाइतेलाई १६ लाख ५६ हजार, २ सचिवको सरूवा

यसैगरी सरकारले केही सचिवहरुको सरुवा पनि गरेको छ । मन्त्री पाण्डेका अनुसार विज्ञान मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिचाईंमा र सिचाईं सचिव अनुपकुमार उपाध्यायलाई विज्ञान मन्त्रालयमा सरुवा गरिएको छ ।

सरकारले स्वास्थ्य सेवाको ११ औं तहमा भोगेन्द्रराज डोटेल, झलक शर्मा पौडेल र चन्द्रदेव महतोलाई बढुवा पनि गरेको छ ।

यसैगरी सरकारले २०६२-६३ को जनआन्दोलमा घाइते भएकी झापाकी सिन्धु उप्रेतीको उपचारका लागि १६ लाख ५६ हजार रुपैयाँ दिने निर्णय पनि गरेको छ । उप्रेतीको हाल थाइल्याण्डमा उपचार भइरहेको छ ।

उप्रेतीको उपचारका लागि सो रकम थाइल्याण्डस्थित राजदूतावासमा पठाउने मन्त्रिपरिषद बैठकपछि उद्योगमन्त्री पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment