+
+

सोमबारदेखि पोखरा-दिल्ली दैनिक बस सेवा सुरु हुँदै

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७३ असार २५ गते १९:००

nepal-india-bus
२५ असार, पोखरा । पोखरा-दिल्ली बस सेवा आगामी असार २७ गतेदेखि सुरु हुने भएको छ । मोडर्न इरा टुर्स एण्ड ट्राभल्स प्रालिले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी सोमबारदेखि पोखरा-दिल्ली बस सेवा दैनिक रुपमा सञ्चालन हुने बताएको छ ।

यो बससेवा दुई देशका समझदारीअनुसार सञ्चालन हुने जानकारी गराइएको हो । यसअघि दुई देशीय सम्झौताअनुसार पहिलो चरणमा काठमाडौं-दिल्ली, दिल्ली-काठमाडौं र काठमाडौं-बनारस बस सेवा सञ्चालनमा आइसकेको छ ।

सोही सम्झौताअनुसार पोखरा-दिल्ली बस सेवा पनि सञ्चालन गर्न लागिएको मोडर्न ईरा टुर्स एण्ड ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए । पोखरा-दिल्ली सेवाको २७ गते सोमबार पोखराको होटल ग्राण्डमा एक कार्यक्रमकाबीच गृहमन्त्री शक्तिबहादुर बस्नेत र नेपालका लागि भारतीय राजदुत रणजित रायले उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।

पोखरा-दिल्ली बस सेवा सञ्चालन बारे गत जेठ ३१ गते भारतको उत्तर प्रदेश परिवहन निगमको कार्यालयमा दुई पक्षबीच ८ बुँदे सम्झौता भएको प्रालिले दावी गरेको छ । सो सम्झौतामा उत्तर प्रदेश परिवहन निगम डिपो गाजियावादका प्रमुख पिके बोस र मोडर्न ईरा टुर्स एण्ड ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार अबदेखि पोखरा-दिल्ली र दिल्ली-पोखरा दैनिक बस सञ्चालन हुनेछन् । पोखरा र दिल्लीबाट एकै समय विहान ९ बजे दुबै तर्फबाट गाडी छुट्नेछन् ।
उक्त बस पोखराबाट स्याङ्जा, वालिङ, बुटवल, सुनौली बोर्डर हुँदै गोरखपुर, लखनऊ, हुँदै दिल्लीको आनन्द विहार बस अड्डामा पुगेर रोकिने र दिल्लीबाट पनि सोही रुट हुँदै पोखराको पर्यटन बसपार्कमा आएर रोकिने अधिकारीले जानकारी दिए ।

एसी युक्त डिलक्स बसले सेवा दिने सो यात्राका लागि नेपाली ३ हजार ५ सय २० रुपैयाँ लाग्ने उनले बताए । बस सञ्चालनका लागि बाटोमा कुनै कर नलिने र यात्रुलाई झञ्झट र दुःख कष्ट हुने खालका कुनैपनि कार्य हुन नदिने सम्झौतामा उल्लेख भएको अधिकारीले बताए ।

पोखरा-दिल्ली बस सेवा सञ्चालन पछि यात्रुले सहज रुपमा दुई देशमा यात्रा गर्न पाउने पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले विश्वास व्यक्त गरे ।

उनले यो सेवापछि भारत र नेपालबीचको सम्बन्ध थप प्रगाढ हुने र पर्यटकको आगमन संख्या पनि बढ्ने बताए । स्मरण रहोस् मोडर्न ईरा टुर्स एण्ड ट्राभल्स प्रालिले यसअघि देखिनै एकतर्फी रुपमा दैनिक पोखरा-दिल्ली बस सेवा दिँदै आएको छ ।

केही समय अघिसम्म साप्ताहिक र त्यसपछि हप्तामा ३ दिन र हाल दैनिक सेवा दिदै आएको मोडर्न ईराले दुई देश र दुई राज्यबीच सम्झौता गरेर पोखरा-दिल्ली बस सेवालाई थप सहज बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?