+
+
Shares

प्रचण्ड सरकारमा विमलेन्द्र गृहमन्त्री, जसको नीति उसकै नेतृत्व

रामचन्द्रले ४० प्रतिशत नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १९ गते १८:०७

Bimalendra-Nidhi

१९ साउन, काठमाडौं । प्रचण्ड  नेतृत्वको सरकारमा प्रमुख सत्ता साझेदार कांग्रेसबाट विमलेन्द्र निधीले उपप्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारीसहित नेतृत्व सम्हाल्ने भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र आफ्नानिकट प्रभावशाली नेताहरुसँग परामर्शपछि निधीलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाएर पठाउने निर्णय गर्न लागेका हुन् ।

ओली सरकारलाई हटाउनका लागि यो गठबन्धन निर्माणमा निधीको महत्वपूर्ण भूमिका रहेकाले सरकारमा निधीकै नेतृत्वमा जान उपयुक्त हुने सुझाव आफूहरुले दिएको देउवा निकट प्रभावशाली नेता बालकृष्ण खाँडले अनलाइनखबरलाई बताए ।

खाँडले भने- ‘वास्तवमा माओवादी, मधेसी मोर्चा र कांग्रेसबीच यो गठबन्धन बनाउन निधीले निकै लामो समयदेखि कसरत गर्नुभयो, उहाँकै कारण सम्भव भएकाले सरकारमा अरु नेतृत्व गरेर जानु नैतिकरुपमा पनि राम्रो हुँदैन ।’
देउवा निकट नेताहरुले ‘जसको नीति, उसकै नेतृत्व’ भन्दै निधीलाई नै सरकारको नेतृत्वमा पठाउन सुझाव दिएका छन् ।

सरकारको नेतृत्वमा गोपालमान श्रेष्ठ, कृष्ण सिटौला र अर्जुन नरसिंह केसीले पनि दाबी गरिरहेका बेला पार्टी सभापति देउवा विमलेन्द्रलाई पठाउने निर्णयमा पुगेका हुन् ।

यद्यपि सिटौलाले आफू प्रचण्ड नेतृत्वको सरकारमा जान इच्छुक नरहेको बताइसकेका छन् । गोपालमान श्रेष्ठलाई संसदीय दलको उपनेता दिएर मनाउने तयारी देउवाको छ भने अर्जुननरसिंह केसीलाई गृहबाहेक कांग्रेसले पाउने आकर्षक मन्त्रालय दिन देउवा तयार रहेको स्रोतले जनाएको छ ।

तर, केसीले भने सरकारको नेतृत्व आफूले गर्न नपाए मन्त्री मात्रै भएर नजाने अडान लिएको केसीनिकट स्रोतले जनाएको छ । यद्यपि मन्त्रीकै रुपमा भए पनि केसी सरकारमा जान सक्ने सम्भावना अझै नसकिएको कांग्रेस नेताहरु बताउँछन् ।

पौडेलका भागमा कति ? 

उता सरकारमा सम्मानजनक सहभागिता नपाए बहिस्कार गर्ने चेतावनी दिएका रामचन्द्र पौडेल पक्षबाट देउवाले बढीमा चारजना मन्त्री बनाउने सम्भावना छ । पौडेलले भने कम्तिमा ४० प्रतिशत दाबी गरेका छन् । पार्टीभित्र समझदारी र साझेदारी दुबै भावनाबाट काम हुनुपर्ने धारणा पौडेलको रहेको केन्द्रीय सदस्य कल्याण गुरुङले अनलाइनखबरलाई बताए ।

तर, खाँडले भने यसपटक प्रतिशतका आधारमा भागबण्डा नहुने प्रष्ट पारेका छन् । सरकारको नेतृत्व निधीले गर्ने लगभग तय भए पनि अरु मन्त्रीहरुका बारेमा पार्टीभित्र पर्याप्त छलफल गरेर टुंगो लगाइने देउवा निकट स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?