Comments Add Comment

अतिक्रमणले रुपातालको अस्तित्व संकटतर्फ, संरक्षणमा कसैले चासो दिएनन्

Rupatal-pokhara१८ असार, पोखरा । कास्कीको लेखनाथमा रहेको पर्यटकीय रुपातालको अस्तित्व संकटमा परेको छ । कास्कीको लेखनाथ, रुपाकोट, हंसपुरको सिरान र माझठानाको केही भागले छोएको यो रुपाताल प्राकृतिक र मानवीय अतिक्रमणका कारण संकटमा परेको हो ।

सूर्यको किरणसँगै रुपातालको पानीले रुप फेरिरहने र त्यो फेरिएको रुप सुन्दर देखिने भएकाले रुपाताल नाम राखिएपनि अहिले यसको सौन्दर्य खस्किँदै गएको स्थानीय बताउँछन् । प्राकृतिक र मानवीय अतिक्रमणका क्रममा रुपाताल फोहोर र दुर्गन्धित बन्दै गएपछि यसको सौन्दर्य पनि खस्कदै गएको उनीहरुको गुनासो छ ।

सौन्दर्य मात्रै हैन प्राकृतिक तथा मानवीय अतिक्रमणका कारण रुपातालको आकार पनि साँघुरिएको छ । नापी विभागको २०३२ सालको तथ्यांकअनुसार रुपातालको क्षेत्रफल १३५ हेक्टर थियो । तर अहिले यो करीब एक सय हेक्टरमा साँघुरिएको छ ।

रुपातालको आकार मात्रै साँघुरिएको छैन सतह पनि पुरिँदै आएको छ । पछिल्लो १० वर्षमा झण्डै एक तिहाई गहिराइ पुरिएको स्थानीयले बताएका छन् । १० वर्षअघी रुपाताल बटुको आकारमा थियो, अहिले थाल आकारमा परिणत भएको छ-तालको आकार र गहिराई घट्दै गएर रुपाताल थाल आकारमा परिणत भएको छ ।

रुपाताल पुर्नस्थापना तथा मत्स्य पालन सहकारी संस्थाका अध्यक्ष कुलप्रसाद अधिकारीले भने,-‘दश वर्षअघि तालको गहिराई कम गहिरो ठाउँमा साढे ४ मिटर र सबैभन्दा गहिरो ठाउँमा ९ मिटरसम्म थियो, तर अहिले यो घटेर कम गहिरो ठाउँमा २.७४ मिटर र सबैभन्दा गहिरो ठाउँमा साढे ४ मिटरमा झरेको छ ।’

यहि रफ्तारमा ताल पुरिने र साँघुरिने हो भने अबको १० वर्षमै ताल संकटमा पर्ने र २०/२५ वर्षमा तालको नाम निशाना मेटिने उनको चेतावनी छ ।

Rupatal-pokhara-3तालको माथिल्लो क्षेत्रमा खेती गरिदा त्यो भाग कमलो हुने र बर्खाको समयमा त्यहि माटो भेलसँगै बगेर तालमा झरेर ताल पुरिएको संस्थाको बुझाइ छ । रुपातालको माथिल्लो क्षेत्रमा अमरसिद्ध मावि पचभैया, आनन्दज्योति मावि र तालवेशी मावि विर्ताकोचौरको जग्गा रहेको छ । ति विद्यालयहरुले खेती गर्नका लागि जग्गा ठेक्कामा दिएका छन् ।

ठेकेदारले लापर्वाहीपूर्वक खेती गर्नेगरेको संस्थाको आरोप छ । जसका कारण वर्षेनी माटो बगेर तालमा आउने र सोही कारण ताल पुरिएको उसको तर्क छ । त्यस्तै, हरेक वर्ष तालको सतह घटेको र आकार पनि खुम्चिँदै जाँदा जग्गा ठेकेदारले तालको जग्गा अतिक्रमण गरेर खेती गर्नेगरेका छन् ।

अतिक्रमण रोकेर ताल संरक्षण गर्न संस्था डेलिगेसन पनि गएको छ । ३ जना प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीलाई समेत भेटेर ज्ञापन पत्र बुझाएपनि कसैलेपनि चासो नदेखाएको संस्थाका अध्यक्ष अधिकारीले गुनासो गरे ।

हालका प्रजिअ हरिप्रसाद मैनालीलाई पनि भेटेर भनिसकेको बताउँदै उनले भने,-‘हामीले तालको अवस्था र समाधानका उपायसहितको ज्ञापनपत्र बुझाइसकेका छौं, सीडीओले पनि चासो दिनुभएन ।’ प्रजिअले चासो नदिएपछि प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र पठाइएको तर प्रतिक्रिया नआएको उनले बताए ।

Rupatal-pokhara-4ताल संरक्षण गर्ने हो भने तालमा बाँध बाँध्नुपर्ने संस्थाको भनाइ छ । व्यवस्थित बाँध बाँधेर माथिल्लो क्षेत्रमा खेती गर्न रोक्ने हो भने धेरै हदसम्म ताल संरक्षण हुने संस्थाका अध्यक्ष अधिकारी बताउँछन् ।

त्यस्तै, पुरिदै गएको तालको भाग जोगाउन पुरिएका ठाउँहरुबाट माटो लैजानेलाई निःशुल्क माटो उपलब्ध गराउने पनि संस्थाले जनाएको छ । यद्यपी माटो लैजानकै लागि भने कसैलेपनि सम्पर्क नगरेको संस्थाका अध्यक्ष अधिकारीले बताए ।

रुपाताल संरक्षणका लागि पछिल्लो समयमा विश्व वैंकले चासो देखाएको संस्थाले जनाएको छ । केही समयअघि अवलोकनमा आएको विश्व वैंकका प्रतिनीधिले संरक्षणमा भूमिका खेल्ने आश्वासन दिएर फर्केको संस्थाका अध्यक्ष अधिकारीले बताए ।

माछाका लागि प्रख्यात
रुपाताल सौन्दर्यका लागि मात्रै हैन माछाका लागि पनि प्रख्यात छ । रुपाको माछा स्वादिलो हुने माछाका पारखीहरु बताउँछन् । त्यसैले होला दैनिक सयौं व्यक्ति माछाको स्वाद लिन रुपाताल किनार पुग्छन् ।

Rupatal-pokhara-2
अझ सार्वजनिक बिदा र शनिबारका दिन त रुपाताल किनारमा माछा खान जानेको भीड नै लाग्ने गर्छ ।  माछा पारखीको संख्या बढ्दै गएपछि रुपाताल किनार तथा नजिकका डाँडामा १४ वटा पर्यटकीय होटलहरु बनिसकेका छन् । त्यहाँ होटल बन्ने क्रम निरन्तर बढ्दो छ ।

रुपातालमा माछा उत्पादनका हिसाबले पनि अग्रणी छ । पोखरा र लेखनाथमा उत्पादित माछाको एकतिहाई भन्दा बढी माग रुपातालकै माछाले धान्ने गरेको रुपाताल पुनर्स्थापना तथा मत्स्यपालन संस्थाका अध्यक्ष कुलप्रसाद अधिकारीले बताए ।

सरदरमा दैनिक एकसय ५० किलो भन्दा बढी माछा झिक्ने गरिएको उनले जानकारी दिदै भने,-‘कहिले ६०-७० केजी मात्र पनि पर्छ, कहिले १ हजार २ सय केजीसम्म पनि एकैदिन परेको रेकर्ड छ ।’

रुपाताल डुंगा सयरका लागि पनि प्रख्यात छ । डुंगा सयर गर्न प्राय युवा जोडी त्यहाँ पुग्ने गरेको स्थानिय बताउँछन् । खास गरेर मायालु जोडीका लागि डेटिङ्ग स्पटका रुपमा समेत रुपाताल प्रमुख गन्तव्यका रुपमा परिचित छ ।

डुंगा सयरका लागि संस्थाले १९ वटा डुंगा सञ्चालन गर्दै आएको छ । स्विमिङ र फिसिङका लागि पनि रुपातालमा पर्यटक पुग्ने गरेको पर्यटन ब्यबसायी दामोदरभक्त थापाले बताए । उनका अनुसार रुपातालको माछाको माग अत्यधिक भएपनि उत्पादन माग अनुसार हुन नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment