Comments Add Comment

खप्तडमा पूर्व युवराज पारसदेखि पूर्व मुख्यसचिव पौड्यालसम्म

'पैसा धेरै हुँदा खप्तडको पर्यटन विकास हुन सकेन'

Khaptad-2
१० असार, काठमाडौं । सुदूरपश्चिमको सुन्दर तथा आर्कषक पर्यटकीय गन्तव्य खप्तडमा पूर्वयुवराज पारस शाहदेखि पूर्व मुख्यसचिव लिलामणी पौड्यालसम्म पुगेका छन् । गंगादशहरा मेलाको अवसर पारेर शाह र पौड्याल खप्तड पुगेका हुन् ।

एरोलिना ट्राभेल्स एण्ड टुर्स र सुदूरपश्चिम पर्यटन अभियन्ता किशोर खड्काले तयार पारेको टुर प्याकेजमा पूर्व मुख्यसचिव पौड्याल आफ्नो परिवार सहित खप्तड पुगेका हुन् ।

गंगादशहरा मेलाको अवसर पारेर खप्तड हिँडेको पूर्व युवराज पारसको समूह केही दिन ढिला गरी खप्तड पुगेको थियो । मेलाको तेस्रो दिन खप्तड पुगेको पारसको समुह पोखरा, लुम्बिनी, धनगढी, डोटी हुँदै खप्तड पुगेको हो ।

पारस शाहले पोखरा र लुम्बिनीमा केही समय ब्यतित गर्दा र स्वास्थ्यका कारण डोटीको झिग्रानामा २ दिन आराम गर्नु परेकाले मेलाको समयमा खप्तड पुग्न नसकेको राष्ट्रिय सरोकार मञ्चका अध्यक्ष सोम बिक्रम सिंहले बताए । पूर्व युवराज पारस शाहसँग स्वर्गीय धिरेन्द्र शाहकी छोरी शिताष्मा शाह, प्रवजन बहादुर सिंह (योगि ब्यग्रनाथ), राजेन्द्र सिंह, राजेश सिंह आदी थिए ।

पौड्यालको समुह बझाङको तमैल हुँदै लामातोलाबाट खप्तड पुगेको हो । उनिहरु खप्तडमा २ रात बिताएर गंगादशहरा मेला र खप्तडको बिबिध सौन्दर्यता अवलोकन गरी नवौं दिनका दिन काठमाडौं फिर्ता भएको पर्यटन अभियन्ता किशोर खड्काले जानकारी दिए । पारस शाह भने करिब २ हप्ता खप्तड बस्ने तयारी गरेर गएको बताइएको छ ।

Khaptad

पूर्व मुख्यसचिव पौड्यालले खप्तडमा बिकासको बाधक पैसा भएको बताए । धनगढीमा उद्योग बाणिज्य संघ कैलाली र नाट्टा फारवेष्ट च्याप्टरले आयोजना गरेको छलफलमा उनले यस्तो बताएका हुन् ।

आफु पर्यटन सचिव हुँदा पर्यटन पूर्वाधारको ठूलो रकम खप्तड क्षेत्र पर्यटन विकास समितीमार्फत खप्तडको पर्यटन विकासको लागि दिइएको, एक्कासी यति ठूलो रकम जाँदा स्थानीय नेता, राजनीतिज्ञहरुको चासो बढदा उक्त रकम दुरुपयोग भएको उनको भनाई छ ।

मुख्य सचिव पौड्यालले भने- ‘त्यसपछिका दिनमा खप्तडको बिकास त्यतिधेरै हुन सकेन, कुनै काम गर्दा नेता र त्यहाँका केही अगुवाका पक्षमा बजेट र योजना नबन्दा मुद्धा हालेर काम रोक्ने, विवाद सिर्जना गर्ने शैली बढ्यो । पैसा नभएर होइन, पैसा बढी भएर खप्तडको विकास भताभुंग भयो ।’

खप्तडमा निजी क्षेत्रले होटेल सञ्चालन गर्न राज्य र राष्ट्रिय निकुञ्जको नीति बाधक भएको सहभागीले बताए । जम्मा १० बर्षको लागि जग्गा लिजमा दिने निकुञ्जको नीतिले ब्यवसायीक लगानी उठने कल्पना सम्म नगरेको उनिहरुको दाबी थियो । कम्तिमा ४० बर्ष सम्म जग्गा उपलब्ध हुनसके आफुहरु खप्तडमा लगानी गर्न तयार रहेको व्यवसायीले बताए ।

पछिल्ल्ाो समयमा खप्तडमा आन्तरीक तथा बाहय पर्यटकको चहल पहल तिब्र बनेको अभियन्ता किशोर खड्काले बताए । यो बर्ष गंगादशहरा मेलामा मात्रै देशका बिभिन्न स्थानबाट गरी करिब २ हजारको हाराहारीमा आन्तरिक पर्यटक तथा तिर्थालुहरु खप्तड पुगेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment