Comments Add Comment

हिमालय एयरलाइन्सले कतारमा दैनिक उडान शुरु गर्ने

Himalayan-air
२३ असार, काठमाडौं । निजी क्षेत्रको हिमालय एअरलाइन्सले कतारको दोहामा दैनिक उडान सेवा सञ्चालन गर्ने भएको छ । यात्रुहरुको मागलाई सम्बोधन गर्दै हिमालयले असार २७ गतेदेखि दोहामा दैनिक उडान सञ्चालन गर्न लागेको हो ।

एअरलाइन्सले उडानको लागि अहिलेकै समय तालिका कायम गर्ने जनाएको छ । हिमालयको विमान हरेक दिन काठमाडौंबाट राती ११ बजे (स्थानीय समय) उडेर ०१ः३० बजे (स्थानीय समय) दोहा अवतरण गर्ने छ । त्यस्तै, विमान भोलिपल्ट दोहाबाट ०२ः ३० बजे (स्थानीय समय) उडेर विहान १०ः १५  बजे (स्थानीय समय) काठमाडौँ अवतरण गर्ने छ ।

हिमालयले अहिले हप्ताको ३ दिन मंगलबार, बिहिबार र शनिबार कतार उडान सञ्चालन गरिरहेको छ । यही जेठ १८ गतेदेखि एयरलाइन्सले कतारलाई आाफ्नो पहिलो गन्तव्य बनाउँदै नियमित उडान शुरु गरेको थियो । कम्पनीको एयरबस ३२०-२१४ विमानमा ८ बिजनेस क्लास र १५० इकोनोमी क्लास सिट क्षमता छ ।

हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले दोहा गन्तव्यलाई उच्च प्राथमिकतामा राखेर दैनिक उडान सेवा सञ्चालन गर्न लागेको बताए । हिमालयको दैनिक उडान सेवाले विशेष गरी कतारमा बस्दै र काम गर्दै आएका यात्रुहरुको लागि सेवा प्रदान गर्ने छ ।

हिमालय एयरलाइन्स अगष्ट २०१४ मा स्थापित निजी क्षेत्रको वायुसेवा कम्पनी हो । पहिलो नियमित उडान कतारमा गरिरहेको हिमालयले निकट भविष्यमा दिल्ली, ल्हासा, चेंगदु, बेइजिङ, कोलम्बो, बैंकक र हङकङमा पनि उडान भर्ने योजना बनाएको छ ।

हिमालयले आगामी पाँच वर्षभित्र पन्ध्रवटा एयरबस ल्याएर काठमाडौंबाट एसियाका विभिन्न गन्तव्य तथा अन्य मुलुकका विभिन्न श्ाहरहरुमा उडान सञ्चालन गर्ने तयारी गरिरहेको छ । एअरलाइन्स्ले केही समयपछि लामो दुरी उडान गर्ने एयरबस ए३३० जहाज ल्याएरु जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिकाको लागि उडान भर्ने जनाएको छ ।

संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्समा ४८.९९ प्रतिशत लगानी तिब्बत एयरलाइन्सको छ भने ५१.०१ प्रतिशत लगानी नेपाली लगानीकर्ताको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment