Comments Add Comment

एघार महिनामा व्यापार घाटा ६ खर्ब २२ अर्ब

निर्यात : ६२ अर्ब, आयात : ६८४ अर्ब

Trade

३१ असार, काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा १.६ प्रतिशतले बढेर ६ खर्ब २२ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ८.७ प्रतिशतले बढेकोे थियो ।

समिक्षा अवधिमा निर्यातमा २०.१ प्रतिशतले गिरावट आई ६२ अर्ब १६ करोडमा सीमित भएको छ । भारतमा निर्यात ३१.८ प्रतिशत र चीनतर्फ ३०.४ प्रतिशतले गिरावट छ । अन्य मुलुकतर्फको निर्यात भने ४.९ प्रतिशतले बढेको छ ।

यस अवधिमा ऊनी गलैँचा, अलैंची, पश्मिना, तयारी पोशाक, चिया लगायतका वस्तुहरुको निर्यात बढेको छ भने जिंक शीट, जिआई पाइप, पोलिष्टर यार्न, लत्ताकपडा, जुुुस लगायतका वस्तुहरूको निर्यात घटेको छ ।

कुल वस्तु आयात ०.९ प्रतिशतले घटेर ६ खर्ब ८४ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा पेट्रोलियम पदार्थको आयात उच्च दरले घटेकोले कुल वस्तु आयात घट्न गएको हो ।

पेट्रोलियम पदार्थ बाहेकको आयात भने ६.२ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा चीनबाट भएको आयात १२.४ प्रतिशतले बढेको छ भने भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ३.८ प्रतिशत र ०.४ प्रतिशतले घटेको छ ।

मुख्यतया यातायातका साधन तथा पार्टपुर्जा, सुन, चामल, औषधि, एमएस वायर, लगायतका वस्तुहरुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, चाँदी, हवाईजहाजका पार्टपूर्जा, सुपारी लगायतका वस्तुहरूको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाका र सुख्खा वन्दरगाह भन्सार नाका, वीरगञ्जबाट भएको निर्यातमा वृद्धि भए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा कमी आएको छ ।

यसैगरी, आयाततर्फ समीक्षा अवधिमा मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज भन्सार नाकाबाट हुने आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment