Comments Add Comment

उत्तरी गोरखामा झाडापखालाको महामारी

१४ साउन, गोरखा । गोरखाको उहिया गाविसस्थित खोर्ला गाउँमा घरैपिच्छे बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ । विगत दुई सातादेखि खोर्लामा फैलिएको झाडापखाला, ज्वरो तथा रुघाखोकीलगायत रोग नियन्त्रणमा नआउँदा भूकम्पपीडित स्थानीयवासी समस्यामा छन् ।

Gorkha-Districtघरैपिच्छे बिरामी हुनेहरु बढेपछि आफूलाई पनि रोग सर्ने डरले गाउँ छाडेको खोर्लाकी विपना गुरुङले बताइन् ।  घरमा दुई/तीन जनाको दरले मानिस बिरामी पर्दै आएको भए पनि बिरामीको स्वास्थ्य परीक्षण गरी उपचार गर्न नसकिएको गुरुङको भनाइ छ ।

उहिया वडा नं २ र ३ का ११६ घरधुरीका स्थानीयवासीमा झाडापखाला,ज्वरोलगायत समस्या देखिएको हो । उहिया र गुम्दास्थित माछाखोलका स्वास्थ्यकर्मीले बिरामीको उपचार गरे पनि झाडापखालाका बिरामी घटेका छैनन् । “स्वास्थ्यकर्मीहरु दुई दिन गाउँ बसेर फर्किए”, उनले भनिन् , “बिरामी तङ्ग्रिएका छैनन् ।” स्थानीय शिक्षक छिरिङदोर्जे गुरुङले भूकम्पपछि अस्थायी शिविरमा बस्दै आएका भूकम्पपीडित रोग फैलिएपछि थला परेको बताए  ।

“झाडापखाला, बान्ता लाग्ने, टाउको दुख्ने,रुघाखोकी र ज्वरोका बिरामी घरैपिच्छे छन्”, उनले भने, “गाउँका स्वास्थ्यकर्मीले दिएको औषधिले बिरामीलाई निको भएन । बोकेर सदरमुकामको अस्पतालमा लैजान सक्ने अवस्था छैन ।”

पहिरोले बाटो अवरुद्ध हुँदा वल्लोपल्लो गाउँ जाने अवस्था पनि नरहेको उनको भनाइ छ । गाउँले बिरामी परेकोबारे जिल्ला जनस्वास्थ्य कार्यालयमा धेरैपटक जानकारी गराए पनि उचित स्वास्थ्य सेवा नपाएको उनले गुनासो गरे। आवश्यक औषधि लिएर स्वास्थ्यकर्मी गाउँमा आउनुपर्ने उनको भनाइ छ ।

बिरामीले थलिएका मन्थल गुरुङ र सुन्दानी गुरुङको निधन भइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालयका महामारी शाखा प्रमुख नानीबाबु दानीले बिरामी स्वास्थ्य संस्था नजाँदा समस्या आएको बताए । “सधैँ स्वास्थ्यकर्मी घर घर जान सक्दैनन्”, उनले भने,  “घर घर गएर बिरामीको उपचार गरेका छौँ ।”

खोर्लागाउँबाट उहिया स्वास्थ्य चौकी जान एक घन्टा हिँड्नुपर्छ । बिरामीले गलेका गाउँलेहरु स्वास्थ्य संस्थामा जान नसक्ने गुरुङको भनाइ छ । भूकम्पपछि दूषित खानेपानीको प्रयोग गर्दा गाउँले बिरामी भएका हुन् ।

रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment