Comments Add Comment

डेढ वर्षदेखि ओछ्यानमा खेमबहादुर, परिवारको विचल्ली

वैदेशिक रोजगारीको पीडा

Khem-Bhadur-Gharti,-Nabalparasi
खेमबहादुर घर्ती

२ असार, नवलपरासी । २७ वर्षीय खेमबहादुर घर्ती डेढ वर्षदेखि मुढोजसरी ओछ्यानमा लडिरहेका छन् । पैसा कमाउने धोको बोकेर मलेसिया गएका उनी दुर्घटनामा परेपछि घर फर्केका थिए ।

नवलपरासीको धौवादी-२ जुकेपानी निवासी घर्ती डेढ वर्षअघि मलेसियामा बाटोमा हिँड्दै गर्दा दुर्घटनामा परेका हुन् । त्यसयता उनी ओछ्यानबाट उठ्न सकेका छैनन् । उनलाई उठबस र दिसापिसाब गर्न पनि अरुको साहारा लिनुपर्ने अवस्था छ ।

बुढेसकालमा बुवा-आमाको सहारा र केटाकेटीको उज्जल भविष्यको सपना बुनेर विदेशिएको दुई बर्ष नपुग्दै सवारी दुर्घटनामा परेका थिए उनी । उनलाई तरकारी किन्न जाँदा ट्रकले पछाडिबाट ठक्कर दिएपछि प्यारालाइसिस भयो । अहिले उनका हातखुट्टा चल्दैनन् भने ठक्कर दिएको ठाउँमा लागेको घाउ निको हुन सकेको छैन । बोल्नमात्र सक्ने उनी दिनभर ओछ्यानमा लडिरहन्छन् ।

सानो झुपडीमा रहेको खाटमाथि मुढो लडेझैं लडिरहेको डेढ वर्ष वितिसक्यो । तर, अझ पनि कसैले उपचार गराइदिन्छ कि भन्ने आशमा बाँचिरहेको छ उनको परिवार । बृद्ध बाबुआमा, श्रीमती र दुई छोरा-छोरीको जिम्मेवारी सबै उनकै काँधमा थियो ।  अहिले उनी आफैं अरुको सहारामा बाँच्नुपरेको छ ।

मलेसियाको एक कम्पनीमा सेक्युरेटी गार्डको काममा गएका घर्तीलाई आफूले काम गरेको कम्पनीको नाम पनि थाहा छैन । दुर्घटनामा परेपछि उनी एक महिना ३ दिनसम्म मलेसियाकै एक अस्पतालमा उपचार गरेर बसे । तर, उनको हातखुट्टा, शरीर चल्दै चलेन । भएको पैसा सबै खर्च गरिसक्दा पनि निको नभएपछि उनी घर फर्किएका थिए । उनलाई उपचार गर्न त्यहाँ सँगै रहेका उनका भिनाजु, जेठान र साथीहरुले सहयोग गरे । घरबाट समेत ऋण काढेर उपचारकालागि रकम पठाइयो । उनलाई घरसम्म ल्याउन कावासोतीस्थित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रले सहयोग गरेको थियो ।

मलेसियामा मात्रै औषधि उपचारमा ५ लाख रुपैयाँ खर्च भएको घर्तीले बताए । कम्पनीबाट उपचारका लागि कुनै पनि सहयोग नभएको उनको भनाई छ ।

नेपाल आएपछि पनि उपचारका लागि धेरै अस्पतालमा पुगेको भए पनि निको भने हुन सकेन ।

‘काठमाडौंका वीर अस्पताल, टिचिङ्ग अस्पतालसहित सात-आठ वटा अस्पतालमा उपचारका लागि गएँ तर, केहि उपलब्धि भएन । बुढा बा-आमालाई आफूले कमाएर खुवाउनुपर्नेमा उल्टै बोझ भएको छुँ,’ घर्तीले भक्कानिदै भने ।

उपचारका लागि १ कठ्ठा जग्गा समेत बेचेको घर्तीले बताए ।  परिवारलाई ७ लाख रुपैयाँ ऋण लागेको छ । ‘सम्पत्ति केही छैन, छोराछोरी सानै छन्, ऋण तिर्ने कुनै उपाय छैन,’ उनले दुखेसो गरे ।

बीमा कम्पनीले पैसा दिएन

विदेश जाँदा प्राइम लाइफ इन्स्योरेन्समा आफ्नो दुर्घटना बीमा गरेको भए पनि कम्पनीले रकम नदिएको घर्तीले बताए । बिमाबाट पैसा आउँछ भन्ने आशमा ऋण काढेर उपचार गरे उनले । कागजपत्र बनाउनलाई तीन-चार पटक कम्पनीले बोलायो । एम्बुलेन्स मगाएर खर्च गरी-गरी गए ।  कम्पनीका प्रतिनिधि एकपटक घरमा नै बुझ्न आए पनि । तर, पैसा आएन ।

‘कागजपत्र बन्दैछ, दुई-चार दिनमा पैसा आउँछ भनेर आश देखाए, तर दिएनन्,’ घर्तीले गुनासो गरे ।

बीमा रकम दिलाउनका लागि कावासोतीको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रले पनि धेरै पहल गरेको कावासोतीस्थित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रकी परामर्शदाता रञ्जना लम्सालले बताइन् । घर्ती नेपाल फर्किएपछि नै प्राइम लाइफ इन्स्योरेन्सको काठमाडौं र कावासोती शाखामा ताकेता गरिएको थियो । तर, कम्पनीले दुर्घटनामा परेर अंगभंग भएमात्रै बीमा रकम दिन मिल्ने जवाफ दियो ।

‘प्यारालाइसिस भएको केसमा  रकम दिने इन्स्योरेन्स पोलिसी नै नभएको जवाफ दिइयो,’ लम्सालले भनिन्, ‘कम्पनीमा अझै पनि हामीले ताकेता गरिरहेका छौं ।’

घर्तीको परिवारको ७ कठ्ठा जग्गा छ त्यो पनि आफ्नो नाममा छैन । २/३ कठ्ठामा परिवार मिलेर तरकारी खेती गरेका छन्, त्यसैबाट जेनतन घर चलिरहेको छ । ऋण तिर्न नसक्दा ब्याज थुपि्रएर बसेको छ । एक जनालाई उनकै स्याहारसुसार गर्दा ठिक्क हुन्छ ।

उनकी श्रीमती प्रेममाया घर्तीलाई पनि श्रीमानको चिन्ताले सधैं पिरोलिरहेको छ । ‘नेपालमा नै बसेको भए यस्तो हुने थिएन होला, धेरै पैसाको आशमा विदेश पठाउँदा अहिले यस्तो विचल्ली भयो,’ प्रेममायाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment