३० असार, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित न्यायाधीशहरुको आइतबारबाट सुनुवाई गर्ने भएको छ ।
समितिको बिहीबार बसेको बैठकले उजुरीकर्तासँग छलफल गरेको थियो । समितिले प्रस्तावित न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिकृष्ण कार्कीविरुद्ध उजुरी गर्ने एक जना उजुरीकर्तासँगको छलफलपछि सुनुवाइको मिति तय गरेको सचिव ध्रुवप्रसाद घिमिरेले जानकारी दिए ।
साथै बैठकले कार्यविधि पनि संशोधन गरेको छ । प्रस्तावित व्यक्तिहरुको सामुहिक रुपमा नभई व्यक्तिगत कार्यक्षमताका आधारमा मूल्यांकन गर्ने गरी संशोधन गरिएको हो । समितिले आफ्नो कार्यविधि परिमार्जन सम्बन्धमा आनन्दप्रसाद ढुंगाना संयोजक रहेको कार्यदल गठन गरेको थियो । कार्यदलले बुझाएको प्रतिवेदनलाई समितिले परिमार्जनसहित पारित गरेको छ ।
समितिका सदस्य बालकृष्ण खाँडका अनुसार आइतबारबाट प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ गर्ने सहमति भएको छ ।
न्याय परिषदले गत फागुन १८ गते सर्वोच्च अदालतका लागि ११ न्यायाधीशहरुको सिफारिस गरेको थियो । सिफारिसको पहिलो नम्बरमा पुनरावेदन अदालत वाग्लुङका मुख्य न्यायाधीश दिपक कार्की छन् ।
प्रतिक्रिया 4