Comments Add Comment

भागेको राँगोले शहिदगेटमा बितन्डा मच्चायो

Buffalo (6)

९ असार, काठमाडौं । बिहीबार दिउँसो करिब १ बजे एउटा छाडा राँगो त्रिपुरेश्वरबाट मच्चिदै सडकै-सडक सुन्धारातर्फ दौडियो । बलिष्ठ राँगो अनियन्त्रित तवरले भाग्दै आएको देखेपछि पैदलयात्रीको भागदौड सुरु भयो ।

राँगो आतंकले शहीदगेट आसपास सवारी जाम भयो । एकाएक सवारीसाधनहरु रोकिए । मोटरसाइकल नै छोडेर चालकहरु भाग्न थाले । भागाभागमा परेर केही यात्रु लडे र सामान्य घाइते भए । शहीदगेटसम्म आइपुग्दा राँगोले झण्डै ६ जनालाई हानेर घाइते बनाइसकेको थियो ।

प्रहरीका अनुसार एक महिलालाई राँगोले हानेर सख्त घाइते बनाएको छ । उनलाई बटुवाहरुले उद्धार गरेर अस्पताल पठाएका छन् । उनको परिचय खुलेको छैन । अन्य ६ जना मोटरसाइकल चालक राँगोको आक्रमणमा परे । कसैको खुट्टामा चोट लाग्यो, कसैको भाग्दा खुट्टा मर्कियो । राँगोले एउटा कारलाई हानेर शीशामा प्वाल पनि पारिदियो ।

Buffalo (2)

महानगरीय प्रहरी परिसर अन्तरगतको जनसेवा प्रहरी र नगर प्रहरीको टोलीले बल्ल-तल्ल घेरा हालेर राँगो नियन्त्रणमा लिए । त्यसका लागि ठूलै मेहनत गर्नु परेको असइ राधेश्याम डिसीले जानकारी दिए । हेलमेट लगाएका एक व्यक्तिले रातो कपडा देखाउँदै भैंसीलाई समात्न सहयोग गरेका थिए ।

असइ डिसीकाअनुसार राँगो टेकुतर्फबाट आएको बुझिएको छ । टेकुमा थुप्रै राँगा काट्ने वधशालाहरु छन् । त्यहाँका काट्न लाग्दा राँगो भागेको हुनसक्ने डिसीले बताए । राँगोको टाउकोमा एउटा सानो चोट छ भने सिंङमा रातो अबिर पनि देखिएको छ ।

Buffalo (4)

सुरुमा राँगोलाई समातेर सहिद गेटस्थित यात्रु प्रतिक्षालयमा बाँधिएको थियो । अहिले राँगोलाई टुँडीखेलमा लगेर बाँधेर राखिएको छ । नगर प्रहरीले त्यसलाई निगरानीमा राखेका छन् ।

अहिलेसम्म राँगो हराएको भन्दै प्रहरीकोमा कोही आएको छैन । तर, एकजना पीडित भने आफ्नो बिग्रिएको मोटरसाइकल र खुट्टामा लागेको चोट लिएर टुँडीखेलमै छन् । उनी क्षतिपूर्तिका लागि राँगो मालिकको प्रतिक्षामा छन् । धेरै घाइतेहरु वीर अस्पतालमा उपचार गराएर फर्किसकेका छन् ।

यसअघि काट्दाखेरि भागेको भैंसी ह्याम्स अस्पताल भित्र छिरेर आतंक मच्चाएको थियो जसलाई प्रहरीले गोली हानेर मारेका थिए । (यो समाचार पनि पढ्नुस्- भैंसीले अस्पतालभित्रै पसेर बितण्डा मच्चाएपछि)

Buffalo (3)

तस्वीर: श्रीधर पौडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment