६ असार, काठमाडौं । ग्यास विस्फोट भएर ललितपुरमा तीन जनाको ज्यान गए लगत्तै सरकारले गठन गरेको छानबिन समितिले मानवीय त्रुटीले ग्यास सिलिण्डर विष्फोट भएको निष्कर्ष निकालेको छ । छानविन समितिले आफ्नो प्रतिवेदन सोमबार सरकारलाई बुझाएको छ ।
ललितपुरमा खाना पकाउने एचपी ग्यास सिलिण्डर विष्फोट हुँदा तीन जनाको मृत्यु भएको थियो ।
प्रतिवेदनमा रेगुलेटर तथा पाइप लामो समयसम्म परिवर्तन नगर्ने र जथाभावी प्रयोग गर्दा विष्फोट भएको उल्लेख छ ।
गत जेठ ७ गते ललितपुर उपमहानगरपालिका-१९ हौगलमा तामा र पित्तलको पाता जोड्ने क्रममा ग्यास सिलिण्डर विष्फोट हुँदा सुरेश ताम्राकार, ध्रुव ताम्राकार र राजेश ताम्राकारको ज्यान गएको थियो । पीडित परिवारले ५० लाख रुपैयाँ क्षतिपूर्ति माग्दै आपूर्तिमन्त्री गणेशमान पुनसमक्ष ज्ञापनपत्र बुझाएका थिए ।
ग्यास सिलिण्डर विष्फोट भएर मानवीय क्षति हुन थालेपछि सरकारले छानबिन समिति गठन गरेको थियो । आपूर्तिमन्त्री पुनका अनुसार मानवीय त्रुटीका कारण ग्यास सिलिण्डर विष्फोट हुने गरेको प्रतिवेदन मन्त्रालयमा बुझाइएको छ ।
समितिले बुझाएको प्रतिवेदन चित्तबुझ्दो नभएपछि आपूर्ति मन्त्रालयले सबै ग्यास उद्योगका सिलिण्डरको मापदण्ड र गुणस्तर अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । आपूर्ति बिभागका निर्देशक निरज पौडेलको नेतृत्वमा गठित समितिलाई प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको छ ।
छानबिन तथा अध्ययन समितिले सबै ग्यास कम्पनीको अनुगमन गर्ने, हाइड्रोलिक टेष्ट भए-नभएको हेर्ने र मापदण्डअनुसार नचलेका कम्पनीलाई कानुनको दायरामा ल्याउन सिफारिस गर्नेछ ।
प्रतिक्रिया 4