Comments Add Comment

ग्यास र पेट्रोल खोज्दै दैलेखको चट्टान चीन लगियो

३ असार, काठमाडौं । नेपालमा ग्यास र पेट्रोलको उत्खननका लागि चिनियाँ सरकारको सहयोगमा अध्ययन सुरु भएको छ । चिनियाँ टोलीले दैलेख लगायतका केही स्थानमा पुुगेर नमूना संकलन गरिसकेको छ । अब चीनबाट त्यसको रिपोर्ट आउन बाँकी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र ग्यास उत्खनन् गरिसक्ने बताएसँगै सरकारले पेट्रोल उत्खननलाई प्राथमिकतामा राखेको हो । के नेपालमा पेट्रोलियम पदार्थको उत्खनन सम्भव छ ? ग्यास तथा इन्धन उत्खननबारे अहिलेसम्म के कस्तो काम भइरहेको छ ? यसै सेरोफेरोमा चिनियाँ टोलीसँगै पेट्रोल खानी खोज्दै दैलेख पुगेर फर्केका उद्योग मन्त्री सोमप्रसाद पाण्डेसँग अनलाइनखबरकर्मी पुष्प ढुंगानाले गरेको कुराकानीः

som p pandey

ग्यास उत्खनन् गर्नेबारे अहिले के सरकारका तर्फबाट के काम भइरहेको छ ?

दैलेखबाट प्रारम्भिक अनुसन्धानको काम भइरहेको छ । दैलेखमा ३ सय वर्ष पुरानो ज्वाला देखिन्छ । अस्ति मैले पनि त्यहाँ ग्यास निभाएर फेरि आगो बालेर हेरेँ । त्यस क्षेत्रमा धेरै ग्यास लिकेज भइरहेको छ । त्यहाँका खोलामा पानीका फोका देखिने गरेको छ, त्यो पनि ग्यास बाहिरिएको हो ।

व्यवसायिक प्रयोजनका लागि पुग्ने गरी त्यहाँभित्र ग्यास भण्डार छ कि छैन भन्ने पत्ता लगाउन चिनियाँ टोलीले अनुसन्धान गरिरहेको छ ।

कतिजनाको टोली छ ?

पहिलो चरणमा ६ जना विज्ञहरु आएका छन् । उनीहरुले दैलेखमा एक महिनासम्म अध्ययन अनुसन्धान गरी त्यहाँका चट्टानहरु चाइनाको प्रयोगशालामा लगेर अध्ययन गरिरहेका छन् । उनीहरु केही समयमै नेपाल फर्किन्छन् ।

प्रारम्भिक अध्ययनले के देखायो ?

उनीहरुले मलाई दिएको प्रारम्भिक जानकारीअनुसार दैलेखमा ठूलो मात्रामा पेट्रोलियम पदार्थ छ । चट्टानको प्रकृति हेर्दा ग्यास भण्डार गर्ने खालको चट्टान छ भनेर प्राविधिकले भनेका छन् । ठूलो सम्भावना देखियो भनेका छन् ।

ती चट्टान बाहिर सतहका थिए वा गरेर भित्री भागबाट निकालिएको हो ?

सबैतिरको चट्टान समेटिएको छ । ड्रील गरेर पनि निकालिएको थियो, बाहिरका पनि थिए । उनीहरुले दैलेखमा ग्यासको अतिरिक्त पेट्रोलको पनि ठूलो सम्भावना देखियो भनेर गएका छन् ।

उत्खनन् गर्न सकिन्छ त ?

उत्खनन् गर्न त सकिन्छ । तर एउटा समस्या, त्यो कच्चा ग्यासको भण्डार जमिनको तल्लो भागमा रहेको र लिक भएर (चुहिएर) बाहिर आएको हो कि भन्ने अनुमान गरेका छन् उनीहरुले ।

जहाँ ग्यास देखिएको हो, त्यो निकै उचाइमा भएका कारण यस्तो अनुमान गरिएको हो । अब ड्रिल गरेर ग्यासको स्रोत कति तल छ भन्ने हेरेपछि मात्रै उत्खननको काम शुरु हुन्छ ।

दैलेखको डाँडाबाट ग्यास निकालेर भान्छामा नेपाली ग्यास प्रयोग गर्न सकिने सम्भव देख्नुभएको छ ?

उनीहरु (चिनियाँ प्राविधिक) को रिपोर्टअनुसार मैले त्यो सम्भव देखेको छु । रिपोर्टअनुसार उनीहरुलाई विश्वास गर्नुपर्छ । त्यसका आधारमा भन्दा म ढुक्क छु । मैले प्रधानमन्त्री, पत्रकार, नागरिक समाजलाई जानकारी दिनुपर्ने हुन्छ, मलाई हरेक कुराको जानकारी देउ भन्दा उनीहरुले अहिलेसम्म ग्यास रहेको पाइएको र त्यसको उत्खनन् गर्न सकिने प्रारम्भिक जानकारी गराएका हुन् ।

उनीहरुले मलाई हामीले देखेको चट्टानको प्रकृतिबाट यहाँ निकै धेरै व्यापारिक सम्भावनासहितको ग्यास उत्खनन् गर्न सक्ने आधार देखेका हौँ भनेका हुन् ।

petrol

यो कस्तो ग्यास हो ? भण्डारण गर्न सकिन्छ ?

त्यहाँ भेटिएको ग्यास हामीले खाना पकाउने एलपी ग्यास जस्तै हो । भण्डारण गर्न र ओसार-पसार गर्न सकिन्छ । यसपछि हामी चाँडै मुस्ताङ जाँदैछौँ । मुस्ताङ्गमा पनि निकै सम्भावना रहेको हाम्रो प्राविधिकले बताएका छन् ।

कति वर्षमा हामीले आफ्नै ग्यास बाल्न पाउँछौँ ?

अध्ययन, अनुसन्धान र अन्वेषण गर्न समय लाग्छ । यदि अनुसन्धानको काम चाँडै सम्पन्न भयो भने दैलेखमा बाहिरिइरहेको ग्यासलाई डेढ वर्षभित्र निकाल्न सक्छौँ । तर, मेशिन ठूलो लाग्ने र त्यहीअनुसार खर्च हुँदा खर्चअनुसारको व्यापारिक प्रयोजनका लागि ग्यास भण्डारण छ कि छैन भन्ने कुरा पत्ता लगाउने काम भइरहेको छ । त्यो पत्ता लागेको डेढ वर्षमा उत्खननको काम शुरु गर्न सक्छौँ ।

कहिलेसम्म नेपालीले आफ्नै देशमा उत्पादन भएको ग्यास बाल्न पाउँछन् ?

सबै ठाउँको होइन, दैलेखको ग्यास उत्खनन गर्न सकिने सम्भावना छ, ब्लक नं ३ र १० बाट पेट्रोल पनि उत्खनन् गर्न सकिने सम्भावना बढी छ । प्रधानमन्त्रीले २ बर्ष भन्नुभएको हो, चिनियाँ टोलीले हामीलाई साढे २ बर्ष भनेका हुन् । मैले चाँही व्यक्तिगत रुपमा ३ वर्षसम्म सकिन्छ भन्ने गरेको छु । त्यो पनि प्राविधिकले दिएको समयमा ६ महिना थपेर त्यो समय तोकेको हुँ ।

प्रधानमन्त्रीले बढी नै जोड दिएर दुई वर्षभन्दा नकटाउँ भन्नुभएको थियो ।

भनेपछि २ बर्षभित्र इन्धन निकाल्ने प्रधानमन्त्रीको बचन खेर जाँदैछ ?

अहिले त्यसो भन्न सकिन्न । कहीँ कतै निकाल्न सकिन्छ कि भनेर काम भइरहेको छ । हामीले दुई वर्ष धैर्य गर्नुपर्छ । यदि दुई बर्षमा नआएर तीन वर्षमा आए पनि प्रधानमन्त्रीको सपना पूरा हुन्छ ।

ग्यास उत्खनन्का क्रममा कुनै दबाव, हस्तक्षेप केही आएको छ ?

हामी आफ्नो देशभित्रको सम्भावनाका बारेमा अध्ययन गदैछौँ । मैले तपाईले संकेत गर्न खोज्नुभएको बुझेँ, अहिलेसम्म त्यस्तो कुनै आभाष भएको छैन । हुने कुरा पनि हुँदैन । आफ्नै देशमा ग्यास उत्खनन् गर्ने घोषणा गर्ने क्रममा सामाजिक सञ्जालमा छिमेकी मुलुकलाई जोडेर त्यस्ता चिन्ता आएका थिए । अब त्यस्तो हुनुहुँदैन ।

तपाई कति उत्साहित हुनुहुन्छ ?

मेरो मन्त्रालयको जिम्मेवारी हो । र व्यक्तिगत रुपमा पनि मलाई बढी चासो छ । मेरो कार्यकालमै ग्यास निकाल्न सकेँ भने मेरो पनि इतिहास बन्ने कुरा हुन्छ, देशलाई पनि धेरै ठूलो फाइदा हुनेवाला छ । यिनै कारण पनि म उत्साहित भएर काम गरिरहेको छु । जति सकिन्छ, छिटो गर्ने कोसिस गरिरहेको छु ।

तपाईको ध्यान ग्यासमा मात्र केन्द्रित हो ?

होइन । इन्धन अर्थात पेट्रोलका लागि पनि मैले जोड दिएको छु । त्यसको पनि काम भइरहेको छ । खानी विभागले नेपालमा १० वटा ब्लकमा पेट्रोलको सम्भावना देखाएको छ । धनगढीको ब्लक नं १ र ब्लक नं २, कणर्ाली ब्लक नं ३, नेपालगञ्ज ब्लक नं ४, लुम्बिनी ब्लक नं ५, चितवन ब्लक नं ६, वीरगञ्ज ब्लक नं ७, मलंगवा ब्लक नं ८, जनकपुर ब्लक नं ९ र विराटनगर ब्लक नं १० गरि १० ठाउँमा इन्धन रहेको भौर्गभिक विभागको अध्ययनले देखाएको छ । त्यसलाई पनि दैलेख घोषणा पत्रमा समेटेका छौँ ।

थप अध्ययनचाँहि भएको छैन ?

ब्लक नं ३ र ब्लक नं १० मा बढी इन्धन भण्डारण छ भन्ने अनुमान गरिएको छ । त्यही आधारमा यी ठाउँको थप अनुसन्धानको काम पनि अहिले त्यही चिनियाँ टोलीले गरिरहेको छ । त्यहाँ सम्भावनाका आधारमा चाँडै उत्खननको काम शूरु हुन्छ ।

इन्धनको विषयमा ठोस प्रगति कहाँ पुगेको हो ?

भूगर्व विभागको प्रतिवेदन अध्ययन गरेर चिनियाँ टोलीले ब्लक नं ३ र ब्लक नं ४ को प्रारम्भिक अध्ययन गरिरहेको छ । त्यहाँको माटो पनि चिनियाँ प्रयोगशालामा लगेर अनुसन्धान भइरहेको छ ।

यो अनुसन्धान सकिएपछि ग्रिल गरेर थप अनुुसन्धानको काम हुन्छ र यो अनुसन्धानको निष्कर्षका आधारमा उत्खननको काम अघि बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment