Comments Add Comment

भदौदेखि बुटवल र पोखरामा पनि स्मार्ट लाइसेन्स

४ साउन, काठमाडौं । सरकारले भदौको सुरुदेखि उपत्यकाबाहिर पनि स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने भएको छ । यातायात व्यवस्था विभागले उपत्यका बाहिर पनि स्मार्ट लाइसेन्स वितरण गर्न अन्तिम तयारी भइरहेको जनाएको छ ।

Smart license-Cardविभागतले गत मंसिर महिनादेखि काठमाडौंमा स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो । दोस्रो चरणमा अञ्चल यातायात कार्यालय बुटवल र पोखराबाट उपत्यका बाहिर पनि स्मार्ट लाइसेन्स वितरण सुरु गर्ने तयारी गरिरहेको महानिर्देशक चन्द्रमान श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

‘साउनको अन्तिमसम्ममा स्मार्ट लाइसेन्स वितरण गर्ने योजना अनुरुप हामी प्राविधिक तयारीमा जुटेका छौं,’ श्रेष्ठले भने, ‘योजना अनुरुप समयमै तयारी सकियो भने चाँडै मोफसलमा पनि स्मार्ट लाइसेन्स बाँड्छौं ।’

विभागले सबै यातायात कार्यालयमा स्मार्ट लाइसेन्सका लागि कम्प्युटरसहित सबै हार्डवेयरहरु जडान गरिसकेको छ । पहिलो चरणमा बुटवल र पोखराबाट वितरण सुरु गरेर अन्य क्षेत्रमा विस्तार गर्ने योजना विभागको छ ।

‘पहिले पश्चिम क्षेत्रबाट सकेर पूर्व क्षेत्रतर्फ यो सेवा सुरु गर्ने तयारीमा छौं,’ महानिर्देशक श्रेष्ठले भने, ‘अब स्मार्ट लाइसेन्स उपत्यकाबाहिर जानैपर्छ । ढिला गर्ने पक्षमा विभाग छैन ।’

उपत्यका बाहिर पनि नयाँ लाइसेन्स लिने, वर्ग थप्ने, नवीककरण गर्ने र प्रतिलिपि बनाउनेले मात्रै स्मार्ट लाइसेन्स पाउनेछन् । उपत्यकाबाहिर सेवा विस्तारका विषयमा छलफल गर्न स्मार्ट लाइसेन्सको ठेक्का पाएको मद्रसा प्रिन्टर्सका प्रतिनिधिहरुलाई काठमाडौं बोलाइएको छ ।

उनीहरु आएर पोखरा र बुटवलमा लाइसेन्सको सर्भर व्यवस्थापन गर्नेछन् भने अन्य प्राविधिक परामर्श पनि दिनेछन् । दुबै कार्यालयका कर्मचारीलाई पनि यसको प्राविधिक पक्षबारे तालिम दिने तयारी भइरहेको विभागले जनाएको छ ।

उपत्यकामा ५० हजार बाँडियो

यातायात व्यवस्था विभागले बाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयबाट ५० हजार लाइसेन्स वितरण गरिसकेको छ । १० हजार पि्रन्ट भएर बाँड्ने तयारीमा छ । गत मंसिरदेखि सुरु भएको स्मार्ट लाइसेन्सको माग अनुरुप विभागले वितरण भने गर्न सकेको छैन ।

पुरानो कागजी लाइसेन्स विस्थापित गरेर स्मार्ट लिन चहानेलाई भने अझै पनि विभागले वितरण गर्न सकेको छैन ।

‘दक्ष जनशक्तिको कमीदेखि विभिन्न प्राविधिक समस्याहरु छन् । त्यसैले लक्ष्यअनुरुप स्मार्ट लाइसेन्स वितरण हुन नसकेको हो,’ श्रेष्ठले भने, ‘सर्भर डाउन हुनेदेखि इन्टरनेटको समस्याले पनि हामीलाई काम गर्न अप्ठेरो परिरहेको छ ।’

विभागसँग अहिले स्मार्टकार्ड प्रिन्ट गर्न ३ वटा मात्रै मेसिन छ । यसले दैनिक ११ सयसम्म लाइसेन्स छाप्न सक्छ ।

पुरानो प्रविधिको सवारी चालक अनुमतिपत्र विस्थापन गर्न आधुनिक विद्युतीय प्रविधिको स्मार्ट कार्डमा रुपान्तरण गर्न स्मार्ट प्रविधि सुरु गरिएको हो ।

५ वर्षभित्र सबै सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रुपान्तरण गर्ने यातायात व्यवस्था विभागको लक्ष्य छ ।

पहिलो चरणमा १ लाख ६० हजार स्मार्ट कार्ड वितरण हुनेछ । दोस्रो चरणमा ४ लाख स्मार्ट कार्ड वितरण हुनेछ । नेपालमा झण्डै २३ लाख लाइसेन्स जारी भएकामा २२ लाख लाइसेन्स ‘एक्टीभ’ रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

के हो स्मार्ट लाइसेन्स ?

स्मार्ट लाइसेन्स क्रेडिट कार्ड साइजको विद्युतीय कार्ड हो । पोलिकार्बोनेटबाट बनेको हुनाले आगो र पानीले यसलाई कुनै हानि पुर्‍याउन सक्दैन । यो टिकाउ, मजबुत र बोक्न सजिलो पनि छ ।

यसमा देखिनेगरी चालकसँग सम्बन्धित फोटोसहितका विवरणहरु राखिएका हुन्छन् । यसबाहेक यसमा सिमकार्डमा जस्तै धातुको चीप जडान गरिएको हुन्छ । जसमा चालक र सवारीसँग सम्बन्धित डाटाहरु स्टोर गरिन्छ । त्यहाँका डाटालाई विभाग र प्रहरीले साझेदारी गरेर हेर्न सक्छन् ।

धातुको चिपमा भएका डाटालाई लिंकेज र डाटा रिडर मेसिनमा राखेर हेर्न सकिन्छ । कुनै सवारी चालक ट्राफिक प्रहरीको कारवाहीमा परेपछि त्यसैमा रकेर्ड राखिन्छ ।

यसमा विभिन्न सेक्युरेटी फिचरहरु पनि हुन्छन् । जसमार्फत विभाग र ट्राफिक प्रहरीले चालक र उसले चलाउने सवारीसम्मका विस्तृत विवरणहरु चाहेको बेला राख्न, झिक्न र हेर्न सक्छ ।

स्मार्ट लाइसेन्सको चिपमा रहने डाटामा चालकको औँठाछाप र बायोमेटि्रक क्याप्चरसहित वास्तविक विवरणहरु पनि राखिन्छ । त्यसैकारण कसैले चोरी भएका वा भेटाएका लाइसेन्स प्रयोग गर्न नसक्ने यातायात व्यवस्था विभागको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment