Comments Add Comment

सरकारी सूचना दुरुपयोग गर्दै यसरी ठगिँदैछ सवारी धनीलाई

नागरिकको पैसामा भी-ट्याक्स एसएमएसबाट लुट

फेसबुक पेजमा गरिएको विज्ञापन
फेसबुक पेजमा गरिएको विज्ञापन

१ असार, काठमाडौं । यो माथिको तस्वीर हेर्नुभयो ? सरकारलाई आफ्नो सवारीको कर कति तिर्न बाँकी छ भने थाहा पाउन सकिने तरिका भन्दै यो फोटो एसएमएस सेन्ट्रल नामक पेजमार्फत फेसबुकमा पोष्ट भएको हो ।

यो पेजले फेसबुकमार्फत पोष्ट बुस्ट गरेरै यो विज्ञापन तीब्र पार्‍यो । यसकाअनुसार vtax टाइप गरेर एउटा स्पेश दिई गाडी वा सवारीको नम्बर राखेर ३४३२१ मा एसएमएस गर्दा कति सवारी कर तिर्नपर्छ भन्ने जानकारी प्राप्त हुन्छ भनिएको छ । यो गरेबापत तपाईंको ३ रुपैयाँ काटिने विज्ञापनमै उल्लेख छ ।

नभन्दै यसमा एसएमएस गर्दा तपाईले तिनुपर्ने करको तुरुन्तै रिप्लाइ पनि आइहाल्छ । तर, तर, यो एसएमएस सेन्ट्रलले दिने त्यो रिप्लाइ म्यासेजमा आएको जानकारी भरपर्दो भने हुँदैन ।

कतिपयलाई यसले ठीक सूचना दिन्छ भने कसैलाई यसले गलत सूचना दिन्छ । एसएमएस गर्दा भने तपाईंको मोबाइलबाट ३ रुपैयाँ ३२ पैसा काटिन्छ ।

यातायात व्यवस्था विभागमा तिर्नुपर्ने सवारी कर र जरिवानाबारे सबै जानकारी एसएमएसबाटै प्राप्त हुनु उपभोक्ताका लागि राम्रै हो जस्तो लाग्छ । तर, यसबारेको बास्तविकता जान्ने हो भने सरकारी लापरवाही हद कतिसम्म हुन्छ भन्ने प्रष्ट हुन्छ ।

के छ वास्तविकता ?
यो सुविधा कुनै सरकारी निकायले दिएको हैन । तर, माथिको विज्ञापनमा भने यो सुविधा सरकारसँग नै मिलेर सुरु गरिएको भ्रम पार्न यातायात व्यवस्था विभागको लोगो पनि प्रयोग गरिएको छ ।

फोकसवान नामक आइटी कम्पनीले यो सिस्टमको परीक्षण गरेको थियो । सुरुमा यो नम्बर ४३२१ थियो भने पछि यसलाई ३४३२१ बनाइयो । परीक्षणका लागि सुरु गरिएको यो सेवा एकाएक विज्ञापन गरेर प्रचार गरियो । विभागसँग यो एसएमएस सेवाका लागि फोकसवानले कुनै सम्झौता गरेको छैन । फोकसवानले यसको विज्ञापन गरेर लाखौं कमाइरहेपनि विभागले आँखा चिम्लिएको छ ।

‘हामीले परीक्षणका रुपमा यो एसएमएसलाई प्रयोगमा ल्याएका थियौं । तर, यसले राम्रो काम गर्न नसकेकाले नियमितरुपमा प्रयोग नगर्ने निर्णय गर्‍यौं,’ विभागका प्रवक्ता बसन्त अधिकारी भन्छन्, ‘विज्ञापन नै गरेर यो एसएमएस सुविधाको प्रचार गरिएको भए त्यो गलत हो । यो सुविधा सरकारले दिएको हैन ।’

उनले सुरुवातमा कम्पनीलाई परीक्षणका रुपमा यसलाई प्रयोग गर्न दिएपनि प्रयोगमा ल्याउने गरी अनुमति दिन नसकिने बताए । तर, लामो समयदेखि यो एसएमएसबाट फोकसवानले लाखौं कमाएको छ । यसमा विभागकै अधिकारीहरुको समेत मिलोमतो हुनसक्ने आशंका गरिएको छ । निजी कम्पनीले विना सम्झौता सरकारी (नागरिकको व्यक्तिगत) सूचनामा सीधा पहुँच राखेर राज्यको सूचना बेच्ने काम गरिरहँदा पनि विभागका अधिकारीहरु मौन छन् ।

यस विषयमा विभागका उच्च अधिकारीलाई जानकारी नभएको पनि हैन । तर, उनीहरु किन यस विषयमा मौन छन् भन्ने प्रश्न उब्जिएको छ ।

यसरी भयो सूचना दुरुपयोग
विभागले झण्डै ७ वर्ष अघि प्रयोगमा ल्याएको भीट्याक्स सिस्टम फोकसवानले नै डिजाइन गरेको हो । कम्पनीले नै विभागको भीट्याक्स सिस्टमको सफ्टवेयर तयार पारेर जडान गरेको थियो ।

त्यही समयमा उसले विभागको सबै सूचनामा एक्सेस (पहुँच) पायो । अहिले यही कम्पनीले विभागमा भेइकल रजिष्ट्रेशन सिस्टम -भीआरएस) को लागि काम गरिरहेको छ ।

यसैकारण उसले विभागका सबै सूचनामा सजिलै पहुँच पाएको छ । यसैको गलत फाइदा उठाएर कम्पनीले यो एसएमएस नम्बरमार्फत सरकारी सूचना दुरुपयोग गरिरहेको भेटिएको छ ।

यसमा एसएमएस गर्दा झण्डै साढे ३ रुपैयाँ काटिन्छ । जुन रकमको आधाभन्दा बढी हिस्सा सिधा कम्पनीको खातामा जम्मा हुन्छ । तर, यसबापत राज्यले एक सुको पैसा पनि पाएको छैन भने नागरिकले तिरेको पैसामा निजी कम्पनीले नै लुट मच्चाइरहेको छ । उसले सरकारी सूचना दुरुपयोग गरेर कति कमायो भन्ने अनुमान गर्न संकेत गाह्रो छ ।

सूचना भरपर्दो हुँदैन
धेरैलाई लाग्न सक्छ कि-राज्य नदिए पनि नागरिकले सूचना पाउनु राम्रो हो । तर, त्यसो हैन । एसएमएस सेन्टरले दिने रिप्लाई धेरैजसो गलत हुने गरेको छ । विभिन्न प्राविधिक कारणले त्यो सूचना भरपर्दो हुन नसकेको हो ।

यसले दिने सूचना गलत हुँदा धेरै सर्वसाधारणले दुःख पाएका छन् । यो एसएमएसको परीक्षण नै असफल भएपछि नै विभागले यसलाई प्रयोगमा नल्याउने निर्णय गरेको थियो ।

तर, सरकारी सूचनाभित्र पहुँच राखेकै भरमा निजी कम्पनीले सरकारको नाम देखाएर उपभोक्ता ठगिरहेका छ । विभागका प्रवक्ता अधिकारीले यसलाई तुरुन्त रोकिने बताए । तर, फोकसवानलाई कुनै काहरवाही गर्न नसकिने उनको तर्क छ । ‘पहिलो हामीसँग अनुमति लिएरै उसले यो सेवा सुरु गरेको हो । त्यसैले उसलाई कारवाही गर्न भने सकिँदैन,’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment