Comments Add Comment

भारतमै हराए नेपाली, डोटीका १२ गाबिसका ९४ जना सम्पर्कविहीन

Nepal-India

४ साउन, डोटी । डोटी लक्ष्मीनगर गाबिस-८ का देवीलाल बिक २०६४ सालदेखि सम्पर्कविहीन छन् । २०४६ सालदेखि कामको सिलसिलामा भारतमा रहेका उनी २०६४ सालदेखि उनी सम्पर्कमा छैनन् । पहिले पनि एक्लै घर आउन नसक्ने देवीलाललाई उनका भाइ नरेश बिकले २०६४ सालमा घर ल्याएपनि केहि समयपछि भारतको पञ्जावतर्फ लागेका उनी अहिलेसम्म सम्पर्कविहीन छन् ।

‘लेखपढ छैन, त्यसैले उहाँलाई एक्लै आउन जान पनि गार्‍हो हुन्छ’, नरेश भन्छन्, ‘२०६४ सालमा गएदेखि अहिले सम्पर्कमा हुनुहुन्न ।’ आफु दाईको खोजी गर्न पटक पटक पञ्जाव गएको तर पनि उनीसँंग सम्पर्क हुन नसकेको नरेश वताउँछन् ।

यता डोटी छतिवन गाबिस-८ का शेरवहादुर पनि २०६२ सालदेखि सम्पर्कमा छैनन् । भारत महाराष्ट्रको पुना सहरमा काम गर्न गएका शेरवहादुर अहिले कहाँ छन पत्तो छैन । शेरवहादुरका भाई प्रेमका अनुसार पुनमा दाई काम गर्ने कम्पनीको मालिकलाई सोधिएका थिए तर उनले आफुलाई थाह नभएको जानकारी दिएका थिए । ‘हामीलाई भारतको वारेमा धेरै कुरा थाह छैन, आफन्तहरु पनि पुनामा कोही छैनन्’ प्रेमले भने ‘भएका ठाउँहरुमा खोजी गर्दा पनि कुनै पत्तो लागेन ।’

शेरवहादुर र देवीलाल मात्रै होइनन् यस्ता थुप्रै डोटेलीहरु भारतमा हराएका छन् । सुरक्षित आप्रवासनको क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था निड्स नेपालले डोटी जिल्लाका १२ गाबिसवाट ९४ जना भारतमा गएर सम्पर्कमा नआएका तथ्याँक संकलन गरेको छ ।

आफुहरुले १२ गाबिसमा मात्रै काम गरिरहेको भएपनि यो समस्या जिल्लाभरीनै रहेको संस्थाका संयोजक प्रकाश मडैले जानकारी दिए । उनले भने ‘सरकारले तेश्रो मुलुकमा जाने कामदारहरुको मात्रै बिवरण राख्ने गरेको छ, भारतमा ठुलो संख्यामा नेपालीहरु गईरहेका हुन्छन त्यसको तथ्याँक कसैसँग पनि हुँदैन ।’ समग्र सुदूरपश्चिमभरीमै यो समस्या रहेको मडैले वताए ।

निड्सको अध्ययन अनुसार बनलेकका १३, लाटामाण्डौंका १०, कपल्लेकीका २२ र भुमिराजमाण्डौंका १४ जना भारतमा वेपत्ता भएका छन । यस्तै लक्ष्मीनगरका ५, छतिवनका ६, खातीवाडाका ९, सानागाउँका ६, रानागाउँका १, काडामाण्डौंका १ र दुर्गामाण्डौंका ७ जना भारतमै हराएका छन ।

भारतमा हराउने नेपालीहरुको भारतमै आफन्तहरुसँग मिलेर खोजी गर्ने गरेको भएपनि आधिकारिक रुपमा प्रहरीलाई जानकारी नगराएको वताउँछन डोटी बनलेक गाबिस-३ का लालवहादुर वताएर । उनी भन्छन् ‘भारतमै हराउँछन अनि हामीहरु भारतमै खोजीका लागि जान्छौं तर नेपालको प्रहरीलाई खवर गर्नुपर्छ भन्ने पनि जानकारी नभएका कारण हामीले गरेनौं ।’

भारतमा हराउने नेपालीहरुको संख्या ठूलो भएपनि आधिकारिक रुपमा खोजी गरिदिन आफुहरुलाई अनुरोध नआएको डोटीका प्रहरी प्रमुख एसपी दिल्लीराज बिष्ट वताउँछन । बिष्ट भन्छन् ‘तथ्याँक संकलन गरेर निड्सले राम्रो काम गरेको छ, अव हामी पनि यो तथ्याँकलाई आफ्नो च्यानल प्रयोग गरी रुजु गर्छौं ।’

बिष्टले यो तथ्याँकको बिषयमा आफुले नेपाल-भारत सिमास्तरमा हुने सुरक्षाकर्मीहरुको बैठकमा राख्न अनुरोध गर्ने वताए । बिष्टले भारतमा हराएकाहरुको बारेमा प्रहरीलाई जानकारी दिन समेत आफन्तहरुलाई आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment