Comments Add Comment

दुबइबाट पुर्‍याइँदैछ नेपालीलाई ‘असुरक्षित’ अफगानिस्तान

रोजगारीका लागि खुलेको हो अफगानिस्तान ?

afaganistan-kabul
३२ जेठ, काठमाडौं । वैदेशिक रोजगारीका लागि अफगानिस्तान खुला भएको हल्ला बजारमा चलेको छ । कतिपय एजेन्ट र म्यानपावर कम्पनीले कामदारलाई अफगानिस्तान खुलिसकेको भन्दै अवैधानिक रुपमा त्यता पठाइरहेका छन् ।

तर, सरकारले निश्चित क्षेत्रमा बाहेक अफगानिस्तानमा कामदार लैजान नपाउने व्यवस्था गरेको छ । यसै आधारमा वैधानिक रुपमै अफगानिस्तान जानेहरु पनि छन् । चालु आर्थिक वर्षमा मात्रै १२ सय १३ जना कामदारले सरकारसँग अनुमित लिएर अफगानिस्तान गएका छन् । जसमा २जना महिला पनि छन् ।

पछिल्लो समयमा भारतबाट अफगानिस्तान पुर्‍याउने क्रम तीब्र भएको छ । अफगानिस्तान असुरक्षित रहेको थाहा हुँदाहुँदै धेरै कमाउने प्रलोभन देखाएर नेपालीहरुलाई त्यहाँ लगिँदैछ । सरकारले युएन सेक्युरेटी र गभर्नमेन्ट सेक्युरेटीबाहेक अन्य क्षेत्रमा अफगानिस्तान पुगेर काम गर्न रोक लगाएको छ ।

तर, कामदारलाई छक्याएर अफगानिस्तान लैजाने क्रम तीब्र भएको आप्रवासन अधिकारकर्मीहरु बताउँछन् । कामदारलाई अफगानिस्तानमा जान खुला भएको भ्रम पारिएको उनीहरुको दावी छ ।

श्रम तथा रोजगार मन्त्रालयले भने अफगानिस्तानमा वैदेशिक रोजगारी आंशिक मात्र खुला गरिएको जनाएको छ । तर, अफगानिस्तामा जान खुला भएको हल्ला चलाएर त्यसबाट कामदारलाई असुरक्षित ठाउँमा पुर्‍याउने क्रम तीव्र भएको छ ।

‘अफगानिस्तानमा मासिक १ लाख भन्दा बढी काइ हुन्छ भनेर लैजाने गरेको हामीले पनि सुनेका छौं,’ श्रम तथा रोजगार मन्त्रालयका एक अधिकारी भन्छन्, ‘काठमाडौंका एयरपोर्टबाट यो सम्भव छैन । त्यसैले भारतका एयरपोर्टबाट उनीहरुलाई अफगानिस्तान पुर्‍याइन्छ । त्यसैले हामीले त्यसलाई रोक्न सकिरहेका छैनौं ।’

दुबइको सजिलो बाटो  

नेपालीलाई अफगानिस्तान पुर्‍याउन अर्को सहज बाटो बनेको छ दुबइ । दुबइमा कुनै कम्पनीमा जाने र त्यहाँबाटै अफगानिस्तान छिर्ने क्रम पछिल्लो समयमा बढेको छ ।

विशेष गरेर त्यहाँका सेक्युरेटी कम्पनीहरुले नेपाली कामदारलाई आफगानिस्तान छिराइरहेका छन् । यहाँबाट दुबइको श्रम स्वीकृति लिएर जानेहरुलाई सम्बन्धित कम्पनीले नै अफगानिस्तानमा पठाएको पाइएको छ ।

यसैको आडमा नेपालीहरुलाई अफगानिस्तान पठाउन दुबइमा सञ्जालहरु नै सक्रिय रहेको सूचना नेपाल सरकारसँग पनि छ । तर, त्यसलाई रोक्न सरकारले कुनै कदम भने चालेको छैन ।

भिजिट भिसामा दुबइ पुर्‍याएर त्यहाँबाट अफगानिस्तान लैजाने गरेको पनि भेटिएको छ । विभिन्न बाहानामा दुबइ पुर्‍याइएका नेपालीलाई अफगानिस्तानमा असुरक्षित क्षेत्रमा कामका लागि पठाउने गरिएको छ ।

वैदेशिक रोजगार विभागको श्रम कार्यालयमा दुबइ हुँदै अफगानिस्तानमा काम गरेको भन्दै सम्झौता रि-इन्ट्री गर्न आउने नेपालीको संख्या ठूलो छ ।

‘दुबइको कम्पनीका लागि श्रम स्वीकृति दिएका मान्छे अफगानिस्तानको लागि रि-इन्ट्री गर्न भनेर आउने गरेका छन्’ विभागका काठमाडौं कार्यालयका पूर्वप्रमुख मधुबिलास पण्डित भन्छन्, ‘दुबइका कम्पनीले नै नेपालीलाई अफगानिस्तान पुर्‍याउने गरेको पाइएको छ । तर, युएन सेक्युरेटी र गर्भनमेन्ट सेक्युरेटीबाहेकमा ‘लिगलाइज’ पनि गरिँदैन ।’

अफगानिस्तानमा पनि आन्तरिक युद्ध चर्किंदै गएपछि त्यहाँ कामदार पठाउन रोक लगाइएको थियो । तर, पछिल्लो समयमा निश्चित क्षेत्रबाहेक अन्यमा कामदार पठाउन पनि निषेध जारी नै छ ।

कानूनी रूपमा रोजगारीका लागि जान रोक लगाए पनि अवैध तरीकाबाट भने जाने क्रम रोकिएको छैन  । गैरकानूनी तरीकाबाट जाने कामदारले दलाललाई लाखौं रुपैयाँ बुझाएर जाने गरेका छन् । यसरी जाँदा कामदारले दलाललाई बढी पैसा तिर्नुका साथै अलपत्र पर्ने क्रमसमेत बढेको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अफगानिस्तानमा ‘इन्डोर’ क्षेत्रमा काम गर्न असुरक्षित नहुने भन्दै कामदार पठाउन खुला गर्न आग्रह गर्दै आएको छ ।

तर, सरकारले अफगानिस्तानमा कामदार लैजान खुला नगर्दा अवैधानिक रुपमा जानेको संख्या बढ्दै गएको छ । पछिल्लो समयमा अफगानिस्तानमा असुरक्षाको दर घटेकाले नेपालीहरु राम्रो कमाइको आशमा अवैधानिक रुपमै भएपनि त्यता जाने क्रम तीब्र भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment