तिमी आउँदा
सुस्तरी कदम राख्नु मेरो आँगनमा
हरेक दिन आँगनमा मैले
सम्झनाको बिस्कुन सुकाएको हुन्छु
प्रलय पर्यन्तका पर्खाइ पर्खेर
केही उङ्दै गरेका हुनेछन्
केही भर्खरै निन्द्रामा परेका हुनेछन्
तिम्रा पदचापले
यिनलाई जगाइदिन सक्छन्
व्युँतिए भने कोकोहोलो मच्चाउनेछन्
पर्खिनु पनि त कष्टकर कार्य नै हो नि !
पर्खाउनुको जवाफ खोज्नेछन्
रिक्तताको दस्तुर माग्नेछन्
फगत जगात दिएर
तिमी कतै उम्कन सक्दैनौ
त्यसैले
तिमी आउँदा
सुस्तरी कदम राख्नु मेरो आँगनमा
रातैभरि दियो बल्नुको पनि अर्थ छ
दियोका प्रकाशले मेरो पछाडि
मेरो नै कालो छायाँ बनाउँछ
लामो च्याप्टो भद्दा बेढंगको छायाँ
यसैलाई साक्षी राखेर
तिमी हुँदाका सम्झनाको पोको खोल्छु
निस्किएका केही सम्झनाले काउकुती लगाउँछन्
म खित्का छाडेर हाँस्छु
मलाई धेरैबेर हसाउँदा सम्झना थाक्छन्
निन्याउरो अनुहार लगाएर म अगाडि उभिन्छन्
म तिनीहरूलाई थुप्थुपाउँछु
भोलि घाम देखाउने बाचा गर्छु
उनीहरू लुपुक्क पर्छन
त्यसैले
तिमी आउँदा
सुस्तरी कदम राख्नु मेरो आँगनमा
रातैभरि सलेदो जल्नुको पनि अर्थ छ
जल्दा
कति पोल्छ कति औडाहा हुन्छ
भत्भति
म चिस्याउने साधन पनि भेट्दिनँ
पानी खन्याउने ठाउँ पनि भेट्दिनँ
अतालिन्छु अत्यासिन्छु
त्यतिबेला
सलेदोको टुप्पामा शिखा
लर्बराइरहेको हुन्छ छट्पटाइरहेको हुन्छ
त्यतिबेला
मेरो छायाँ झन् डरलाग्दो बन्छ
म कल्पीकल्पी सुँक्सुकाइदिन्छु
पोकोबाट
रमाइला सम्झना निस्केर
मेरा आँसु पुछिदिन्छन्
ढाडस बँधाइ दिन्छन्
दुखेसो सुन्दै
दुखेको ठाउँमा सुम्सुमाइदिन्छन्
म तिनीहरूलाई मायाले मुसार्छु
ओस सुकाउन
हावा लगाउने किरिया खान्छु
उनीहरू थुपुक्क बस्छन्
त्यसैले
तिमी आउँदा
सुस्तरी कदम राख्नु मेरो आँगनमा
त्यहाँ सम्झनाको बिस्कुन हुन्छन् |
प्रतिक्रिया 4