Comments Add Comment

मधेस आन्दोलनको बेथरी घटनामा प्रहरीलाई कारण देखाउ आदेश

प्रहरीबाट मारिएका ४ वर्षीय बालकका बुवा न्यायको खोजीमा

Punarabedan-Adalat-Butwal७ असार, भैरहवा । मधेस आन्दोलनको क्रममा ०७२ भदौ २९ गते रुपन्देहीको बेथरीमा प्रहरीले हाटबजारमा अन्धाधुन्ध गोली चलाउँदा ज्यान गुमाएका ४ वर्षीय बालक चन्दन पटेलका वुबा अवधेश कुर्मी न्याय खोज्दै पुनरावेदन अदालतमा पुगेका छन् । अदालतले जिल्ला प्रहरी कार्यालय रुपन्देहीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

मधेस आन्दोलनको क्रममा प्रहरीले हाटबजारमा अन्धाधुन्ध गोली चलाउँदा ४ वर्षीय बालकसहित ६ जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जाहेरी दर्ता गर्न नमानेपछि मृतक पटेलका वुबा प्रहरीविरुद्ध परमादेशको आदेश जारी गरी न्याय पाऊ भनी पुनरावेदन अदालतमा पुगेका हुन् ।

आफ्नो ४ वर्षीय छोरा कुनै आन्दोलनमा सहभागी नभए पनि छोराको हत्या गरेको प्रहरीले जाहेरी दर्ता गर्न नमानेका कारण पुनरावेदन अदालत गएको कुर्मीले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जाहेरी बुझ्न अस्विकार गरेपछि उनले उक्त जाहेरी कुरियर मार्फत पठाएका थिए । तर पनि प्रहरीले जाहेरी दर्ता गर्न नमानेको कुर्मीको भनाई छ ।

उनले सरकारी मुद्दा सम्बन्धी ऐन २०४९ को दफा ३ को उपदफा ५ बमोजिम कुरियर मार्फत जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जाहेरी पठाएको र सोको बोधार्थ प्रतिलिपि राष्ट्रिय मानवअधिकार आयोग केन्द्रीय कार्यालय काठमाडौ र तराई मानवअधिकार रक्षक सञ्जाल क्षेत्रीय कार्यालय भैरहवा लगायतका कार्यालयहरुमा दर्ता गराएको बताए । तर, सो जाहेरी दर्ता गरेको वा दरपीठ गरेको बिषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।

त्यसपछि आफूले आइतबार पुनरावेदन अदालत बुटवलमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीविरुद्ध परमादेशको मुद्दा दायर गरेको उनले जानकारी दिए । मुद्दामा मृत्यु सम्बन्धमा समय सीमा तोकेर निष्पक्ष तथा विश्वसनीय अनुसन्धान गर्न, कुनै हेलचेक्राइ नगर्न तथा अनुसन्धानको आवधिक प्रतिवेदन प्रत्येक महिना अदालतलाई समेत बुझाउनु भनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नाममा परमादेशको आदेश जारी गर्न माग गरिएको छ ।

मुद्दा माथि पुनरावेदन अदालतले कारण देखाउ आदेश जारी गरेको छ । पुनरावेदन अदालत बुटवलका न्यायाधीश रामेश्वर राजभण्डारीको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment