
४ साउन, पोखरा । पोखराको सबैभन्दा ठूलो सपिङ कम्प्लेक्स ‘पोखरा ट्रेडमल’ पार्किङ शुल्क विवादका कारण बन्द भएको छ । व्यवस्थापन पक्षले पार्किङमा घण्टे शुल्क लिन थालेपछि त्यसको विरोधमा व्यवसायीहरुले ट्रेडमल अनिश्चितकालिन बन्द गराएका हुन् ।
पार्किङमा घण्टे शुल्क लगाएपछि ग्राहक आउन कमी भएपछि आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको व्यवसायीहरुले बताएका छन् । निःशुल्क पार्किङ नभएसम्म आन्दोलन जारी रहने उनहरुको भनाई छ ।
पोखरा ट्रेडमल व्यवसायी संघका अध्यक्ष सुरेश नेपालीले भने– ‘व्यवसाय पक्षले प्रतिघण्टाका दरले पार्किङ शुल्क लगाएपछि ग्राहक कम आउन थाले, त्यही भएर व्यापार गिर्न थालेपछि बाध्य भएर आन्दोलनमा उत्रिएका हौं ।’
व्यवस्थापनले असार दोस्रो हप्तादेखी घण्टे पार्किङ शुल्क लगाएको छ । ट्रेडमलमा बाइकको ५, कार, जिप, भ्यानको १० र ट्याक्सी वा भाडाको भ्यानको २० रुपैयाँ प्रतिघण्टाका दरले पार्किङ शुल्क लिने गरेको छ ।
घण्टाका दरले पार्किङ शुल्क लगाउँदा ग्राहक भड्किएको व्यवसायीको आरोप छ । तर, व्यवस्थापन पक्षले घण्टे शुल्क नभई ३ घण्टाको दरले पार्किङ शुल्क निर्धारण गरेको बताउँछ ।
व्यवसायीहरुले व्यवस्थापनलाई घण्टे पार्किङ शुल्कको निर्णय फिर्ता लिन दबाव दिँदै आएका थिए । यो बिचमा सहमतिको प्रयास भएपनि सहमति नभएपछि सोमबार व्यवसायीले ट्रेडमलमा रहेका २ सय पसलहरु बन्द गराएका छन् ।
पोखरा ट्रेड मल एण्ड हाउजिङ कम्पनीले प्रायोजित रुपमा ट्रेडमल बन्द गराएको आरोप लगाएको छ । कम्पनीका प्रबन्ध निर्देशक मिनराज काफ्लेले ट्रेडमलले चाँडै नयाँ योजनासहित आक्रामक व्यापार योजना ल्याउन लागेकाले त्यसलाई रोक्न बाहिरका व्यवसायीको उक्साहटमा ट्रेडमल बन्द गरिएको बताए ।
काफ्लेले भने– ‘हामीले कन्सल्ट्यान्ट राखेर व्यवस्थित गर्ने प्रयास गरिरहेका बेला यस्तो घट्ना भएको हो, आजै कन्सल्ट्यान्टले आक्रामक व्यापार योजनासहितको कार्यक्रम सार्वजनिक गरेका थिए, त्यसलाई रोक्न वाहिरका व्यवसायीले यहाँका व्यवसायी उचालेका हुन् ।’
टे«डमल राम्रो चल्यो भने अन्य सपिङ मल र फुटकर व्यवसायीलाई असर पर्ने भएकाले यस्तो षडयन्त्र भएको काफ्लेको दाबी छ । ट्रेडमलका अध्यक्ष विन्दुकुमार थापाले पनि निर्धारित पार्किङ शुल्क फिर्ता नहुने बताए ।
पार्किङ शुल्क उठाउन टेण्डरमार्फत ठेक्कामा दिएकाले कुनै पनि हालतमा फिर्ता नहुने उनको अडान छ । घरभाडा, सरसफाई र सुरक्षा लगायतको शुल्क समयमै नतिरेको र अहिले सो शुल्क नतिर्ने नियतले पनि पार्किङ शुल्कको बहाना गर्दै बन्दमा उत्रिएको व्यवस्थापन पक्षको बुझाई छ ।
प्रबन्ध निर्देशकको छोरामाथी दुर्व्यवहार
यसैबीच, बन्द गराउने क्रममा व्यवसायीहरुले ट्रेडमलका प्रबन्ध निर्देशक मिनराज काफ्लेका १५ वर्षिय छोरा सुस्मिन काफ्लेमाथी दुर्व्यवहार गरेका छन् । पसल खोलेर बसिरहेका सुस्मिनलाई बन्द गराउँदै आएको व्यवसायीको समूहले पसल बन्द गर्न धम्की दिँदै दुर्व्यवहार गरेका हुन् ।
 
                









 
                     
                                
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4