Comments Add Comment

डेढ महिनादेखि सुकेटार विमानस्थल अवरुद्ध

Suketar_Airport१५ साउन, ताप्लेजुङ । खराब मौसमकै कारण पर्यटकीय जिल्ला ताप्लेजुङस्थित सुकेटार विमानस्थल डेढ महिना अघिदेखि पूर्णरुपमा अवरुद्ध हुँदा हवाई यात्रु मारमा परेका छन् ।

वर्षात्को समयमा दिनहुँजसो हुस्सु लाग्ने भएकाले डेढ महिना अघिदेखिनै उडान पूर्णरुपमा बन्द हुँदा आन्तरिक तथा बाह्य पर्यटक हवाई यातायातबाट वञ्चित भएका छन् ।

विमानस्थल कालोपत्रे भएपछि नियमित उडान हुनेमा स्थानीय ढुक्क भए पनि हिमाली जिल्ला भएकाले मौसममा आइरहने खराबीका कारण नियमित नहुँदा उनीहरु मारमा परेका हुन् । गएको मङ्सिरमा कालोपत्रे गरेपछि पुसदेखि ताप्लेजुङ–काठमाडौँ सिधा उडान सञ्चालनमा आएको थियो ।

सो बेलादेखि नै बेलाबेलामा आउने मौसम खराबीका कारण उडान अवरुद्ध हुँदै आएकामा पछिल्लो डेढ महिनादेखि पूर्णरुपमै अवरुद्ध भएको हो ।

नियमित रुपमा उडानसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल देखिएपनि डेढ महिनादेखि उडान अवरुद्ध हुँदा चहलपहल हुन छाडेको छ । ताप्लेजुङस्थित नेपाल वायु सेवा निगमका स्टेसन इन्चार्ज विकास राईका अनुसार मौसममा सुधार उडान सञ्चालमा ल्याइनेछ ।

गोमा एयरले साताको मङ्गलबार र शुक्रबार तथा तारा एयरले शुक्रबार उडान सञ्चालन गर्दै आएकामा अहिले पूर्णरुपमा नै बन्द भएका छन् ।

विशेष गरी कञ्चनजङ्घा हिमाल हेर्न आउने पर्यटक साथै प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आउने तीर्थालुलाई समस्या देखिएको छ । २०३१ सालदेखिनै नेपाल वायु सेवा निगमले विराटनगर–ताप्लेजुङ उडान सञ्चालन गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment