Comments Add Comment

गुल्मीका प्रजिअको नयाँ प्रयोगः सेवाग्राहीलाई सित्तैमा चिया-कफी

DAO-Gulmi,-Photo-Pradipraj-Kanel
जिल्ला प्रशासन कार्यालयमा चिया पिउँदै सेवाग्राही । तस्वीर: प्रजिअ कँडेलको फेसबुक

३ असार, गुल्मी । धेरै सरकारी कर्मचारी सेवाग्राहीका लागि पिउने पानीको समेत व्यवस्था गरिएको हुँदैन । तर, जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवाग्राहीलाई कार्यालयभित्रै निःशुल्क चिया-कफी पिउने प्रवन्ध मिलाएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जिल्ला प्रशासन कार्याललाई जनमैत्री बनाउने भन्दै नयाँ प्रयोग गरेका हुन् । यो सेवा असार १ गतेदेखि सुरु भएको छ । सिडिओ कार्यालयको चिया पिउने पहिलो सेवाग्राही बने दोहली-३ का लक्ष्मण विष्ट ।

प्रमुख जिल्ला अधिकारी कँडेलले जिल्लामा थुप्रै प्रशंसायोग्य काम पनि गरेका छन् । यातायात सेवामा लगाइएको टाइम कार्ड, सरसफाई अभियान, क्लोथ बैंक, ध्वनी बडापत्रलगायतका कामको सुरुवात गरेर उनले प्रशंसा बटुलेका हुन् । यसअघि पाँचथरको प्रजिअ हुँदा उनले कार्यालयलाई अपांग, जेष्ठ नागरिक र असहायमैत्री बनाएका थिए । त्यसवापत् उनलाई ‘घर-घरमा सिंहदरवार’ अभियानअन्तर्गत एन्टेना फाउन्डेसनले देशभरकै उत्कृष्ट प्रजिअको सम्मान दिएको थियो । सन् २०१५ को इन्टिग्रिटी आइडलको उपाधीसमेत उनले जितेका छन् ।

Pradip Raj Kanel
प्रदीपराज कँडेल

प्रजिअ कँडेल भन्छन्, ‘जिल्ला प्रशासन भनेको सबैलाई सेवा दिने साझा घर हो । टाढा-टाढाबाट थाकेर आएका सेवाग्राहीलाई रिफ्रेस पनि गराउने र कार्यालयप्रति सकारात्मक भाव उत्पन्न गर्न यो काम गरेको हुँ ।’

कार्यालयसँग चिया-कफी खुवाउने स्रोत नभएकाले दाताको सहयोगमा यस्तो कामको थालनी गरेको कँडेलले जानकारी दिए । यसमा गुल्मी केयर विश्व सञ्जाल, अखण्ड नेपाल लगायतले सहयोग गरेका छन् । सञ्जालले २ वटा वाटर डिस्पेन्सर मेसिन तथा अखण्ड नेपाल पार्टीका गुल्मी जिल्ला अध्यक्ष नेत्र बस्नेतले असार महिनाभरका लागि चिया, कफी र चिनी सहयोग गरेका छन् ।

पहिलो सेवाग्राहीको रुपमा चिया पिएका बिष्टले जिल्ला प्रशासन कार्यालयको सेवा पारिवारीक सत्कारजस्तो भएको प्रतिक्रिया दिए । यस्ता उदाहरणीय काम सबै कार्यालय प्रमुखले गरेमा कर्मचारीहरुप्रतिको सेवाग्राहीको नकारात्मक दृष्टिकोण मेटिने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment