Comments Add Comment

युरोपमा अत्याधिक रुचाइने ‘युएचटी’ दूधको उत्पादन गर्दै डिडिसी

uht milk ddc

२४ साउन, काठमाडौं । यूएचटी दूध युरोपमा धेरै रुचाइएको छ । उमाल्नु पर्ने झन्जट न अरु समस्या । पिउन मन लोगपछि पसलबाट किनेर ल्यायो, पियो । तर, हामी कहाँ प्लाष्टिकमा प्याक गरिएका पाउडर दूध मात्र छ ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) को योजना अनुसार काम हुने हो भने अबको केही वर्षमा नेपालमै यूएचटी दूध उपलब्ध हुनेछ ।

नेपालमा अझै सहजै स्टेरलाइज्ड दूध उत्पादन हुन सकेको छैन । अल्ट्रा हिट ट्रिटेड (युएचटी) अर्थात उच्च तापक्रममा तताइएको दूध प्याकिङ गरी विक्री गर्ने काममा सरकारी र निजी क्षेत्रले हात हाल्न सकेका छैनन् ।

तर, दुईवर्ष अघिदेखि तयार गरिएको योजनाअनुसार डिडिसी अब यस प्रकारको दूध उत्पादनका लागि अग्रसर भएको हो ।
यसपछि विदेशबाट आयात हुने युएचटी मिल्कलाई स्वदेशी उत्पादनले प्रतिस्थापित गर्नेे विश्वास गरिएको छ । दूग्ध विकास संस्थानले युएचटी दूध उत्पादनका लागि तयारी थालिसकेको छ ।

प्लान्ट निर्माणका लागि सरकारसँग अनुदान मागेको डिडिसीले यसैवर्ष अनुदान पाउने लगभग पक्का भइसकेको छ ।

चालु आर्थिक वर्षको बजेट भाषणमै युएचटी मिल्क उत्पादनका लागि प्लान्ट स्थापना गर्न आवश्यक बजेट विनियोजन गरिएको उल्लख गरिएको छ । सरकारले अनुदान उपलब्ध गराए लगतै डिडिसीले प्लान्ट स्थापनाका लागि काम थाल्ने डिडिसीका निमित्त उपमहाप्रवन्धक ईश्वरीप्रसाद अधिकारीले बताए ।

घण्टामा ५ हजार लिटर उत्पादन

युएचटी दूधको प्लान्ट बुटवलमा राख्ने योजना बनाइएको छ । प्रतिघण्टा ५ हजार लिटर दूध उत्पादन हुने गरी प्लान्ट निर्माण गरिनेछ । दूध उत्पादनको मुख्य सिजनमा पूर्ण क्षमतामा चलाएर युएचटी दूधका लागि बजार स्थापित गर्ने योजनामा आफूहरु रहेको प्रवक्ता अधिकारीले बताए । प्लान्ट स्थापनाका लागि बुटवल औद्योगिक क्षेत्रको जग्गा भाडामा लिइने उनले बताए ।

अहिले बुटवलको औद्योगिक क्षेत्रमा डिडिसीको आफ्नै आयोजना पनि सञ्चालनमा छ । यही क्षेत्रमा युएचटी प्लान्ट राखेर नयाँ किसिमको दूधको उत्पादन थालिनेछ । यो दूध डिडिसीका विक्री केन्द्रमार्फत देशभर वितरण गरिनेछ ।

के हो युएचटी मिल्क ?

युएचटी दूध उच्च तापक्रममा प्रशोधन प्याकिङ गरिने दूध हो । जुन छाटो समयमै दूध जम्ने वा ब्याक्टेरिया संक्रमणको शिकार हुने सम्भावना हुँदैन ।

फ्रुट जुसहरु कागजका बट्टामा प्याक गरेर बेचिए जस्तै यो दूध पनि सोही अवधारणा र स्वरुपमा प्याक गरिनेछ ।

यसलाई उत्पादन भएको ६ देखि १० महिनासम्म प्रयोग गर्न सकिन्छ । फि्रजमा नराखेपनि यो बिगि्रँदैन भने यसलाई जहाँ पनि लैजान सकिन्छ । यो तयारी दूध भएकाले बजारमा किनेर सिधै सेवन गर्न सकिनेछ ।

यसमा दूधमा हुनुपर्ने सबै पौष्टिक तत्वलाई कायम राखिएको हुन्छ । विशेष गरेर तताउनु नपर्ने र पसलहरुबाट किनेर सिधै सेवन गर्न सकिने भएकाले यसमा उपभोक्ताको आकर्षण उच्च हुने विश्वास गरिएको छ । यो दूधमा कुनै प्रकारका नमिठो गन्ध आउँदैन । यो खानका लागि पौष्टिकसँगै अत्यन्तै सुरक्षित पनि मानिन्छ ।

डिडिसीले अहिले साना बोतलमा यस्तै प्रकारको दूध थोरै मात्रामा उत्पादन गरिरहेको छ । तर, त्यो प्रभावकारी नभएकाले उपभोक्ताको आकर्षण छैन । त्यसैल अब आधुनिक प्याकिङ पद्धतीमा जान लागिएको हो । अहिले उत्पादन भएको युएचटी दूध सबै ठाउँमा पुर्‍याउन सकिएको छैन ।

१०० रुपैयाँमा पाउन सक्ने

अहिले नेपाली बजारमा युरोपसहित भारतबाट विभिन्न ब्राण्डका युएचटी मिल्क आउने गरेका छन् । तर, विदेशबाट आयात गरिएका यस्ता दूध सामान्य भन्दा निकै महंगो पर्छ ।

भारतबाट आएको दूध लिटरको १ सय ५० देखि २०० रुपैयाँसम्म पर्छ भने तेस्रो मुलुकबाट आएका दूधको मूल्य २८० भन्दा रुपैयाँ भन्दा माथि छ । तर, डिडिसीले युएचटी प्लान्ट स्थापना गरेर उत्पान गर्ने यही प्रकृतिको दूध लिटको १ सय रुपैयाँसम्म विक्री गर्न सकिने अनुमान गरेको छ ।

३५ करोड लागत अनुमान

युएचटी दूध प्लान्टको स्थापनाका लागि ३५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सरकारले यो रकम उपलब्ध गराए जतिसक्दो छिटो उत्पादन थाल्ने गरी तयारी अघि बढाइने अधिकारीको भनाइ छ ।

‘बजेट भाषणमा यसबारे उल्लेख भएकाले हामी उत्साहित छौं’, अधिकारीले भने,’तर, कति रकम विनियोजन भएको छ भन्नेबारे जानकारी छैन । त्यसैले अहिले नै काम कहिलेबाट कसरी अघि बढ्छ भनेर भन्न सक्ने अवस्थामा छैनौं । यो वर्षबाट कमा थाल्न सकिन्छ भन्ने विश्वास भने छ । ‘

सन् १९७० को दशकदेखि उत्पादन सुरु भएको युएचटी दूधको आधुनिक स्तरको उत्पादन नेपालमा अझै हुन सकेको छैन । युरोपमा प्रत्येक १० मध्ये ७ जनाले यो दूधको प्रयोग गर्छन् । नेपालमा डिडिसीले यसको उत्पादन थालेपछि आकर्षण कस्तो हुन्छ हेर्न पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment