७ साउन, काठमाडौं । सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले आज व्यवस्थापिका संसद बैठक बस्नुपर्ने बताएका छन् । साथै उनीहरुले अविश्वासको प्रस्तावमाथि छलफल गर्नु पर्ने अडान दोहोर्याएका छन् ।
बिहीबार प्रमुख दलहरुबीच सहमतिको प्रयास सुरु भएपछि संसद बैठक बस्दै नबसेर स्थगित भएको थियो । आजको बैठक दिउँसो २ बजे बोलाइएको छ । र, त्यसअघि मध्याह्न १२ बजे शीर्ष बैठक बोलाइएको छ ।
कांग्रेस र माओवादीले शीर्ष बैठकमा सहमति भए पनि नभए पनि संसद बैठक चलाउनु पर्ने बताएका छन् ।
कांग्रेस नेता बालकृष्ण खाँडले अनलाइनखबरसँग भने, ‘आज हाउस चल्नुपर्छ र प्राथमिकताका आधारमा अविश्वासको प्रस्तावमाथि छलफल गर्नुपर्छ भन्ने हाम्रो मत छ ।’
सभामुखले पनि सहमतिको प्रयास गर्छु नभए पूर्वनिर्धारित कार्यसूचीअनुसार बैठक सुरु गर्छु भनेको भन्दै कांग्रेस सचेतक ईश्वरी न्यौपानले आज संसद बैठक सुरु गर्नुपर्ने बताइन् ।
प्रतिक्रिया 4