+
+
Shares

४ महिनादेखि फोहोर नउठ्दा कावासोती नगरपालिका दुर्गन्धित

रामकुमार श्रेष्ठ रामकुमार श्रेष्ठ
२०७३ साउन ३ गते १५:१०

Kawasotiu'

३१ असार, नवलपरासी । डम्पिङ साइटको अभाव र नगरपालिकासँगको विवादका कारण चार महिनादेखि फोहोर नउठाइँदा नवलपरासीको कावासोती नगरपालिकाका चोकचोक दुर्गन्धित बनेका छन् ।

वातावरण मैत्री कार्यक्रम लागू भएको कावासोती नगरपालिकामा वातावरण मैत्री कार्यक्रमका लागि बर्षेनी करोडौं खर्च गर्ने गरिएपनि फोहोरले जनजीवन प्रभावित बनाउदापनि सरोकारवाला निकाय मौनझैं देखिएका छन् ।

कावासोती नगरपालिकाको फोहोर गत फाल्गुनसम्म सोडेक नेपाल नामक संस्थाले उठाएर फाल्ने गरेपनि फोहोर फाल्ने निश्चित डम्पिङ साइडको व्यवस्थापन नहुंदा समस्या भएको हो ।

यसअघि मनकामना सामुदायिक वनमा फोहोर फाल्ने गरिए पनि वनले फाल्गुन मसान्त पछि फोहोर फाल्न नदिएसँगै नगरक्षेत्रबाट फोहोर उठाउन नसकिएको नगरपालिकाका कर्मचारी महेन्द्र वास्ताकोटीले बताए ।

यसअघि फोहोर संकलन गर्दै आएको सोडेक नेपालका अध्यक्ष सालिकराम सापकोटाले आफ्नो संस्थाले २०६१ सालदेखि कावासोतीको फोहोर उठाउँदै आएको भएपनि नगरपालिकाले अहिले अर्को संस्थालाई जिम्मा दिएर आफूहरुको कामको अवमूल्यन गरेको आरोप लगाए ।

कावासोती नगरपालिकाले काठमाडौंको वेष्ट मेनेजमेण्ट प्रा.लि.लाई फोहोर व्यवस्थापनको जिम्मा दिएको छ । कावासोती नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले सोडेकसंग प्लाण्ट गराउन सक्ने क्षमता र प्रविधि नभएको कारण वेष्ट मेनेज्मेन्ट प्रा.लि.लाई दिएको बताए ।

त्यसैगरी कार्यकारी अधिकृत पुरीले फोहोर व्यवस्थापनको काम तत्काल शुरु हुने समेत दावी गरे । उनले बुधबार मात्रै जिल्ला विकास समिति नवलपरासीमा गएर कावासोती नगरपालिकाका ९ मा रहेको नेपाल इट्टा भट्टा नजिकैको ८ नम्बरी जग्गामा फोहोर व्यवस्थान गर्ने गरी काम अगाडि बढाएको बताए ।

पुरीले उक्त जग्गा नगरपालिकाको नाममा पास गरेर तत्काल काम अगाडि बढाइने बताए । पुरीका अनुसार वेष्ट म्यानेजमेन्टले अब केही दिनमा नै काम शुरु गर्ने छ भने तत्काल नै फोहोर उठाउन शुरु गर्नेछ । उनले अब कुहिने फोहोरलाई कम्पोष्ट मल, पुनःप्रयोगमा आउने फोहोरलाई पुनःप्रयोग गर्ने गरी व्यवस्थापन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?