Comments Add Comment

पहिरोले घर भत्किँदा दलित परिवारको बिचल्ली

Pyuthan-Pahiro२३ असार,पर्वत । लगातारको वर्षासँगै घरभन्दा माथिबाट आएको पहिरोले घर भत्किएपछि एक दलित परिवार बिचल्लीमा परेको छ ।

पर्वतको कुश्मा नगरपालिका–५ खुर्कोटस्थित डाँडा निवासी छविलाल दर्जीको घर गत आइतबार राति भत्किएको हो । भर्खरै निर्माण सम्पन्न हुन लागेको घर भत्किएपछि उनीहरुको बिचल्ली भएको छ ।

घरमाथि रहेको सडकबाट आएको बाढीका कारण पहिरो गएपछि घरमा पूर्ण रुपमा क्षति पुगेको दर्जीले गुनासो गर्नुभयो । घर भत्किँदा झन्डै  आठ लाख बराबरको क्षति भएको छ । गत माघदेखि निर्माण सुरु भएको दुईतले घर निर्माण सम्पन्न हुने चरणमा रहेको थियो ।

घर भत्किएपछि उनीहरु अहिले आफन्तकामा शरण लिएर बसेका छन् । सिलाइकटाइ व्यवसाय गरेर जम्मा गरेको पैसाले बल्लतल्ल बनाएको घर पनि पहिरोले भत्किएपछि दर्जी परिवार चिन्तित बनेका छन् । पाँचजनाको परिवार अहिले आफन्तकोमा शरण लिएर बस्नु परेको छविलाल दर्जीले बताए ।

राति ९ बजेको समयमा सबै परिवार नसुत्दै पहिरो आएकाले मानवीय क्षति भने हुन नपाएको उनले बताए ।

जीवनभर कमाएर एउटा घर बनाएको थिएँ, त्यही घर पनि पहिरोले लगिदियो, राहतको खोजीमा बुधबार सदरमुकाम कुश्माबजार आएका दर्जीले भने । उनले प्रहरी पुगेर घटनाको विवरण लिएको भएपनि अहिलेसम्म कुनै राहत नपाएको गुनासो गरे । बर्खायाममा अरूको घरमा बस्दा निकै समस्या भएको बताउँदै तत्कालका लागि आवश्यक राहत उपलब्ध गराइदिनसमेत दर्जीले माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment