Comments Add Comment

अनुसन्धानबाट कृषक लाभान्वित

cow3
फाइल फोटो

२५ असार, चितवन । कृषि शिक्षा, अनुसन्धान र प्रसारलाई मुख्य प्राथमिकता दिएको कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापनासँगै बढाइएको अनुसन्धानबाट यहाँका कृषक प्रत्यक्षरुपमा लाभान्वित हुन थालेका छन् ।

विश्वविद्यालयको अनुसन्धान तथा प्रसार विभागले हालसम्म ४० वटा अनुसन्धान सम्पन्न गरिसकेको छ भने ३० वटा अनुसन्धानको क्रममा रहेका छन् ।

विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशक डा नवराज देवकोटाका अनुसार राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा दाताको खोजी गरी प्रतिस्पर्धा गरेर रकम भित्र्याइ सोही रकमबाट अनुसन्धान कार्यलाई अगाडि बढाएको छ ।

विश्वविद्यालयले वार्षिक रुपमा करिब रु एक करोड अनुसन्धानमा खर्च गर्दै आएको छ भने विदेशी दाताबाट वार्षिक रुपमा रु १५ करोडभन्दा बढी रकम लिन विश्वविद्यालय सक्षम भएको देवकोटाले बताए ।

अमेरिकाको युएसआइडी र ताइवानको एभिआरडिसीले हालसम्म अनुसन्धानमा सहयोग गर्दै आएका छन् भने जर्मनको ड्याड, जापानको जाइनका, कोरियाको कोइकालगायत संस्थासँग पनि अनुसन्धानका लागि प्रस्ताव पेस गरिएको उनले बताए ।

कृषक प्रत्यक्ष लाभान्वित हुने गरी अनुसन्धानको नतिजा आएसँगै नेपालका विभिन्न क्षेत्रका कृषक लाभान्वित समेत हुँदै आएका छन् । हालसम्म सम्पन्न भएका अनुसन्धानमध्ये १५ वटालाई कृषकले बुझ्ने भाषामा बुकलेट र लिफलेट बनाएर विश्वविद्यालयले बाँडेको छ ।

साना किसानलाई सुहाउने एकीकृत मत्स्य पालनको आधुनिक प्रविधि, ठाउँ, क्षेत्र अनुसार कस्ता धानलाई कस्तो पोषक तत्व आवश्यक पर्दछ भन्ने पद्धति, गाईभैँसी ब्याउने समयको सीमा घटाउने र बाँझोपनको व्यवस्थासम्बन्धी समेत अनुसन्धान गरी नतिजा आइसकेको छ । बाली कसरी लगाउने, कस्ता बीउबाट उत्पादन बढाउन सकिन्छ, कसरी थन्काउने, बजारीकरण, भण्डारणलगायतका विषयमा प्राप्त नतिजालाई कृषकसम्म पु¥याइएको उनले बताए ।

विश्वविद्यालयले अहिले एकीकृत किरा रोग व्यवस्थापन तथा जैविक विविधताको संरक्षण, मत्स्य पालन प्रविधि र तरकारी बालीको खाद्य अवधि बढाउने लगायतका विषयमा युएसआइडीको सहयोगमा अनुसन्धान गरिरहेको छ ।

विज्ञान तथा प्रविधि प्रतिष्ठानको सहयोगमा कृषि र पशुजन्य उत्पादनलाई जलवायुको परिवर्तनबाट हुने प्रभाव कसरी कम गर्न सकिन्छ भन्ने विषयमा पनि अनुसन्धान भइरहेको उनले बताए ।

त्यसैगरी राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष परियोजनाको सहयोगमा किरा रोग व्यवस्थापन र प्राङ्गारिक मलका विषयमा पनि अनुसन्धान भइरहेको छ ।

अनुसन्धानदेखि नतिजासम्म विज्ञ प्रत्यक्ष रुपमा कृषकमाझ पुग्दा अन्य कृषि कार्यमा समेत कृषक लाभान्वित भएको देवकोटाको भनाइ छ ।

अनुसन्धानलाई बढाउन सके पुरातन कृषि पद्धतिबाट फड्को मारेर आधुनिक कृषि पद्धतिमा जान सकिने विज्ञ बताउँछन् । जसले गर्दा थोरै लगानीबाट धेरै आम्दानी गर्न कृषक सक्षम हुने देखिन्छ ।

सिं २०६७ असार ३ गते यो विश्वविद्यालय स्थापना हुँदा यसको उद्देश्यमा शिक्षण, अनुसन्धान र प्रसार रहेसँगै अनुसन्धानलाई विशेष प्राथमिकतामा राखिएको छ । विश्वविद्यालयले अनुसन्धानका कार्य थालेको तीन वर्ष पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment