
२ असार, काठमाडौं । बालाजु बस्ने नुवाकोट बट्टारका रमेश तिवारीले यसपालि गर्मीमा पंखा नकिनी सुखै पाएनन् । पोहोर साल अहिलेभन्दा गर्मी कम महसुस गरेका उनले यसपालि अचाक्ली गर्मी बढेपछि बाध्य भएर दुई थान पंखा किने ।
काठमाडौं महाबौद्धस्थित एक इलेक्ट्रोनिक पसलमा शनिबार भेटिएका तिवारीले धेरै पसल चहारेपछि बल्ल यो पसलमा केही ‘सस्तो’ भाउमा भेटेपछि दुई थान पंखा किनेको सुनाए ।
‘पोहोर त यतिविधि गर्मी भएजस्तो लागेको थिएन, यसपालि त सहनै नसक्ने भइसक्यो, गर्मी महिना अझै बाँकी छ, पंखा नभए राति निदाउन पनि नसकिने भयो,’ तिवारीले अनलाइनखबरसँग भने, ‘छोराछोरीलाई छुट्टै र आफूहरूलाई छुट्टै गरेर दुई थान पंखा किनेँ ।’
भारतमा उत्पादित भिभो ब्रान्डको ‘पावरफुल’ मोटर भएको पंखा तिवारीले खरिद गरेको बताए । पसलेले २ हजारदेखि ६ हजार रुपैयाँसम्मको पंखा देखाए पनि उनले बीचको मूल्य पर्ने भिभो ब्रान्डको पंखा किनेको बताए । पावरफुल मोटर भएकाले धेरै ‘स्पिड’ मा घुमेर हावा धेरै फ्याँक्ने फिचर भएकाले यही ब्रान्डको पंखा किनेको उनको भनाइ छ ।
‘पसलेले एउटा पंखाको भाउ ३ हजार २ सय रुपैयाँ भनेका थिए,’ तिवारीले भने, ‘तर, बार्गेनिङ गर्दै मैले दुइटा किन्छु, मिलाएर दिनुस् भनेपछि अझै भाउ घटाएर दिए । लास्टमा एउटा पंखा २९ सय रुपैयाँमा दिए, अनि एकैचोटि दुइटा किनेँ ।’
उनले किनेको पंखामा ‘अटोमेटिक टाइमर’ को फिचर पनि उपलब्ध छ । ‘राति पंखा चलाउँदा १ घण्टाको टाइम सेट गरेपछि निदाए पनि केही फरक परेन,’ उनले सुनाए, ‘एक घण्टा चलेपछि पंखा आफैं बन्द हुन्छ ।’
नुवाकोटका तिवारी एक प्रतिनिधि उपभोक्ता हुन् । एक महिनायता ह्वात्तै बढेको गर्मीबाट बच्न सर्वसाधारण उपभोक्ता पंखाको सहारा लिइरहेका छन् । बजारमा कम्पनी र ब्रान्ड हेरेर विभिन्न किसिमका पंखा किन्न पाइन्छ ।
खुद्रा पसलमा अलि महँगो भए पनि थोक (होलसेल) पसलमा भने थोरै भए पनि सस्तोमा पंखा खरिद–बिक्री भइरहेको पाइन्छ । अनलाइनखबरकर्मीले दुई दिनअघि काठमाडौंको व्यस्त बजार न्युरोड, महाबौद्ध, नयाँ बानेश्वर लगायतमा स्थलगत रिपोर्टिङ गर्दा पंखा किन्ने उपभोक्ताको संख्या राम्रै भेटियो ।
न्युरोडमै भेटिएका कीर्तिपुरका मुराहरि अधिकारी भने पंखाको भाउ नमिलेकाले बजार डुलिरहेको बताउँदै थिए । ‘एउटा पसलमा २ हजार रुपैयाँ पर्ने पंखा भेटियो तर खासै स्पिडमा नघुम्ने रहेछ, तर पनि भाउ महँगो लागेर लिइनँ,’ उनले भने, ‘आफूलाई ३ हजारसम्मको पंखा चाहिएकाले खोज्दै हिँडिरहेको छु ।’
घरमा एयर कन्डिसन (एसी) जडान गर्न नसक्ने उपभोक्ता र डेरामा बस्नेका लागि भने गर्मीबाट राहत पाउन पंखा उपयुक्त हुने गरेको छ । एसी उपलब्ध नभएका कार्यालयहरूमा पनि पंखा प्रयोग गर्ने गरिएको पाइन्छ ।
एसी र कुलरभन्दा पंखामा झुम्मिँदै उपभोक्ता
न्युरोडस्थित न्यु श्रेष्ठ इलेक्ट्रोनिक सेन्टरका सञ्चालक केशव श्रेष्ठ एसी र कुलरभन्दा पंखामा बढी उपभोक्ता झुम्मिएको बताउँछन् ।
‘काठमाडौंमा सबै वर्गका मान्छे बस्छन्, पंखा सबैका लागि उपयुक्त हुने मूल्यमा नै किन्न पाइन्छ,’ श्रेष्ठ भन्छन्, ‘एसी, कुलर केही महँगो पर्ने हुँदा धेरैको रोजाइमा पंखा नै परेको छ । एसी अफिस र घरका लागि फाट्टफुट्ट मात्रै माग छ ।’
उनले अहिले दैनिक १०–१५ वटा पंखा बिक्री भइरहेको बताए । ‘कुनै दिन ५–७ वटा मात्रै पनि बिक्री हुन्छ,’ उनी भन्छन्, ‘कहिले संख्या ह्वाक्तै बढ्छ । बित्री नभएको त दिन छैन ।’
न्युरोडकै अर्का खुद्रा व्यापारी विशाल मानन्धर ‘पोर्टेबल ह्यान्ड फ्यान’ को माग पनि बढी रहेको बताउँछन् । उनको पसलमा आएका ग्राहक कोही पोर्टेबल ह्यान्ड फ्यान हेर्दै थिए भने कोही भने किन्दै पनि थिए ।
पंखा किन्ने र त्यसका फिचरदेखि मूल्य सोध्नेसम्मका ग्राहकको भीडले मानन्धरलाई भ्याइनभ्याइ जस्तै थियो ।
‘बाहिर फिल्डमा हिँड्नुपर्ने युवायुवतीले पोर्टेबल ह्यान्ड फ्यान खोज्दै आउँछन्,’ उनी भन्छन्, ‘मूल्य पनि धेरै पर्दैन । हातमै लिएर हिँड्न मिल्ने र हावा पनि राम्रै फाल्ने भएपछि यो पंखा धेरै बिक्री भएको छ ।’
उक्त पंखाको मूल्य ३ सयदेखि सुरु हुन्छ । सस्तोदेखि महँगो मूल्यमा किन्न पाइने उनी बताउँछन् । ब्यागमै राखेर लिएर हिँड्न मिल्ने भएपछि यसको माग धेरै बढेको उनको भनाइ छ ।
ब्रान्ड खोज्दै उपभोक्ता
गत शुक्रबार बिहान नयाँ बानेश्वरको ओम सप्लायर्समा सारिका र गरिमा कुन ब्रान्डको पंखा राम्रो हुन्छ भन्दै हेरिरहेका थिए । बुद्धनगरको एक होस्टलमा सँगै बस्ने साथी हुन् यी दुई । २–४ दिनदेखि अत्यधिक गर्मी बढेका कारण दिउँसो राम्रोसँग पढ्न बस्न नसकिने र राति निदाउनै गाह्रो पर्ने भएपछि दुई साथी मिलेर पंखा किन्न आएको बताए ।
‘होस्टलमा पंखाको व्यवस्था छैन, चाहिए आफैं राख्नुपर्ने रे,’ सारिकाले भनिन्, ‘अब गर्मीले गाह्रो पारेपछि पंखा त किन्नै पर्यो भनेर आएको । पंखाको मूल्य पनि हामीले आधा–आधा बाँड्ने ।’
पसलबाट ३ हजार रुपैयाँको बाल्ट्रा ब्रान्डको टेबुल पंखा किनेर उनीहरू बाहिरिए ।
ओम सप्लायर्सकी सञ्चालक बिन्दिरा मानन्धर दैनिक बढ्दै गएको गर्मीले पंखाको माग बढाउँदै लगेको बताउँछिन् ।
उनका अनुसार अहिले दैनिक ५–६ वटासम्म पंखा बिक्री भइरहेको छ । ‘यतातिर धेरै होस्टल छन्, मेरो पसलमा पंखा किन्न आउनेमा धेरै विद्यार्थीहरू छन्,’ मानन्धरले भनिन्, ‘धेरै बिक्री हुनेमा टेबुल पंखा छ । ठूला पंखाभन्दा पनि साना पंखा बढी खोजिरहेका छन् ।’
उनले बेच्ने गरेका धेरै पंखा चिनियाँ कम्पनीका हुन् । गर्मी बढ्दै जाँदा पंखाको माग अझै बढ्न सक्ने उनको भनाइ छ ।
यसपालि वैशाखदेखि नै धेरै गर्मी हुन थालेपछि उपभोक्ताले सोही समयबाटै पंखा किन्न सुरु गरेको व्यवसायीहरू बताउँछन् । उनीहरूका अनुसार वैशाख, जेठ र असारसम्म पंखाको माग हुन्छ ।
नयाँ बानेश्वरको ब्राइट इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्सकी सञ्चालक संगीता भण्डारी दैनिक ८–१० वटा पंखा बिक्री भइरहेको बताउँछिन् । अहिले उनको पसलमा वाल पंखाको माग धेरै छ ।
‘टेबुल र स्ट्यान्ड पखांभन्दा पनि वाल पंखाको माग अलि बढी छ,’ उनी भन्छिन्, ‘पंखा सस्तोदेखि महँगोसम्म किन्न पाइने सुविधा छ । कुनै दिन १५ वटासम्म पनि बिक्री हुने गरेको छ । मूल्य त १५ सयदेखि ६ हजार रुपैयाँसम्म पर्न जान्छ । अफिसमा पनि अहिले पंखाकै माग छ । एसी त २–४ वटा मात्रै बेचियो यसपालि ।’
बजारमा कस्ता र कति मूल्यका पंखा पाइन्छन् ?
नेपाली बजारमा अहिले भारतीय र चिनियाँ ब्रान्डका पंखाहरू उपलब्ध छन् । त्यस्तै अन्य देशबाट आयात भएका पंखा पनि किन्न पाइने व्यवसायी बताउँछन् ।
बजारमा सिलिङ, वाल, टेबुल तथा स्ट्यान्ड पंखा पाइन्छन् ।
अहिले एक वर्षको वारेन्टीसहित बाल्ट्रा, वेगा, अल्फा, इलेक्ट्रोकोर, कोन, सीजी, यसोदा, हिमजोङ लगायत ब्रान्डका पंखा बजारमा उपलब्ध छन् । यी पंखामा तातो–चिसो हावा फाल्ने मल्टी फङ्सनदेखि लिएर ब्याकअप सहितका रिमोट कन्ट्रोल फिचर लगायत सुविधा दिइएको हुन्छ ।
अघिल्ला वर्षहरूमा साना तथा ब्याट्री ब्याकअप भएका पंखाको माग धेरै हुने गरेकोमा अहिले उपभोक्ताको रोजाइमा सुविधासम्पन्न पर्ने गरेको व्यवसायी बताउँछन् । यस्ता पंखाको मूल्य ३ सय रुपैयाँदेखि सुरु भएर ६ हजार रुपैयाँसम्म तोकिएको छ ।
पंखा एकपटक खरिद गरेपछि लामो समयसम्म टिकाउ हुने बिजुली कम खपत गर्ने र बिग्रिएपछि वारेन्टी पनि उपलब्ध हुने हुँदा उपभोक्ताको आकर्षण यसप्रति बढ्दै गएको छ ।
गर्मीमा माग बढी हुने हुँदा व्यवसायीले पंखामा छुट पनि दिँदै आएका छन् । पंखा खरिद गर्दा १०–१५ प्रतिशत छुट समेत दिएको उनीहरूको भनाइ छ ।
प्रतिक्रिया 4