Comments Add Comment

एक सातामै तरकारीको भाउ सतप्रतिशत वृद्धि

Kalimati-tarkari-bazzar१९ असार, काठमाडौं । वर्षा बढेसँगै उपत्यकामा तरकारीको भाउ बढेको छ । एक सातामै केही तरकारीको भाउ सतप्रतिशत वृद्धि भएको छ । तर, सरकारले मूल्य नियन्त्रणका लागि कुनै कदम चालेको छैन ।

एक साताको अवधिमा सबैभन्दा धेरै हरियो खुर्सानीको मूल्यवृद्धि भएको छ । साताअघि (११ असार) ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको हरियो खुर्सानी शनिबार १ सय ५५ रुपैयाँमा बिक्री गरियो ।

४० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको तिते करेला र घिरौँला शनिबार क्रमश : ८० र ७० रुपैयाँमा बिक्री भएको थियो । सरकार, व्यवसायी र नियमनकारी निकायले बर्खामा तरकारी नष्ट हुने र अहिले भएको ढुवानी अवरोधले मूल्य बढेको बताएका अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

तर, मूल्य नियमनका लागि कुनै पहल गरेका छैनन् । अनुगमन र मूल्य नियमनको जिम्मेवारी लिएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागका महानिर्देशक गोकुल धितालले अहिले मूल्य बढ्ने समय भएको भन्दै नियमनको पहल नथालिएको बताए । ‘अहिले बर्खा, ढुवानीमा भएको अवरोध र बेमौसमका कारण केही तरकारीको भाउ बढ्छ,’ उनले भने, ‘यसपटक मात्रै बढेको पनि होइन, प्रत्येक वर्ष यो समयमा तरकारीको भाउ बढ्ने गरेको छ ।’ बजारले मूल्य निर्धारण गर्ने भन्दै उनले नियमनको पहल नथालिएको पनि बताए ।

कालिमाटीका थोक व्यापारीले बजारभित्रकै खुद्रा व्यापारीलाई बिहानै तरकारीको भाउ निर्धारण गरी बिक्री गर्छन् । ठेलागाढा र किराना पसलले पनि थोक व्यापारीबाटै थोक मूल्यमा तरकारी लगेर उपभोक्तालाई तरकारी बेच्छन् ।

यसरी कालिमाटीसम्म धाएर तरकारी किनेका स्थानीय व्यापारीले ढुवानी लागतलगायत जोडेर उपभोक्तालाई झन् महँगोमा बिक्री गर्छन् । पसल र ठेलागाढामा कालिमाटीले तोकेभन्दा प्रतिकिलो औसत पाँच रुपैयाँबढी मूल्य पर्ने समितिका एक अधिकारीले बताए । कालिमाटीसम्म पुगेर उपत्यकाका १० प्रतिशत उपभोक्ताले मात्रै तरकारी खरिद गर्ने गरेको समितिको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment