Comments Add Comment

‘स्पेन काण्ड’मा मुछिएका सांसदलाई निलम्बन गरियोस्ः कांग्रेस

एमाले र कांग्रेसमाथि पनि छानविन गरियोस्ः माओवादी

samsad

२३ असार, काठमाडौं । स्पेन भ्रमणका नाममा ‘मानव तस्करी’को आरोप लागेका माओवादी सांसदलाई निलम्बन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले माग गरेका छन् ।

उता माओवादी सांसदले भने कांग्रेस र एमालेलगायत विभिन्न दलका सांसदले मान्छेहरु विदेश लगेको भन्दै उनीहरुमाथि पनि छानविन गरिनुपर्ने माग गरेका छन् ।

कांग्रेस भन्छ- आन्तरिक छानविनले पुग्दैन

माओवादी सांसदहरुमाथि लागेको आरोपमा पार्टीभित्रको छानविनले नपुग्दै भन्दै विपक्षी दल कांग्रेसका सांसदले संसदीय छानविन समिति बनाउन माग गरेका हुन् ।

ramhari-khatiwada‘यो विषयमा माओवादी पार्टीले होइन, संसदले छानविन गर्नुपर्‍यो, यस्ता सांसदहरुलाई ल्हारक्याल लामालाई जस्तै निलम्बन गर्नुपर्छ’ कांग्रेस सांसद रामहरि खतिवडाले अनलाइनखबरसँग भने-‘ल्हारक्याल र सञ्जय साहलाई निलम्बन गरिनुपर्ने तर यिनीहरुलाई किन पदमा राख्ने ?’

आफूले बुधबार व्यवस्थापिका संसदमा ‘स्पेन काण्ड’बारे कुरा उठाएको तर सभामुखले यसमा कुनै रुलिङ नगरेको भन्दै खतिवडाले सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाए । उनले अनलाइनखबरसँग भने- ‘शुक्रबारको बैठकमा सभामुखले यसबारे जवाफ दिनुपर्छ, नत्र भने हामीले संसदमा उभिएर विरोध जनाउनुपर्ने अवस्था आउन सक्छ ।’

कांग्रेस सांसद खतिवडाले राप्रपा नेपालका सांसद गणेश थापालाई पनि ल्हारक्याल लामालाई जस्तै निलम्बन गर्नुपनर्ेे माग गरे ।

के हो ‘स्पेन काण्ड’ ?

माओवादी केन्द्रका ८ जना सांसदहरुले स्पेन भ्रमणका लागि पेश गरेको भिसा आवेदनमा सरकारी कागजात कीर्ते गरी नक्कली पीएका नाममा ८ व्यक्तिलाई स्पेन लौजान खोजेको घटना नै स्पेन काण्ड हो ।

माओवादीका ८ सांसदले स्पेनमा आयोजित भिन्ना भिन्नै कार्यक्रममा जानुपर्ने भन्दै परराष्ट्र मन्त्रालयको कन्ुसलर सेवा विभागमा संसद सचिवालयको सिफारिससहित आवेदन दिएका थिए । सोही आवेदनका आधारमा विभागले उनीहरुलाई भिसा दिन भन्दै स्पेनी दूतावाससमक्ष सिफारिस गरेको थियो ।

तर, विभागले दूतावासलाई गरेको सिफारिसमा माओवादी सांसदहरुले विभिन्न व्यक्तिको नाम थपेर कीर्ते कागज पेश गरेका थिए । दूतावासले शंका लागेर विभागसँग बुझदा माओवादी सांसदहरुको कीर्ते धन्दाको खुलासा भएको थियो ।

त्यसरी सरकारी कागजमा र्कीर्ते गरी मानव तस्करीमा संलग्न भएको आरोप लागेका माओवादी सांसदहरुमा स्व.पोष्टबहादुर बोगटीकी धर्मपत्नी सांसद राममाया बोगटीसमेत छिन् ।

त्यसैगरी सहिद पत्नीसमेत रहेकी सांसद रुपा महर्जन पनि मानव तस्करीको कीर्ते धन्दामा मुछिएकी छिन् । विगतमा माओवादी कार्यालयसमेत सञ्चालन गर्दै आएका सांसद डोरप्रसाद उपाध्यायको नाम पनि मुछिएको छ ।

राममायाका पछि स्व. पोष्टबहादुर बोगटी पार्टीभित्र स्वच्छ छविका नेता मानिन्थे । तर, राममायाले तस्करहरुको जालो मुछिएर आफ्नो पतिको नामसमेत धुमिल बनाएकी छिन् । अब राममायाको सांसद पदसमेत धरापमा परेको छ ।

त्यस्तैगरी माओवादी केन्द्रका सांसदहरु सन्तकुमार थारु, सिर्जना खत्री, गोमा कुँवर, दिलमाया धामी र धना पहरीसमेत स्पेन काण्डमा मुछिएका छन् । उनीहरु सबै माओवादी केन्द्रका समानुपातिक सांसद हुन् । सबै आठैजना सांसदले एक-एकजना सहयोगीका नाममा असम्बन्धित व्यक्तिको नाम थपेर भिसा माग गरेका थिए ।

माओवादीको छानविन समितिले काम थाल्यो

यसैवीच बुधबार बसेको माओवादी केन्द्रको पोलिटब्यूरो बैठकले स्पेन काण्डबारे आन्तरिकरुपमा छानविन समिति बनाएको छ । अमिक शेरचनको नेतृत्वमा बनेको छानविन समितिमा कृष्णबहादुर महरा र पम्फा भुसाल सदस्य छन् ।

तर, पार्टीले आन्तरिम रुपमा बनाएको छानविन समितिले नपुग्ने भन्दै कांग्रेस सांंसदहरुले यसबारे संसदीय समिति बनाएरै छानविन गरिनुपर्ने माग बुधबार नै व्यवस्थापिका संसदसमक्ष राखेका छन् ।

यसबारे फेरि कांग्रेस सांसद रामहरि खतिवडा भन्छन्- ‘विगतमा कतिपय सांसदहरु रातो पासपोर्ट काण्डमा मुछिए, नक्कली परीक्षार्थी बने, तर अहिले संविधान बनेपछि पनि सांसदहरुले यस्तै हरक तगर्ने हो भने हामीले जनता समक्ष कसरी मुख देखाउने ? मानव तस्करीमा संलग्न सांसदले देशकै शीर झुकाउने काम गरेका छन्, यिनीहरुलाई तत्काल निलम्बन गरियोस् ।’

विश्वेन्द्रलाई मन्त्रीबाट हटाउन माग

कांगेस सांसद खतिवडाले विज्ञानमन्त्री विश्लेन्द्र पासवानलाई पनि पदबाट तत्काल हटाउन माग गरेका छन् । ‘मन्त्री पासवानले पेरिस भ्रमणमा जाँदा स्पेन र पोर्चुगलमा १५ जनालाई छाडेका छन्, संविधानमा सपथ खाएर यस्तो मानव तस्करी गर्नेलाई पदमा किन राखिराख्ने ?’

सांसद खतिवडाले अब लहरो तान्दा पहरो गर्जिन सक्ने बताए । यसैगरी तस्करहरुलाई विदेश ओसार्ने अरु पनि सांसदहरु रहेको हुन सक्ने भन्दै व्यवस्थापिका संसदको मर्यादा र छवि जोगाउनका लागि संसदीय समिति गठन हुनैपर्ने बताए ।

रुपा भन्छिन्- हामी मानव तस्कर होइनौं

यसैवीच स्पेन काण्डको आरोप लागेकी माओवादी सांसद रुपा महर्जनले अनलाइनखबरसँग कुरा गर्दै आफूहरु मानव तस्कर नभएको बताइन् ।

Rupa-Maharjan‘मानव तस्कर भनेको के हो ? हामीले त्यस्तो कुनै तस्करी गरेका छैनौं, त्यसै मान्छेलाई मानव तस्कर भनेर आरोप लगाउन पाइन्छ ?’ स्पेनको कार्यक्रममा निम्तो आएकाले आफूहरुले भ्रमणका लागि आवेदन दिएको र कुनै पनि पीए लैजाने निर्णय नभई एक्ला एक्लै जाने गरी आवेदन दिएको उनले बताइन् ।

अघिल्लो सातामात्रै चीन भ्रमण गरेर फर्केकी रुपाले अनलाइनखबरसँग भनिन्- ‘हाम्रोबारेमा छानविन होस्, हामीले वैधानिक हिसाबले जाने प्रोसेस गरेका थियौं, तर वीचमा दलालले अरुको नाम थपेछ, यसमा हाम्रो कुनै दोष छैन ।’

यसबारे आफूहरुले संसदमा समेत बोल्ने महर्जनले बताइन् । उनले भनिन् ‘रामहरि खतिवडाजीले हामीलाई संसदमै मानव तस्कर भन्नुभो, हामीले पनि बोल्नका लागि समय मागेका छौं, तर पाएका छैनौं ।’

अब व्यवस्थापिका संसदले हालसम्म युरोप गएर फर्केका सबै सांसदहरुका बारेमा छानविन गर्नुपर्ने महर्जनले माग गरिन् । उनले भनिन्- ‘जति पनि सांसदहरु युरोप गएर फर्कनुभएको छ, उनीहरुमाथि छानविन गरिनुपर्छ र यसका लागि संसदले नै छानविन समिति बनाओस्, हामी स्पेन नगएकाहरु माथि पनि छानविन होस् ।’

माओवादी सांसद महर्जनले आफूहरुले एउटा कन्सल्टेन्सीमार्फत स्पेन जान लागेको बताइन् उक्त कन्सल्टेन्सीको नाम बिर्सेको बताउँदै उनले अनलाइनखबरसँग भनिन्- ‘कन्सल्टेन्सीको नाम बिर्सिएँ, रोहित खड्का भन्ने मान्छेले यो हाम्रो सबै प्रोसेस गरेको हो, यसले एमाले कांग्रेसलगायत सबै दलका सांसदसँग सम्बन्ध बनाएको रहेछ र यस्तै काम गर्दोरहेछ, हामीले सुरुमा थाहा पाएनौं ।’

रोहित खड्का भन्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यसैवीच एमालेका केही सांसदहरुले पनि विदेशमा मान्छे छाडेर आएको दाबी गर्दै सांसद महर्जनले यसबारे संसदले छानविन गर्नुपर्ने माग गरिन् । उनले भनिन्- ‘संसदको गरिमालाई आँँच आउने यस्ता कार्यमा संलग्नहरुमाथि छानविन हुनैपर्छ, यसमा आमी आठैजना सांसदहरु सहयोग गर्न तयार छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment