+
+

सडकपेटीको बीचमा किन बिछ्याइँदैछ पहेँलो टायल ?

काठमाडाैंमा ट्याकटाइल टायलको प्रयोग बढ्दै

रबिन्द्र घिमिरे रबिन्द्र घिमिरे
२०७३ असार २ गते १४:२३

tactile for blind (7)
२ असार, काठमाडौं । काठमाडौंका सडकपेटीमा पहेँलो रंगका टायलहरु लाइनै बिच्छयाइँदैछ । तपाईंलाई यो के-के लागि हो भन्ने जानकारी छ ? जानकारी छैन भने जान्नुस्, यो जरुरी पनि छ ।

पहेँलो रंगको यो टायल बिछ्याउने एकमात्रै उद्देश्य हो, दृष्टिबिहीनहरुलाई बाटोको पहिचानमा सहजता ल्याउनु र उनीहरूलाई सम्भावित दुर्घटनाबाट जोगाउनु ।

यसलाई ट्याकटाइल (स्पर्शनीय) टायल  भनिन्छ । ट्याकटाइल  बिच्छ्याएपछि दृष्टीहिनहरुलाई सेतोछडी प्रयोग गरेर हिँड्न सहज हुन्छ । पेटीमा यो टायल लगातार बिछ्याउँदा दृष्टिबिहीनले बाटो  भूल्दैनन् ।

यसले गर्दा दुर्घटनामा पर्ने सम्भावना हट्छ र गन्तव्यमा पुग्न पनि सजिलो हुन्छ । काठमाडौंका सडकपेटीलाई पूर्णरुपमा अपांङ्गमैत्री बनाउने गरी काठमाडौं महानगरपालिकाले ट्याकटाइल टायल प्रविधिलाई अपनाएको हो ।

tactile for blind (3)
तर, यसबारे आम सर्वसाधारण र दृष्टिबिहीनहरुलाई खासै जानकारी छैन । पहिले निर्माण गरिएका पेटीमा यो टायल राखिएको थिएन । त्यसैले पुराना पेटीमा पनि यसलाई बिछ्याउने काम भइरहेको छ भने नयाँ पेटीमा भने अब यसलाई अनिवार्य रुपमा प्रयोग गर्ने क्रम सुरु भएको छ ।

कहाँ कहाँ ट्यकटाइल
पहिलो चरणमा ट्याकटाइल टायल लागि एसियाली विकास बैंक एडिबीले सहयोग गरेको छ । यो आयोजनामा एडिबीले झण्डै ७० प्रतिशत र सरकारले ३० प्रतिशत लगानी गरेको छ ।
tactile for blind (1)
लुम्बिनी-रमण जेभी कन्ट्रक्सन र रमण-तामाङ जेभी कन्ट्रक्सन कम्पनीले सडक विभाग र काठमाडौं महानगरपालिका अन्तरगत छुट्टा-छुट्टै आयोजनामार्फत ट्याकटाइल टायल बिछ्याउने काम गरिरहेका छन् ।

केशरमहल, जमल, टुँडिखेल, त्रिपुरेश्वर, दरबारमार्ग, कमलादी, सिंहदरबार, भद्रकाली र नयाँबानेश्वर क्षेत्रमा यो टायल बिछ्याउने काम अन्तिम चरणमा छ । यसका लागि महानगरपालिका अन्तरगतको आयोजनाले १० करोड रुपैंयाँ खर्च गर्दैछ ।

tactile for blind (2)काठमाडौंमा महानगरपालिका अन्तरगतको काठमाडौं दिगो शहरी यातायात आयोजना कार्यान्वयवन इकाईले झण्डै १० किलोमिटर सडकपेटीमा यो टायल बिछ्याउने काम अन्तिम चरणमा पुर्‍याएको आयोजना व्यवस्थापक सुरज शाक्यले बताए ।

अब राष्ट्रिय सभागगृह आसपास र पुरानोबसपार्क क्षेत्रमा मात्रै टायल बिछ्याउने काम बाँकी रहेको उनले बताए । ‘हामीले गरेको यस किसिमका प्रयोगले विस्तारित रुप लिँदैछ । अहिले रिंगरोडमा विस्तार गरिएको सडकको पेटीमा नै आयोजनाहरुले ट्याकटाइल राख्न थालेका छन्’ शाक्यले भने ।

कसरी सहयोग पुग्छ दृष्टीबिहीनलाई ?
ट्याकटाइल सडकपेटीमा प्रयोग गरिने विशेष प्रकृतिको वस्तु हो । विदेशमा ट्याकटाइलका रुपमा सेन्थेटिक र रबरलाई पनि प्रयोग गरिन्छ । ट्याकटाइलका रुपमा काठमाडौंमा भने सिमेन्टका टायललाई नै प्रयोग गरिएको छ ।

tactile for blind (6)
ट्याकटाइलको मान्यता अनुरुप स्पर्श गर्दा दृष्टिबिहीनलाई फरक महसुुस गराउन टायलका बीचभाग केही अग्लाे बनाएर उठाइएको छ । धर्साधर्सा परेर बीच भाग उठाइएको डाँडीमा टेक्दा अन्य टायल भन्दा यसले फरक अनुभुति गराउँछ ।

यसले गर्दा दृष्टिबिहीन छडीको सहयोगमा हिँड्न सहज हुन्छ । यो ट्याकटाइलमा छडीले हान्दा अन्य टायल भन्दा फरक आवाज पनि दिन्छ । ट्याकटाइल पेटीको बीच भागमा जोडिँदैछ । दृष्टिबिहीनले ट्याकटाइलको अग्लो/होचो भागलाई छडीले चिन्दै हिँड्छन् ।

सहजै हिँड्न सकिने ठाउँमा लामो आकारका पाटा भएका टायल प्रयोग गरिएको छ । तर, पेटीको दिशा परिवर्तन हुने ठाउँमा दृष्टिबिहीनलाई संकेत दिन गोलो-गोल डाँडी भएको टायल प्रयोग गरिएको छ ।
tactile for blind (4)
यस्तै सचेत हुनुपर्ने ठाउँमा संकेत दिने गरी यसलाई प्रयोग गरिएको छ । गोलो डाँडी आएको टायल भेटेपछि ‘अगाडी जोखिम छ’ भन्ने दृष्टीबिहीनले सजिलै बुझ्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?