Comments Add Comment

पर्यटकले फालेको फोहोरबाट प्रदुशिषत बन्यो धौलागिरि हिमाल

Dhoulagiri-Himal-2
३० जेठ, म्याग्दी । म्याग्दीको मुदी गाविसमा अवस्थित धौलागिरि हिमालको आधार शिविरमा फोहर बढेको छ । संसारको सातौं (८,१६७ मिटर) अग्लो मानिएको धौलागिरि हिमालको आरोहण र धौलागिरि चक्रीय पदमार्गको भम्रणमा जाने पर्यटकले प्रयोग गरेर फालेका फोहर वस्तुले धौलागिरि आधार शिविर क्षेत्रमा प्रदूषण बढेको हो ।

आधार शिविरमा आरोही र भम्रणमा पुगेका पर्यटक, पथ प्रदर्शक तथा तिनका सहयोगीले प्रयोग गरेर फालेका फोहर वर्षौंदेखि थुप्रिएको छ । आधार शिविरमा अहिले पनि दुर्घटनाग्रस्त हेलिकप्टरका पाटपुर्जादेखि पर्यटकले प्रयोग गरेर यत्रतत्र फालेका फोहर व्यवस्थापन हुन नसकेको स्थानीय पर्यटन व्यवसायी हरिप्रसाद तिलिजाले बताए ।

“हामीले वर्षौंदेखि यस क्षेत्रको फोहर व्यवस्थापनका लागि आवाज उठाउँदै आएका छौँ, गाउँ परिषद् हुँदै जिल्लासम्म गुनासा पठाएका छौँ, तैपनि अहिलेसम्म हाम्रो आवाजको सुनुवाइ भएको छैन” तिलिजाले भने । स्थानीयवासीले धौलागिरि आधार शिविर क्षेत्रमा फालिएको फोहर व्यवस्थापन गर्न र पर्यटकलाई यस क्षेत्रमा जथाभावी रुपमा फोहर फ्याँक्नमा रोक लगाउन माग गर्दै आएका छन् ।

हालै धौलागिरि आधार शिविर क्षेत्रको सम्भावना र समस्याको अध्ययन गर्न पुगेको जिल्लाको सरोकारवालाको टोलीले आधार शिविरमा पुग्ने पर्यटक र तिनीहरुका सहयोगीले प्रयोग गरेर फालेका कपडा, ग्यास सिलिन्डर, भारी बोक्ने क्यारी, सिसी, रबर र फलामका भाँडाकुँडा, खानाका बट्टा, चियाका थर्मस, डोका, खादा, खाजा प्याक गरिएका प्याकेट तथा प्लास्टिक लगायतका फोहर भेटाएकोे थियो ।

मुदीको जापानी शिविरदेखि माथि क्याम्पिङ गरी बस्ने पर्यटक र तिनका सहयोगीले अहिले जथाभावी फोहर फाल्दै आएका छन् । यस क्षेत्रमा हेलिकप्टरमार्फत पुराइएका टायर, धातुका सामग्री र आरोहणमा प्रयोग गरिएका उपकरणसमेत आधार शिविरमै अव्यवस्थित तवरले फालिँदै आइएको छ । आधार शिविर क्षेत्रमा सरकारी उपस्थिति र निगरानी नभएकाले समेत फोहर बढेको हो ।

भ्रमणमा जाने पर्यटकले प्रयोग गर्ने सामग्री जथाभावी छाडेर जाने प्रचलन बढेसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्यमा असर पुग्नुका साथै प्रदूषणसमेत बढेको पाइएको धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाले बताए । “यहाँ हामीले प्रशस्त मात्रामा फोहर भेटायौँ, व्यवस्थापन गर्ने काममा नेपाल सरकार र पर्यटन मन्त्रालयले समेत कुनै चासो नदेखाएको देखियो, वर्षाैं देखिको फोहरले हिमाली क्षेत्र प्रदूषणको चपेटामा परेको छ” उनले भने । Dhoulagiri-Himal

केही वर्षअगाडि पर्यटन मन्त्रालयले लाखाैं खर्च गरेर धौलागिरि आधार शिविरको फोहर व्यवस्थापन गर्न काठमाडाैंबाट एक टोली परिचालन गरे पनि उक्त टोलीले फोहर व्यवस्थापन गर्नुको साटो औपचारिकता मात्रै पूरा गरेर फर्किएको स्थानीय पर्यटन व्यवसासीको गुनासो छ । अत्यधिक चिसो हुने भएकाले समेत आधार शिविरमा वर्षौंदेखि कुहिने प्रकारका फोहरसमेत नकुहिएको अवस्थामा थुप्रो लागेको छ ।

आधार शिविरको अधिकांश भूभागमा फोहर थुप्रिन थालेपछि त्यहाँ पुग्ने पर्यटक पाल टाँगेर बस्नका लागिसमेत फोहरले गर्दा हैरानीमा पर्न थालेको स्थानीय पर्यटन व्यवसायी बोमबहादुर पुनले बताए । ‘‘अब आधार शिविरमा बास बस्ने पर्यटक आफैले फोहर पन्छाएर बस्नुपर्ने बाध्यता छ, यस क्षेत्रमा थुप्रिएको फोहर व्यवस्थापन र भम्रणमा आउनेलाई जथाभावी फोहर फाल्न रोक लगाउनका लागि सरकारी तवरवाट प्रभावकारी कदम चालिनुपर्छ” उनले थपे ।

आरोहणका लागि आउने पर्यटकले आफूले लगेको फोहरजन्य सामग्री नियमतः जथाभावी फाल्न पाउँदैनन् । उनीहरुले आफूले लगेको फोहर पुनः फर्काएर व्यवस्थित तवरले व्यवस्थापन गरेको प्रमाण सरकारी अधिकारीलाई बुझाउनुपर्छ । तर धौलागिरि आधार शिविर क्षेत्रमा पुग्ने पर्यटकले भने सरकारी नीति व्यवहारमा कार्यान्वयन नगरेको भेटिएको आधार शिविर पुगेका नेकपा (एमाले) म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए ।

“प्राकृतिक सौन्दर्यले भरिपूर्ण धौलागिरि आधार शिविरमा जथाभावी फोहर फालिएको भेटियो, यसको व्यवस्थापनका लागि अब हामीले जिल्लास्तरबाट समेत पर्यटन मन्त्रालय र सरोकारवालालाई ध्यानाकर्षण गराउने र दबाब दिने गर्नुपर्छ” उनले भने । आधार शिविर हुँदै भ्रमणमा जाने पर्यटकले जथाभावी दिसापिसाब गर्ने समस्या पनि फोहर फैलनुको अर्को कारण बनेको छ ।

आधार शिविरमा वर्षौंदेखि थुप्रिएको फोहर व्यवस्थापन गर्न निश्चित ठाउँमा डम्पिङ साइट र कन्टेनरको व्यवस्था गर्न स्थानीय निकायमा अनुरोध गरिए पनि बेवास्ता भएको प्रथम धौलागिरि युवा क्लब मुदीका सचिव कुलबहादुर घर्तीले बताए ।

“आधार शिविरमा जता गए पनि फोहर मात्रै भेटियो, यसलाई जिविसमार्फत ठोस नीति बनाएर सबै क्षेत्रको समन्वयमा अक्षरशः पालना गराउन सकिए मात्रै फोहरको दीर्घकालीन व्यवस्थापन गर्न सकिन्छ”, धौलागिरि आधार शिविर पुगेर फर्किएका गैसस महासंघका अध्यक्ष हरिप्रसाद पौडेलले भने ।

यसरी प्राकृतिक सौन्दर्यले भरिपूर्ण धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा वर्षौंदेखि बढेको फोहरले यस क्षेत्रको प्राकृतिक र सुन्दर वातावरणलाई समेत असर पुराउन थालेको छ । यसलाई तत्काल व्यवस्थापन गर्नतर्फ सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment