Comments Add Comment

कुष्ठरोगीलाई गाउँ निकालाः रोगभन्दा आफन्तको पीडा बढी

रौतहट जिल्लामा कुष्ठ रोगीको संख्या धेरै

kustharog ka karan gau nikala (5)२४ असार, रौतहट । २१ औं शताब्दीमा कुनै रोग लागेकै कारण आफ्नो थातथलोबाट विस्थापित हुनुपर्ने घटनाको कल्पना निक्कै पश्चगामी समाजमा मात्र गर्न सकिन्छ । तर, रौतहटमा यस्तै घटना भएको छ ।

सरकारले कुष्ठरोग उन्मुलन भएको घोषणा गर्दै यदाकता रोगी फेला परेमा निःशुल्क उपचारको व्यवस्था मिलाएको पनि लामो समय भइसक्यो । तर, रोग लागेकै कारण रौतहटका एक वृद्धले गाउँबाट विस्थापित हुनुपरेको छ ।

रौतहटको बसन्तपट्टी गाविसको नमनगरा वडा नम्बर ३ का करिब ६५ बर्षीय इनरदेव रामका हात तथा खुट्टामा कुष्ठरोग लागेपछि परिवारका सदस्यसमेत मिलेर गाउँलेले उनलाई थातथलोबाट विस्थापित हुन बाध्य बनाएका हुन् ।

करिव ४ वर्षअघि भारतीय सहर पटियालामा रोजगारीका लागि गएका बेला उनलाई हात तथा खुट्टामा कुष्ठरोगको लक्षण देखिएको थियो । साहुले भारतमै केही दिन उपचार गराएर गाउँ फर्काएका रामले कुष्ठरोगको २ पटकसम्म उपचार गराए ।

रोग सामान्य भएपछि घरमै रहेका रामलाई गाउँलेको दबावमा परिवारले समेत गाउँ निकाला गर्‍यो ।

‘भाइकीे छोरीको बिहे थियो, घरमा बस्दा रोग अरुलाई पनि सर्छ र भतिजीको बिहेमा पनि समस्या हुन्छ भन्दै गाउँका केही मान्छेले घरबाट टाढा राख्न परिवारजनलाई दबाव दिए,’ झण्डै एक वर्ष अघिको घटना सम्झदै इनरदेवले भने, ‘भाइले नै आएर यो नहरको छेउमा छाप्रो बनाइदियो । त्योबेलादेखि म एक्लै छु ।’

उमेरमा भारतमा कमाएको पैसा भाइको परिवारलाई नै खर्च गर्न दिएकाले अब आफूसँग केही नभएको उनले बताए । भाइले नै गाउँले तपाईलाई घरमा नराख्नु भन्या छन्, तपाई अब अन्तै गइदिनु पर्‍यो भनेपछि गाउँ छाडेर नहर छेउँको छाप्रोमा बसेको उनले बताए ।

रोगभन्दा आफन्तको पीडा बढी 

‘पहिलीे श्रीमती बितेपछि रामले अर्की बिहे गरेका थिए । उनीबाट चार सन्तान जन्मिए । तर, हुर्कन नपाउँदै एकपछि अर्को गरी चारै सन्तानको मृत्यु भयो । त्यही शोकले श्रीमतीले पनि संसार छाडिन्,’ अतीत सम्झँदै राम भन्छन्, ‘सन्तान, श्रीमती कोही नहुँदा यो रोगका बेला अहिले म एक्लो भएको छु । खाना पकाउन आगो छेउँमा जाँदा घाउ सहनै नसक्ने गरी दुख्छ ।’

भाइको घर बर्बाद नहोस् भनेर आफूले पनि कुनै विरोध नगरी घर छोडेर नहरमा आएको रामले बताए । माघमा भाइले बाँस काटेर ल्याइदिएपछि बनाएको छाप्रोमा उनी गुजारीरहेका छन् । छाप्रोको छाना आँधीले नै उडाएर लग्यो, फेरि जेनतेन गरेर छानो हालेको उनले बताए  ।

जीवनको यो मोडमा आएर रामलाई सबैभन्दा बढी श्रीमतीको यादले पिरोलेको छ । जीवनसाथी नहुँदा पनि रोग झनै बल्झेको र आफूले दुःख पाएको उनको ठम्याइ छ ।

kustharog ka karan gau nikala (3)

धारामा पानी भर्नसमेत दिँदैनन्

कुष्ठरोग लागेकै कारण कसैले पानी पनि भर्न नदिँदा झन् समस्या परेको छ । धारामा पानी भर्न जाँदा अरुलाई पनि रोग सर्ने भन्दै स्थानीयले पानी समेत भर्न नदिएको उनको गुनासो छ ।

आफ्नो छाप्रोभन्दा झण्डै १०० मिटर टाढाको घर देखाउँदै इनरदेवले भने, ‘त्यहाँ पानी लिन जाँदा गाली गर्छन्, तिम्रो रोग सर्छ भन्दै धपाउँछन् । हात खुट्टा सद्दे छैनन्, टाढा गएर पानी ल्याउनु पर्छ ।’

नहर छेउँकै एक स्थानीयले भने दया गरेर पानी दिने गरेको रामले बताए । ‘अलि परका एकजना व्यक्ति छन्, उनैकहाँ पानी लिन जान्छु । त्यहाँबाट पानी ल्याएर खाना पकाउँछु, भाडा माझ्छु । कहिलेकाँही भाइले खाना ल्याइदिन्छ, नभए आफैं पकाउँछु,’ उनले भने ।

गाउँमा मागेर ल्याएको अन्नबाट गुजारा चलाइरहेका राम कतिपय रात भोकै सुत्ने गरेको बताए ।

उपचारको आस 

कुष्ठरोगको उपचार निःशुल्क हुन्छ भन्ने रामलाई जानकारी छैन । त्यसो त उनी अस्पतालसम्म जान सक्ने अवस्थामा पनि छैनन् ।  उनको गुनासो छ, गाउँले र आफन्तले नै यस्तो बिचल्लीमा पारेका छन्, उनीहरुबाटै सहयोगको के आश गर्नु ?  कसैले उपचार गराइदिए पुनः घर परिवारमा फर्किने सपना बोकेका रामले उपचारमा सहयोगका लागि अनुरोध गरेका छन् ।

नागरिकता हराएकाले सरकारबाट पाउनुपर्ने वृद्धभत्ता समेत उनले पाएका छैनन् । गाविसको सचिवलाई नागरिकता बनाइदिन र वृद्ध भत्ता दिन आग्रह गर्दा पनि नदिएको उनले गुनासो पोखे ।

यता जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका निमित्त प्रमुख नागेश्वर जयसवालले यस सम्बन्धमा आफूले जानकारी लिइरहेको र रामको उपचारका लागि पहल गर्ने बताएका छन् ।

रौतहट जिल्लामा अझै पनि कुष्ठरोग नियन्त्रण हुन सकेको छैन । जिल्ला अस्पतालकै तथ्याङ्कले पनि रौतहटमा कुष्ठरोगीको संख्या अन्यभन्दा उच्च देखाउँछ । गत वर्ष मात्रै रौतहटमा १ सय १८ जनामा  कुष्ठरोग देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment