Comments Add Comment

यसरी बन्यो तमोरमा तालः तस्वीरमा हेर्नुहोस् पहिरोले निम्त्याएको जोखिम

एक हल गोरु बगे, एउटा घर नदीमा डुब्यो

Taplejung landslide (9)

२६ असार, ताप्लेजुङ । प्रकृतिले पनि कहिलेकाँही अनौठो मजाक गर्छ, जसको मूल्य हामी निहत्था मानिसहरुले भोग्नुपर्छ । शनिबार राति तमोर नदीमा यस्तै दुर्दान्त दृश्य देखियो ।

राति नै तमोर नदी थुनिएर ताल बनेको खबर आएपछि ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटामा तमोर गडतिरका बासिन्दाहरु एकाएक त्रसित बने । भनिन्छ, नदीको मुहानतिर के भइरहेको हुन्छ, तल्लो तटीय क्षेत्रका बासिन्दालाई थाहा हुँदैन ।

Taplejung landslide (6)

ताप्लेजुङको सावादिन गाविसमा शनिबार राति खसेको पहिरोले तमोरको पानी थुनियो । दुबैतिर पहाडले चेपेको साँघुरो भागमा पहिरो खसेर नदी थुनिँदा खेत र एउटा घर जलमग्न भयो ।

नदी थुनिएपछि सावादिन गाविस-१ का जीवन लबुङको एउटा घर डुवाएको छ भने एक हल गोरु र घरमा भएका सरसामान बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त कार्यालय प्रमुख शैलेन्द्र कुमार यादबले बताए । सो घरमा राति कोही पनि मानिस नभएकाले मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।

Taplejung landslide (3)

आइतबार अपरान्हदेखि नदी आसपासका बासिन्दाले जोखिम घटेको महसुस गर्न थालेका छन् । दुईतिर पहाडले च्यापेको साँघुरो ठाउँमा नदी थुनिएकाले ठूलो फाँटलाई डुबान गर्न पाएन र सानो आकारको ताल बन्यो । अन्यथा, यो निकै जोखिमपूर्ण हुन सक्ने थियो ।

यद्यपि नदीको पानी तालमा परिणत भई धार परिवर्तन हुँदा नदी किनारमा रहेका दुईवटा बजारसहितका बस्ती जोखिममा परेका छन् ।
नदीको धार परिवर्तन भएपछि खोक्लिङ गाविसको थुम्बा बेंसीको बस्ती जोखिममा परेको हो ।

तमोरको किनारमा रहेका हान्द्रुङ र दोभान बजार पनि सामान्य जोखिममा छन् । तर, जोखिममा रहेको भनिएको मितलुङ बजार भने जोखिममुक्त भएको घटनास्थलमा खटिएका सुरक्षाकर्मी र स्थानीयले बताएका छन् ।

Taplejung landslide (2)

शनिबार राति सावादिन गाविसको नाक्ला भीरबाट पहिरो गएपछि तमोर नदी केही समय थुनिएको थियो । दिउँसोदेखि एक छेउबाट पानी बग्न सुरु भए पनि थुनिएको भाग पूर्णरुपमा खुलेको छैन । खोंच र भीर भएका कारण सुरक्षाकर्मीले पहिरो हटाउन सक्ने सम्भावना देखिँदैन ।

आइतबार बिहान मितलुुङ बजारका स्थानीय बासिन्दा बजार छाडेर सुरक्षित स्थानतर्फ सरेका थिए । दिउँसो पानीको सतह घटेपछि उनीहरु घर फर्किएका छन् ।

1 (6) (1)

नदी पूरै नखुलेसम्म थुम्बा बेंसीको बस्तीसहित केही किलोमिटर तलको भागमा रहको दोभान र हान्द्रुङ बजार अझै पनि जोखिममै रहको घटनास्थलमा खटिएका सुरक्षाकर्मीले बताएका छन् ।

दोभान र हान्दु्रङका स्थानीयलाई सचेत भएर बस्न आग्रह गरिएको ताप्लेजुङका निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले अनलाइनखबरलाई बताए ।

नदी थुनिएपछि ताप्लेजुङ सदरमुकामबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेका छन् । तर, नदी खुलाउने सम्भावना नरहेकाले उनीहरु हेरेर र्फकन बाध्य भएका छन् ।

Taplejung landslide (8)

तमोरको मौलिकता

तमोर नदी पहिरोले थुनिएको सुनेपछि हामीले धनकुटाको मूलघाट निवासी जय लिम्बुलाई फोन गरेर सोध्यौं, तपाईले अहिले नदी कस्तो देखिरहनुभएको छ ? ताप्लेजुङमा थुनिएपछि पानी घटेको छ कि छैन ? जवाफमा उनले मूलघाटमा तमोरको बहाव सधैंको जस्तै सामान्य देखिएको बताए ।

रेडियोमा नदी थुनिएको समाचार सुने पनि आफूलाई कसैले सचेत नगराएको र कुनै जोखिम पनि नदेखिएको लिम्बुले अनलाइनखबरलाई बताए ।

तमोर नदी तीव्र वेगको नदी मानिन्छ । ताप्लेजुङदेखि सुनसरीसम्म ५ जिल्ला भएर सप्तकोशीमा मिसिने यो नदी ताप्लेजुङमा थुनिए पनि पाँचथरको नयाँखोला, धनकुटाका छरुवा खोला, लेउती खोला र तेह्रथुमतिरबाट आउने विभिन्न खोलाहरुको पानीका कारण मूलघाट र त्रिवेणीसम्म आइपुग्दा तमोरको वहाव स्वाभाविकजस्तै देखिन सक्छ ।

वेगमा बग्ने भएकाले तमोर नदीले ठूल्ठुला फाँटहरु बनाएको छैन । आफ्नो वहावको मध्यभागसम्म आइपुग्दा पहाडको खोंचमा साना वस्ती, एकाध घरहरु र सानातिना फाँटहरु बाहेक तमोर नदी जंगल र खोंच भएर सप्तकोशीसम्म आइपुग्छ ।

धनकुटा वा तेह्रथुमको वीचभागमा नभई सिरानमा पर्ने ताप्लेजुङमा थुनिएका कारण सुनसरीसम्मका बासिन्दालाई बढ्दा जोखिम नहुने जानकार हरुको तर्क छ ।

गतसाल भूकम्पका बेला तमोर नदीको किनारमा अचम्मको दृश्य देखिएको थियो । समुद्रमा पाइनेजस्तै भीमकाय माछाहरु बगरमा फेला परेपछि स्थानीयवासीले नाम्लो लगाएर माछा ओसारेका दृश्यहरु सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।

Taplejung landslide (7)

Taplejung landslide (5)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment